प्रदेश २ लाई गण्डकीको एक करोड
पोखरा — हावाहुरीबाट प्रभावितको आवास निर्माणका लागि गण्डकी प्रदेश सरकारले प्रदेश २ लाई १ करोड आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश मन्त्रीपरिषद्को बिहीबारको बैठकले उक्त सहयोगको निर्णय गरेको हो ।
यही चैत १७ मा बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितलाई आवास बनाउन उक्त सहयोग गरिएको बैठकपछि सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।
उनका अनुसार प्रदेशको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदेश २ सरकारको खातामा पठाइनेछ । हावाहुरीले दुवै जिल्लामा जनधनको क्षति पुर्याएको थियो । बैठकले विभिन्न कार्यविधि पनि पारित गरेको मन्त्री बस्नेतले बताए ।
प्रदेशसभाको हिउँदे अधिवेशन बैशाख ७ मा सकिने
यसैबीच मन्त्रीपरिषद् बैठकले प्रदेशसभाको चालु हिउँदे अधिवेशन आगामी बैशाख ७ मा अन्त्य हुनेगरी प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अधिवेशन गत पुस २३ मा सुरु भएको थियो ।
प्रकाशित : चैत्र २८, २०७५ ११:४७