२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भव्य बन्दै गाउँसहर मेला

स्थानीय उत्पादनका सामग्री रोटी, तरकारी, डोको, नाङ्ला, थुन्से, कुटो, कोदालो, हँसियाले मेला भर्नेलाई आकर्षित गर्छ
आश गुरुङ

लमजुङ — लमजुङको ‘गाउँसहर’ ठाउँको नाम हो । यो थलो दुइ कारणले चर्चित छ – राजा यशोब्रम्ह शाहको दरबार र गीतले । 
दरबारलाई उचालेर माया गुरुङ र उमा गुरुङले ‘गाउँसहरमा लमजुङ दरबार’ बोलको गीत गाएका छन् । गाउँसहर दरबारमा चैते दसैंमा ठूलो मेला लाग्छ ।

भव्य बन्दै गाउँसहर मेला

धार्मिक तथा ऐतिहासिक हिसावले चर्चा कमाएको गाउँसहर लमजुङ दरबारको चैते दसैं मेला हेर्न पछिल्लो समय देशविदेशका भक्तजनको घुइँचो लाग्ने स्थानीय बताउँछन् । स्थानीय सानुमाया थापाका अनुसार पछिल्लो समय मेला भव्य बन्दै गएको छ । ‘यति धेरै मान्छे कहाँबाट आउँछन् कुन्नि । हामी सानो छँदा त २०/२५ जना हुन्थ्यो’ उनले भनिन्, ‘सवैतिर प्रचार भएर होला । बाटो पनि बनेर होला ।’


लमजुङ दरबारको कालिका मन्दिरमा पूजा हुन्छ । लमजुङ कालिकालाई राजदरबारको कुलायद देवताको रुपमा लिइन्छ । मनोकामना पूरा हुने विश्वासमा लमजुङ कालिकाको मन्दिरमा पूजापाठ गर्न, बली चढाउन झक्तजन आउने गरेको स्थानीय बताउँछन् । बालबालिकादेखि बृद्धबृद्धासम्म मेला भर्न आउने गर्छन् । दोर्दी गाउँपालिका ९ हिलेटक्सारबाट आएका ७० बर्षीय शेरबहादुर थापाले मन्दिरमा पूजापाठ गरेको र मेला हेर्न आएको बताए । ‘यहाँ आएपछि यसै रमाइलो । पूजापाठ र मान्छे हेर्दैमा रमाइलो लाग्ने’ उनले भने ।


मेलामा स्थानीय उत्पादन र बजारमा उत्पादन भएका सामग्रीको किनबेच हुन्छ । रोटी, तरकारी, डोको, नाङ्ला, थुन्से, कुटो, कोदालो, हँसिया लगायत बिक्री हुन्छ । यस्तै, मकैं, भटमास, दाल लगायतका खाद्यान्न बालीको विक्री हुन्छ । बेंसीसहर नगरपालिका ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठका अनुसार गाउँका सामग्री र सहरका सामग्री विक्रीवितरण गर्ने थलोको रुपमा पनि यस मेलालाई लिइन्छ । ‘गाउँमा पाइने चिज सहरमा पाइँदैन । सहरमा पाइने चिज गाउँमा पाइँदैन । मेलामा दुवै चिज पाइन्छ’ उनले भने ।


वि.सं १५५० असार १५ गते शाहबंशीय राजा यशोब्रम्ह शाहाले राजगद्दी सम्हालेयता लमजुङ दरबारमा हरेक बर्ष २ पटक लमजुङ कालिकाको पूजापाठ हुँदै आएको छ । मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालका अनुसार वडादसैंमा १० दिन र चैतेदसैंमा ८ दिन र श्रीपञ्चमीका दिन मन्दिरको मूल ढोका खोलेर पूजापाठ गरिँदै आएको छ ।


मन्दिरमा पञ्चबली साथै बोका, परेवा, भेडा, सुंगुर, कुखुरा, कुविण्डो बली दिने गरिन्छ । मन्दिरमा सरकारी बली समेत दिने गरिन्छ । ‘परार भन्दा पोहोर, पोहोर भन्दा यसपाली मेला ठूलो हुँदै गएको छ । व्यवस्थापन गर्न नै हम्मे परेको छ’ उनले भने । मन्दिरमा गरिने पूजापाठ र बली दिइएको हेर्न मानिसको भीड लाग्ने उनले बताए । उनका अनुसार यसबर्ष १७ वटा पञ्चबली दिइएको छ । अन्य बलीको भने हिसावकिताव नराखिएको उनले बताए ।


गाउँसहर मेलामा पूजापाठ तथा मेला भर्न लमजुङका मात्रै नभएर पोखरा, चितवन, काठमाडौं, धादिङ, गोरखा, तनहुँ, मनाङ लगायत ठाउँबाट भक्तजन आउने स्थानीय बताउँछन् । बेंसीसहरबाट नजिक भएर पनि गाउँसहर दरबारमा मानिसको भीडबाड बढेको

स्थानीय बताउँछन् ।


लमजुङ दरबार पुग्न बेंसीसहरबाट साँढे १ घण्टामा हिँडेर पुगिन्छ । पक्की गोरेटो बाटो छ । गोरेटो बाटो साँढे २ किलोमीटर पर्छ । मोटरबाटोबाट ७ किलोमीटरको दुरीमा पर्छ । कतिपय हिँडेर मन्दिर पुग्छन् भने कतिपयले सवारी रिजर्भ गर्छन् । मन्दिरको माथिल्लो क्षेत्रमा काउलेपानी होमस्टे रहेकाले पर्यटकहरू मेला हेरेर होमस्टेमा बस्ने गर्छन् ।

प्रकाशित : वैशाख १, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?