कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

घट्दै ठेकीको प्रयोग

प्रकाश बराल

बागलुङ — दारका काठमा ठेकी कुँदेरै उनको जीवनका तन्नेरी बित्यो । बलेवाको अमलाचौरका ५८ वर्षीय मनबहादुर चुँदाराले ठेकी बनाउने काम अझै गरिरहेकै छन् । तर, पहिले पहिले जसरी नभई थोरै मात्रै बनाउँछन् । 

घट्दै ठेकीको प्रयोग

दरको काठ खोज्न टाढा टाढा पुग्नु र ठूलो मुडा भेटियो भने उतै बसेर चिर्ने काम उनलाई बानी परिसकेको छ । गाउँले भाइ प्रेमबहादुर चुँदाराले पनि उनको काममा साथ दिएका छन् । चुँदाराहरूको परम्परागत सीप भनेकै दारको ठेकी बनाउने हो ।


पशुपालन गर्नेै किसानका घरघरमा दुई–चारवटा ठेकी हुने चलनले उनीहरूको पेसाले राम्रो कमाइसमेत हुन्थ्यो । यहाँका २५ घर चुँदाराका छोराछोरीले पनि यही पेसाबाटै रोजगारी पाएका थिए । दारको ठेकीमा जमाएको दही र मही मिठो हुने, घिउ लाग्ने, बास्ना मिठो आउने बूढापाका बताउँछन् । ‘ठगठाग गर्नेले खिर्रोको पनि ठेकी बनाउने गर्छन्, तर दारको ठेकीमा दही मही खाएकाले चिनिहाल्छन्,’ स्थानीय टुकनाथ शर्माले भने, ‘चुदाराहरूले बनाएकै ठेकी खोज्ने टाढादेखि मानिस आउने गर्छन् ।’ चैतेदसैंको मेला पारेर चुदाराहरूले सयौं ठेकी बेचेको अनुवभ छ । उनीहरूले दर्जनौं खेपहालेर कालीका मन्दिरमा लाग्ने मेलामा ठेकी बेच्न ल्याउने गर्थे ।


आजकल प्लास्टिकका भाँडा आएका छन् । गाई भैंसी पाल्नेहरू पनि घट्दै गए । बजारमा बस्नेले डेरीको दूध र दही खान्छन् । फ्रिजमा जमाएको दही र प्लास्टिकका भाँडामा राखेर खाँदा स्वाद र मौलिकता सबै हराएको छ । ‘हाम्रा सामान महँगा पर्छन्, सस्तो प्लास्टिकको भाँडामा दूध–दही खाने चलन आयो,’ चुँदाराले भने, ‘हाम्रो पेसा संकटमा परेको छ ।’ २५ घरका सबै सन्ताले यही पेसा अँगालेकोमा अहिले घटेर ६ घर भएका छन् ।


बाग्लुङमा चैतेदसैंको अवसरमा लाग्ने मेलामा उनीहरूले हरेक वर्ष ठेकी ल्याएर बेच्थे । माग नआएकाले यस पटक थोरै ठेकी ल्याएको उनीहरूले गुनासो गरे । चार जनाले एक दिनभर काम गर्दा २ वटा ठेकी तयार हुन्छन् । ती ठेकीको मूल्य फरक फरक छ । २ सय ५० देखि ७ हजार रुपैयाँ पर्ने ठेकीको व्यपार घटेको छ । उनीहरूले २ पाथीको ठेकीदेखि आरी, पुचाई, चौंठी नाम गरेका फरक फरक डिजाइन र ठूलोसानो ठेकी बनाउने गर्छन् ।


केही मानिसले आकर्षणका लागि सजाउन सानासाना सामान लैजान्छन् । ठूलो लैजानेहरू नगन्य भएको उनले बताए । ‘बाबुबाजेले दिएको सीप र पेसा छाडेर अन्यत्र जाँदा जातीय मौलिकता लोप हुन लागेको प्रेमबहादुरले गुनासो गरे । ‘अहिलेसम्म हामीले हाते मेसिन प्रयोग गरेका छौं, बिजुलीबाट चल्ने मेसिन पाए थोरै लगानीमा धेरै उत्पादन गर्न सकिन्थ्यो,’ उनले भने, ‘सस्तो पनि बेच्न सकियो भने किन्नेहरू बढ्ने थिए ।’


गाईभैंसी पाल्ने चलन हटेकाले उनीहरूको पेसा संकटमा परेको उनीहरूको गुनासो छ । केही फर्ममा पालिएका गाईभैंसीको दूध र दही भने सिलवरका क्यानमा राख्ने चलन छ । ठेकीमा दही जमाउने चलन घटेको छ । घरघरमा फ्रिज राख्ने चलनले दारका ठेकी खोज्नेहरू हराएका हुन् । मेलामार्फत प्रवर्द्धन गर्नका लागि मौलिक संस्कृतिमा आधारित सामग्रीलाई निःशुल्क स्टल दिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।


मेलामा दुई सयभन्दा बढी व्यपारिक स्टल छन् । चैतेदसैं कालिका मन्दिरको पूजामा मात्र सीमित छैन । चैतेदसैंकै अवसर पारेर ग्रामीण क्षेत्रका किसान र उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको बिक्रीको समय पनि हो । विशेषगरी मौलिक कलामा आधारित सामग्री किन्नकै लागि धेरै मानिस मेलामा आइपुग्छन् । जलजलाका मगरहरूले बनाएका डोको डाला, बुर्तिबाङका विश्वकर्माले बनाएका खुकुरी, सबै ग्रामीण क्षेत्रमा बासिन्दामा चलनमा रहेका लोकगीत संगीत र नृत्यले धेरैको ध्यान खिच्ने गर्छ ।


निसीखोलाको पुतली नाँच, बडिगाडको ह्याफे, रिघाको सती घाँटु, मगर र बाहुन–क्षत्री र नेवार समुदायका पहिचान झल्कने नृत्य र वेशभूषाले पनि चैतेदशै उत्तिकै महत्त्वको छ ।

प्रकाशित : वैशाख १, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?