३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विभेद भएको भन्दै कार्यक्रम बहिष्कार

बिना थापा

कास्की — ‘महिला विभेद कहिलेसम्म ?’ यति भनेपछि सबै महिला उठेर हिँडे । कार्यक्रमस्थल खाली भयो । मञ्चमा आसन ग्रहण गरिरहेका संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली, रेवानका अध्यक्ष भोजबहादुर भुजेल र प्रदेश सांसद राजीव पहारीलगायतले महिलाहरूलाई फर्कन आग्रह गरे, जुन हेर्न लायक थियो ।

विभेद भएको भन्दै कार्यक्रम बहिष्कार

पोखरामा शुक्रबारदेखि सुरु भएको फेवा महोत्सवमा विभिन्न ३६ आमा समूह सहभागी हुन्छन् । कार्यक्रमको उद्घाटन समयभन्दा ढिला भए पनि आमा समूह प्रमुख अतिथिको पर्खाइमा बस्छन् । मञ्चमा अतिथि आसन ग्रहण सुरु हुन्छ । पुरुष अतिथि जति सबै मञ्चमा र महिला समूहका अध्यक्ष जति तल कुर्चीमा बस्छन् । डेढ घण्टापछि प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आइपुग्छन् ।


पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिलाई आसन ग्रहण गराएलगतै स्वागत मन्तव्य, उद्घाटन र शुभकामना मन्तव्य राख्ने क्रममा पालो महिलाको आयो । सबै महिला आमा समूहको प्रतिनिधित्वमा प्रगति आमा समूहकी अध्यक्ष विष्णु केसीको मन्तव्य राख्ने पालो आयो ।


महिलाहरूलाई मनोरञ्जनका रूपमा लिएको गुनासो गर्दै कुनै पनि आमा समूहको झाँकी नदेखाउन केसीले मञ्चबाटै घोषणा गरिन् । ‘यस्तो विभेद र मनोरञ्जनको साधन कहिलेसम्म ?’ उनको प्रश्न थियो । यति भनेपछि सबै महिला उठेर हिँडे । कार्यक्रमस्थल खाली भयो । मञ्चमा आसन ग्रहण गरिरहेका संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली, रेवानका अध्यक्ष भोजबहादुर भुजेल र प्रदेश सांसद राजीव पहारीलगायतले महिलाहरूलाई फर्कन आग्रह गरे । आग्रहपछि उनीहरू फर्किए पनि झाँकीमा सहभागी भएनन् ।


‘पर्यटन व्यवसायीले माफी मागेपछि हामी फर्किएका हौं । प्रमुख अतिथि बोलेपछि हिंड्छौं, झाँकीमा सहभागी हुँदैनौं,’ खहरे आमा समूहकी अध्यक्ष मैया थापा भट्टराईले भनिन्, ‘महोत्सवका लागि भनेर खाना नखाई घरको काम छाडेर आइयो तर आयोजकले महिलालाई इज्जत दिएनन् । महिला र पुरुषको अधिकार एउटै हो भन्छन् तर आज मञ्चमा एउटा महिला देखिएनन् ।’


यसभन्दा अघि अरू कार्यक्रममा एक/दुईजना महिलालाई मञ्चमा बोलाउने गरिएको थियो, ठीकै थियो तर आज धेरै विभेद भएकै कारण पनि हामीले कार्यक्रम बहिष्कार गरेका हौं उनले भनिन् । ‘सबै महिलालाई मञ्चमा सिट खाली नहोला तर सबैको प्रतिनिधित्व गरेर एक जनालाई राख्न सकिन्थ्यो ।’ यसप्रति जुनसुकै कार्यक्रम भए पनि आयोजकले ख्याल गरिदिनुपर्छ ।’


पश्चिमाञ्चल होटल संघका महासचिव गणेश पहारी र कलाकार प्रजापति पराजुलीले मञ्चदेखि माफी मागेपछि फर्किएका आमा समूहले झाँकी प्रतिस्पर्धामा भाग लिएनन् । ‘अरू कार्यक्रममा अपांगता भएका व्यक्ति, महिलाहरूको सहभागिता भए, नभएको याद हुन्थ्यो । तर आज याद नगर्नाले चुकेछ,’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘जुनसुकै कार्यक्रममा ढंग पुर्‍याएर अघि बढ्यौं भने यस्तो हुँदैन ।’

प्रकाशित : चैत्र ३०, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?