१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घण्टौं रुँघेर पूजा

कास्की — यसो हेर्दा कतै मेला महोत्सव जस्तो दृश्य । फूल, अक्षता र नरिवल किन्ने, टिकट र लाइफज्याकेटका लागि लाइनमा बसेर पालो कुर्नेको भीडले घाटमा भरिएको । भीडले गर्दा बाटो नपाएर अल्मलिनेको संख्या पनि उल्लेख्य नै थियो । 

दृश्य थियो नयाँ वर्षको अवसरमा पूजाका लागि तालवाराही मन्दिर आएका भक्तजनको । तालवाराही फेवातालमा रहेको देवी मन्दिर हो । घाटबाट डुंगामा चढेर सजिलै आउजाउ गर्न सकिने दूरीमा छ ।


भीड धेरै भएकाले डुंगामा पालो पाउन र पूजाका लागि धेरैले २ घण्टासम्म पर्खनुपरेको बताए । रामेछापबाट आइपुगेकी सुन्तली चौहानले भनिन्, ‘यस्तो भीड होला, पालो कुर्न पर्ला भन्ने सोचेकै थिइनँ ।’ भीडले गर्दा डुंगा र पूजामा पालो पाउन निकै ढिला भएको उनले बताइन् । काठमाडौंकी रुविना श्रेष्ठ नयाँ वर्ष पोखरामा मान्नेगरी गत शुक्रबार आएकी हुन् ।


‘लाइनमा बस्दा बस्दै धेरै ढिला पालो पाइयो,’ उनले भनिन्, ‘नयाँ वर्ष भनेको चाडबाड होइन, मन्दिरमा के भीड होला र जस्तो लागेको थियो । उल्टो रछ ।’ करिब २ घण्टा मात्रै पूजाको पालो पाएको उनले बताइन् । नयाँ वर्षको पहिलो दिन पोखरा आउने संयोग जुरेको बताउने मुग्लिनकी रुकशिला गुरुङ भन्छिन्, ‘पहिले पनि आएको हो तर यति धेरै भीड पहिलोपटक देखियो ।’


नयाँ वर्षको पहिलो दिन घुमघाममा निस्केकाहरूको भीडले फेवातालका आठवटै घाटका डुंगा व्यस्त थिए । बिहान मौसम पनि खुलेकाले घुमन्तेलाई फेवा किनारको फुट ट्रयाक र घुम्तीसँगै किनारका रेस्टुराहरूमा देखिन्थ्यो । मन्दिरमा पालो कुर्न झिँझो मानेकाहरूले डुंगामै तालमा फन्को लगाइरहेका थिए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?