कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भर्नाकै दिन पाठ्यपुस्तक

नवीन पौडेल

नवलपुर — बितेका वर्ष शैक्षिक सत्रमा सुरुवातमै पाठ्यपुस्तकको अभाव झेलिरहेका विद्यार्थीले यसपटक भने समयमै पाउने भएका छन् । चालु वर्ष पूर्वी नवलपरासीका विद्यालयहरूमा नयाँ भर्ना सुरु हुनु अघि नै जनक शिक्षा सामग्री केन्द्रबाट पाठ्यपुस्तक आइसकेको व्यवसायीले बताएका छन् । 

पोहोर दोस्रो त्रैमासिक परीक्षा हुँदासम्म पनि कतिपय विद्यालयका विद्यार्थीले किताब पाएका थिएनन् । यस पटक भर्ना भएकै दिन पुस्तक हात पार्ने तयारी छ । ‘जिल्लामा आवश्यक पुस्तक मध्य ९० प्रतिशत पाठ्यपुस्तक जिल्लाका पुस्तक पसलमा आइसकेको र बाँकी २० प्रतिशत केही दिनभित्र नै विद्यार्थीले प्राप्त गर्ने छन् ।’ प्रकृति पुस्तक पसल कावासोतीका सञ्चालक गीता पराजुलीले भनिन्,‘ अधिकांश विद्यालयमा अग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने भएकाले नेपाली माध्ययमको पुस्तकका लागि यस वर्ष समस्या छैन ।’


सरकारले सबै विद्यालयमा स्थानीय निकाय मार्फत पुस्तकको रकम निकासी गरिसकेको छ । त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती १७ का प्रधानाध्यापक दीपक घिमिरेका अनुसार भर्ना अभियान सुरु नहुँदै विद्यालयम पुस्तक पुगिसकेको बताए । ‘हामीले भर्ना भएकै दिन विद्यार्थीलाई पुस्तक दिने तयारी गरेका छौ,’ उनले भने, ‘नेपाली माध्यममा अध्ययन गर्ने विद्यार्थीले सोही दिन पुस्तक प्राप्त गर्नेछन् । अंग्रेजी माध्यमका विद्यार्थीले सरकारी पुस्तकको रकम प्राप्त गर्ने र जुनसुकै पुस्तक पसलबाट सहजै जहीले पनि पुस्तक किन्न सक्ने भएकाले यस वर्ष पुस्तक अभाव हुँदैन ।’


अधिकांश विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन हुने भएकाले सरकारी किताब मागअनुसार उपलब्ध भएको हो । देवचुली नगरपालिका शिक्षा शाखाका प्रमुख मोती रिजालका अनुसार देवचुली नगरपालिकाभित्र रहेका २९ वटा सामुदायिक विद्यालयमा सरकारी पुस्तक पर्याप्त मात्रामा उपलब्ध रहेको बताए ।


‘नगरभित्रका नौ हजार विद्यार्थीका लागि आवश्यक पुस्तक आइपुगेको छ,’ उनले भने, ‘सबै विद्यालयलाई आवश्यक रकम मध्य ७५ प्रतिशत रकम निकासा भइसकेको र केही दिनभित्रै बाँकी रकम निकासा हुने हुनाले भर्ना अभियान जारी रहँदा नै विद्यार्थीको हातहातमा पुस्तक पुग्नेछ ।’


पछिल्लो समय अधिकांश सरकारी तथा सामुदायिक विद्यालयमा अग्रेजी माध्यमको अध्यनअध्यापन हुने भएकाले निजी प्रकाशन गृहका पुस्तकको माग उच्च रहेको छ । निजी प्रकाशनगृहका पुस्तकले बजार ओगटेपछि सरकारी पाठ्यपुस्तक पर्याप्त हुन लागेको हो । पहाडी दुर्गम क्षेत्रमा भर्ना अभियानकै क्रममा पुस्तक वितरणका लागि धमाधम दुर्गम क्षेत्रमा पुस्तक ढुवानी भइरहेको छ ।

निजीमा भन्दा सामुदायिकमा आकर्षण

जिल्लाको मुख्य राजमार्ग आसपासका केही सामुदायिक विद्यालयले निजी शैक्षिक संस्थालाई समेत पछाडि पारेका छन् । निजीमा जस्तै अंग्रेजी माध्ययमको अध्ययन अध्यापन हुने भएपछि अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरलाई आत्मसात गर्दै आफ्ना छोराछोरी निजीबाट छुटाएर सामुदायिक विद्यालयमा भर्ना गर्ने क्रम बढ्दो छ ।


जिल्लाको जनक उच्च मावि, भीमसेन उच्च मावि, शिव उच्चमावि, त्रिभुवन बालमावि, नेपाल उच्च मावि नमुना सामुदायिक विद्यालयको रूपमा चिनिन्छन् । प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा दिन सफलसमेत भएका छन् ।


निजी विद्यालय विद्यार्थी घट्ने पिरलोमा परेका छन् । निजीमा जस्तै गरेर टाई, जुत्ता लगाएर विद्यार्थी स्कुल जाने र अंग्रेजी माध्यमबाटै पढाइ हुने भएपछि अभिभावकले निजी विद्यालय छुटाएर सामुदायिकमा भर्ना गर्ने लहर बढेको कावासोतीका सुरज पौडेलले बताए ।

प्रकाशित : वैशाख १, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?