चैते धान रोप्दै किसान

लमजुङ — सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले चैते धान लगाएका छन् । गहुँ, तोरी र आलुबाली भित्र्याएपछि किसानको मन चैते धान फलाउनेमा गएको छ । सहरबजार नजिकका फाँटे खेतमा चैते धान रोपिएको छ ।

खोलानाला नजिक भएका ठाउँ साथै सिँचाइ सुविधा भएको ठाउँमा किसानले चैते धान लगाएका हुन् । मध्यनेपाल नगरपालिका–७ करापुटारकी राज्यलक्ष्मी सोतीले करिब ५ हलको खेतमा चैते धान रोपेको बताइन् । ‘कतै आलु रोपिएको थियो । कतै गहुँ । कतै–कतै बाँझो पनि थियो । अहिले धान रोपेका छौं’ उनले भनिन् । उनका अनुसार फाँटभरि बर्खे धानझैं चैते धान लगाइएको छ । मिदिमखोलाबाट सिँचाइको सुविधा पाएपछि धान रोपिएको उनले बताइन् ।


राइनास नगरपालिका–६ चक्रतीर्थका रामचन्द्र भट्टका अनुसार धेरै किसानले चैते धान लगाएका छन् । चैते धानमा किसानको आकर्षण बढेको छ । ‘पहिले गोरु नपाउने समस्या थियो । अहिले ट्र्याक्टर आएपछि जोत्दै, बाउसे गर्दै धान रोप्ने गरिएको छ,’ उनले भने । राइनास क्षेत्रका तार्कुघाट, धमिलिकुवा, तीनपीप्लेलगायत ठाउँमा चैते धान रोपिएको उनले बताए । ‘अहिले चैते धान रोपिएन भने खेत बाँझै हो । खेत बाँझो नराख्न पनि धान रोपिएको छ,’ उनले भने ।


लमजुङका ठूल्ठूला फाँटहरू राइनास नगरपालिकाको राइनासटार, धमिलिकुवा, भलायखर्क, चक्रतीर्थ, चितीको रामचोकबेंसी, मध्यनेपाल नगरपालिकाकाको करापुटार, भोर्लेटार, दुईपीप्ले, सोतीपसल, सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायत फाँटमा चैते धान लगाइएको छ ।


कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धान लगाइने गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ३ सय ५८ मेट्रिक टन चैतधान उत्पादन भएको थियो । यस वर्ष २ हजार १ सय ७३ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार आब ०७३/०७४ मा २ हजार ३ सय ५९ मेट्रिक टन धान उत्पादन भएको थियो । ‘चैत महिनाको सुरुवातदेखि चैते धान रोपिएको थियो । अब विस्तारै सकिँदैछ’ उनले भने । सिँचाइ सुविधा पुगेको ठाउँमा चैते धान रोप्ने गरिएको उनले बताए ।


कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा १४ हजार ७ सय ८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । चालु आर्थिक आब २०७५/०७६ मा ४५ हजार ६ सय ३९ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । गत आब २०७४/०७५ मा १४

हजार ७ सय ९१ हेक्टरमा धान लगाइएकोमा ४४ हजार ५ सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।


किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायतका उन्नत जातका धानका साथै लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान खेती गर्दै आएका छन् ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?