पश्चिमकालीमा मेला

कान्तिपुर संवाददाता

गोरखा — गोरखा नगरपालिका–५ मा पश्चिमकालीमा आन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्यका साथ आइतबारबाट दुई दिने पश्चिमाकली मेला सुरु भएको छ । 

गोरखा नगरपालिका–५ मा भएको पश्चिमकाली मेला सुरु हुनुअघि निकालिएको झाँकीसहितको र्‍याली ।तस्बिर : हरिराम उप्रेती/कान्तिपुर

स्थानीय कला संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्घनको मेलाको आयोजना गरिएको हो । मेलाको पाँच हजारले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक पश्चिमकाली तथा खड्गदेवी मन्दिर व्यवस्थापन एवं संरक्षण समितिले जनाएको छ ।

मगर जातिको पाङदुरे, ख्याली, र पञ्चैबाजाजस्ता लोकबाजा र संस्कृतिको संरक्षामा मेलाले सघाउने समितिका अध्यक्ष टेकबहादुर थापाले बताए । ‘सदरमुकाम नजिकै रहे पनि पश्चिमकाली, नामरुङ मन्दिर र चिल्ड्रेन पार्क ओझेलमा परेका छन्, यसको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन २०६३ सालबाट हरेक वर्षको वैशाख १ गते मेला गर्न थालेका हौं,’ उनले भने ।

मेलाको पहिलो दिन पस्लाङ चौतारादेखि पश्चिमकालीसम्म स्थानीय कला संस्कृति झल्कने झाँकीसहितको र्‍याली निकालिएको छ । फुड स्टल, स्थानीय संस्कृति प्रदर्शन, वडा स्तरीय नृत्य प्रतियोगिता मेलाको आकर्षण रहेको रानाले बताए । बर्सेनि हुने यस्ता मेलाले पर्यटक आवागमन बढेका पश्चिमकाली मन्दिरका पुजारी भीमबहादुर बस्नेतले बताए ।

खुला ठाउँ र उक्त स्थानबाट विभिन्न हिमश्रृंखलाको दृश्यावलोकन गर्न पाइने भएकाले पनि पर्यटकको रोजाइमा पश्चिमकाली पर्न थालेको उनको बुझाइ छ ।‘आन्तरिक पर्यटक वर्षैपिच्छे बढ्दै गएका छन्,’ बस्नेतले भने, ‘मनको इच्छा पूरा गर्न भाकल गरेका धार्मिक पर्यटकको संख्यामा पनि विगतको तुलामा बृद्घि भएको छ ।’ पर्यटक बढ्दै जाँदा यहाँको सडक स्तरोन्नतिलगायत संरचना व्यवस्थित गर्न पहल भइरहेको स्थानीयले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चैते धान रोप्दै किसान

कान्तिपुर संवाददाता

लमजुङ — सिँचाइ सुविधा पुगेको ठाउँमा किसानले चैते धान लगाएका छन् । गहुँ, तोरी र आलुबाली भित्र्याएपछि किसानको मन चैते धान फलाउनेमा गएको छ । सहरबजार नजिकका फाँटे खेतमा चैते धान रोपिएको छ ।

खोलानाला नजिक भएका ठाउँ साथै सिँचाइ सुविधा भएको ठाउँमा किसानले चैते धान लगाएका हुन् । मध्यनेपाल नगरपालिका–७ करापुटारकी राज्यलक्ष्मी सोतीले करिब ५ हलको खेतमा चैते धान रोपेको बताइन् । ‘कतै आलु रोपिएको थियो । कतै गहुँ । कतै–कतै बाँझो पनि थियो । अहिले धान रोपेका छौं’ उनले भनिन् । उनका अनुसार फाँटभरि बर्खे धानझैं चैते धान लगाइएको छ । मिदिमखोलाबाट सिँचाइको सुविधा पाएपछि धान रोपिएको उनले बताइन् ।

राइनास नगरपालिका–६ चक्रतीर्थका रामचन्द्र भट्टका अनुसार धेरै किसानले चैते धान लगाएका छन् । चैते धानमा किसानको आकर्षण बढेको छ । ‘पहिले गोरु नपाउने समस्या थियो । अहिले ट्र्याक्टर आएपछि जोत्दै, बाउसे गर्दै धान रोप्ने गरिएको छ,’ उनले भने । राइनास क्षेत्रका तार्कुघाट, धमिलिकुवा, तीनपीप्लेलगायत ठाउँमा चैते धान रोपिएको उनले बताए । ‘अहिले चैते धान रोपिएन भने खेत बाँझै हो । खेत बाँझो नराख्न पनि धान रोपिएको छ,’ उनले भने ।

लमजुङका ठूल्ठूला फाँटहरू राइनास नगरपालिकाको राइनासटार, धमिलिकुवा, भलायखर्क, चक्रतीर्थ, चितीको रामचोकबेंसी, मध्यनेपाल नगरपालिकाकाको करापुटार, भोर्लेटार, दुईपीप्ले, सोतीपसल, सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायत फाँटमा चैते धान लगाइएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा ९ सय १० हेक्टर क्षेत्रफलमा चैते धान लगाइने गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ३ सय ५८ मेट्रिक टन चैतधान उत्पादन भएको थियो । यस वर्ष २ हजार १ सय ७३ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार आब ०७३/०७४ मा २ हजार ३ सय ५९ मेट्रिक टन धान उत्पादन भएको थियो । ‘चैत महिनाको सुरुवातदेखि चैते धान रोपिएको थियो । अब विस्तारै सकिँदैछ’ उनले भने । सिँचाइ सुविधा पुगेको ठाउँमा चैते धान रोप्ने गरिएको उनले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा १४ हजार ७ सय ८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । चालु आर्थिक आब २०७५/०७६ मा ४५ हजार ६ सय ३९ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ । गत आब २०७४/०७५ मा १४
हजार ७ सय ९१ हेक्टरमा धान लगाइएकोमा ४४ हजार ५ सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायतका उन्नत जातका धानका साथै लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान खेती गर्दै आएका छन् ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT