कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेनी–जोमसोम सडक खुल्यो

घनश्याम खड्का

म्याग्दी — अधिक चिसो र भारी हिमपातले बन्द भएको बेनी–जोमसोम–मुक्तिनाथ सडकमा यातायात सहज भएको छ । हिउँदमा जाडो छल्न बेंसी झरेका मुस्ताङ्दीहरू अनुकुल मौसमपछि घर फर्कन थालेका छन् ।

अन्नपूर्ण चक्रीय मार्गको थोराङला पास पदमार्ग खुलेपछि हिमालपारिको मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेको छ । चैते दसैंको नवमी नुहाउन मुक्तिनाथ आउनेको पनि चाप उस्तै छ ।


‘लोमन्थाङ जानेबाहेक मुस्ताङ यात्राअनुकूल भएको छ । बेनी–जोमसोम सडकमा निर्माण भइरहेकाले यात्रुको सुविधाका लागि गाडी पास हुने समयतालिका मिलाइएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले भने, ‘मुक्तिनाथसमेत मुस्ताङको तल्लो क्षेत्रमा अब तेस्रो मुलुक र भारतीय पर्यटकको चाप सुरु भएको छ । रामनवमीको समय भएकाले आन्तरिक पर्यटक पनि बढेका छन् ।’


फागुन–वैशाख पदयात्रा सिजन भएकाले राउन्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोराङला पासमुनिको मुक्तिनाथ, जोमसोममा बाह्य पर्यटकको आवागमन बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका अनुसार अहिले दैनिक दुई सय जना बाह्य पर्यटक मुक्तिनाथमा आइरहेका छन ।


बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न पोखरा, काठमाडौं, बुटवल, हेटौंडा, विराटनगरलगायत देशका विभिन्न ठाउँबाट मुस्ताङ आउनेको संख्या बढेको हो । सडक यातायात सहज भएपछि मुक्तिनाथ भ्रमणमा जाने भारतीय पर्यटकको संख्या पनि अत्यधिक वृद्धि भएको छ ।


मुस्ताङको तल्लो क्षेत्रमा पदयात्रा तथा यातायात सहज भए पनि उपल्लो मुस्ताङको यातायात अझै सहज भएको छैन । यस वर्ष भारी हिमपात भएकाले समर क्षेत्रमा जमेको हिउँ अझै पग्लेको छैन । यातायात अवरुद्ध छ । जाडो छल्न बेंसी झरेका उपल्लो भेगका मुस्ताङी भने कालीगण्डकी नदीमै ट्रक चढेर घर फिर्ता भैरहेका छन् ।


‘जोमसोम–लोमन्थाङ सडकको समर, भेना, झैते क्षेत्रमा डोजर लगाएर हिउँ पन्छ्याएर सडक खुलाउने प्रयास भैरहेको छ । हिउँदमा बेंसी झरेका उपल्लो भेगका मुस्ताङी र खाद्यान्नलाई ट्रकले कालीगण्डकी नदीबगरबाट बोकेको छ,’ मुस्ताङबाट गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले भने, ‘तल्लो क्षेत्रको सडक क्लियर भयो अब एक हप्ताभित्र उपल्लो क्षेत्रको सडक पनि खुल्छ । साना सवारी चल्छन् ।’


मुस्ताङ भ्रमणमा आउने पर्यटकका सवारी संख्या वृद्धि भएपछि स्तरोन्नति भैरहेको बेनी–जोमसोम सडकमा ट्राफिक हुन थालेको छ । साँघुरा र भीरमा सडकको स्तरोन्नति गर्न बेनी–जोमसोम सडकको विभिन्न ११ स्थानमा भित्ता काट्ने र डिलतर्फ वाल उठाई फिलिङ गर्ने काम भैरहेकाले यातायात व्यवस्थित गर्न समयतालिका बनाइएको छ ।


बेनी–जोमसोम सडकमा बिहान ६ बजेभित्र, दिउँसो ११–२ बजेभित्र र साँझ ५ बजेपछि मात्र सडक खुल्नेगरी समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दी–मुस्ताङले जनाएका छन् ।


‘बर्खा बाढीपहिरोले, दसैंले अनि हिउँदमा चिसोले गर्दा सडक निर्माणमा नियमित काम नहुने भएकाले सेडुल बनाइएको हो’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘अन्य चाडबाडको निहुँमा समयतालिका भत्काउँदा सरकारको प्राथमिकतापूर्ण बेनी–जोमसोम–कोरला सडक निर्माणको गति अवरुद्ध हुने भएकाले यात्रुले समयसीमाको ख्याल गरिदिनुहोला ।’


मुस्ताङ प्रवेश गर्ने सवारी साधनको अभिलेख राख्ने अन्नपूर्ण गाउँपालिका, २ तातोपानीस्थित सीमा प्रहरी चौकीको अभिलेखअनुसार हिलोआज दैनिक ४ सय ५० देखि ५ सय सवारी साधन मुस्ताङ प्रवेश गर्ने गरेका छन । सीमा प्रहरी चौकी तातोपानीका प्रमुख सइ रामप्रसाद बेलवासेका अनुसार दैनिक ५० को हाराहारीमा बस, दुई सयभन्दा बढी हरियो र रातो प्लेटका स्कारपियो वा जिप, एक सय २० बढी मोटरसाइकल मुस्ताङ जाने गरेका छन् । मुस्ताङ जाने कुल यात्रुमा आधाभन्दा बढी भारतीय पर्यटक छन् ।

प्रकाशित : चैत्र २५, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?