फेरि जाग्दै भजनकिर्तन

संरक्षणका लागि पाटन युवा क्लबद्वारा नयाँ वर्षको अवसरमा खुला भजनकिर्तन प्रतियोगिता
प्रताप रानामगर

दमौली — गण्डकी क्षेत्रमा बाहुन–क्षत्री समुदायको कर्मकाण्ड र विशेष पर्वमा भजनकिर्तन खुबै हुन्थ्यो । थरीथरीको भाका हालेर गाउने र नाच्ने गर्दा समुदाय–समुदायबीच सम्बन्ध पनि कसिलो भएको मानिन्थ्यो । 

गोरखा–५ स्थित पश्चिमकाली मन्दिरको मेलामा चुट्का भजन प्रस्तुत गर्दै । तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

पुराना पुस्तामा लोकप्रिय यस्तो संस्कृतिबारे नयाँलाई धेरै ज्ञान छैन । धार्मिक चालचलनसँग जोडिएको परम्परागत भाषा र सभ्यता पनि हराउने खतरा बढेको छ । पुराना पुस्ताले गाउँघरमा भजन किर्तन नचाउँदै आए पनि युवा पुस्तामा भने चासो छैन । बाहुन बहुल बस्तीमा हिजोआज भजनका पुराना लय र नाच देख्न र सुन्न विरलै पाइन्छन् ।

Citizen

विभिन्न धार्मिक क्रियाकलाप र चाडपर्वमा टोली नै बनाएर भजनकिर्तन गर्ने चलन थियो । पुराना भाकामा भगवान्को आराधनासँगै खैंजडी, मजुरा, बाँसुरी र मादलको संगीतले पुरानो कला संस्कृतिलाई पनि झल्काउँथ्यो ।

धार्मिक विश्वाससँग जोडिएको भए पनि भजनकिर्तनले पुरानो सामाजिक सभ्यता बोक्दै आएको थियो । भजनकिर्तनमा शिव महिमा, बालन र महाभारतजस्ता धार्मिक कथाहरूलाई गीतका रूपमा प्रस्तुत गरिन्छ । यसमा सृष्टिदेखि भगवानका लीला र अवतारहरूको वर्णन पनि हुन्छ ।

पछिल्ला पुस्तामा यसप्रति ध्यान नजाँदा लोक संस्कृति र परम्परा हराउने अवस्थामा पुगेको भिमाद–५ ऋषिङपाटनका ७२ वर्षीय भक्तिप्रसाद पौडेलले बताए । ‘भजनकिर्तनमा युवाको चासो छैन,’ उनले भने, ‘धेरै त विदेश नै कमाउन गएका छन्, जति छन् तिनलाई पनि हामीले पराम्परा हस्तान्तरण गर्न नजानेका हौं जस्तो पनि लाग्छ ।’ युवालाई संस्कृति बुझाउनै पर्ने उनले बताए ।

भजनकिर्तनको संरक्षण गर्नका लागि पाटन युवा क्लबले नयाँ वर्षको अवसरमा खुला भजनकिर्तन प्रतियोगिता आयोजना गरेको छ । ‘धर्म संस्कृतिमा आधारित नाचगानको चलन हराउन लागेकाले प्रतियोगिता गराउँदा पनि अब केही गर्न सकिन्छ जस्तो भयो,’ क्लब अध्यक्ष अमृत गैरेले भने, ‘नयाँ पुस्तालाई आकर्षित गर्ने तरिकाले बुझाउनुपर्ने रहेछ भन्ने बूढापाकालाई पनि हेक्का भइसकेको छ ।’ प्रतियोगितामा सबै उमेर समूहका नौवटा टोली सहभागी भएको उनले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घण्टौं रुँघेर पूजा

कान्तिपुर संवाददाता

कास्की — यसो हेर्दा कतै मेला महोत्सव जस्तो दृश्य । फूल, अक्षता र नरिवल किन्ने, टिकट र लाइफज्याकेटका लागि लाइनमा बसेर पालो कुर्नेको भीडले घाटमा भरिएको । भीडले गर्दा बाटो नपाएर अल्मलिनेको संख्या पनि उल्लेख्य नै थियो । 

दृश्य थियो नयाँ वर्षको अवसरमा पूजाका लागि तालवाराही मन्दिर आएका भक्तजनको ।तालवाराही फेवातालमा रहेको देवी मन्दिर हो । घाटबाट डुंगामा चढेर सजिलै आउजाउ गर्न सकिने दूरीमा छ ।

भीड धेरै भएकाले डुंगामा पालो पाउन र पूजाका लागि धेरैले २ घण्टासम्म पर्खनुपरेको बताए । रामेछापबाट आइपुगेकी सुन्तली चौहानले भनिन्, ‘यस्तो भीड होला, पालो कुर्न पर्ला भन्ने सोचेकै थिइनँ ।’ भीडले गर्दा डुंगा र पूजामा पालो पाउन निकै ढिला भएको उनले बताइन् । काठमाडौंकी रुविना श्रेष्ठ नयाँ वर्ष पोखरामा मान्नेगरी गत शुक्रबार आएकी हुन् ।

‘लाइनमा बस्दा बस्दै धेरै ढिला पालो पाइयो,’ उनले भनिन्, ‘नयाँ वर्ष भनेको चाडबाड होइन, मन्दिरमा के भीड होला र जस्तो लागेको थियो । उल्टो रछ ।’ करिब २ घण्टा मात्रै पूजाको पालो पाएको उनले बताइन् । नयाँ वर्षको पहिलो दिन पोखरा आउने संयोग जुरेको बताउने मुग्लिनकी रुकशिला गुरुङ भन्छिन्, ‘पहिले पनि आएको हो तर यति धेरै भीड पहिलोपटक देखियो ।’

नयाँ वर्षको पहिलो दिन घुमघाममा निस्केकाहरूको भीडले फेवातालका आठवटै घाटका डुंगा व्यस्त थिए । बिहान मौसम पनि खुलेकाले घुमन्तेलाई फेवा किनारको फुट ट्रयाक र घुम्तीसँगै किनारका रेस्टुराहरूमा देखिन्थ्यो । मन्दिरमा पालो कुर्न झिँझो मानेकाहरूले डुंगामै तालमा फन्को लगाइरहेका थिए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT