मध्यरातमा अझै सुनिन्छ फेरी

हरिराम उप्रेती

गोरखा — छिप्पिँदो रातमा मलिनो टर्च लाइट र लौरीको सहारा । घर–घरमा पुगेर फेरी लगाउँदा लगाउँदै छ्याङ्ङ उज्यालो हुन्छ । बिहानीपख सिदा लिने चटारो । गोरखा नगरपालिका–९ का गोविन्दनाथ योगीलाई चैत महिना लागेसँगै फुर्सद छैन । 

गत शुक्रबार मध्यरात लक्ष्मीबजारका घर–घरमा फेरी लगाउँदै गरेको अवस्थामा उनी भेटिए । ‘जय गुरु गोरखनाथ’ मध्यरातमा गाउँलेका घरमा पुगेर उनी चर्को आवाजले देवीदेवता पुकार्दै फलाक्छन् । फेरी लगाउँछन् । उक्त गाउँमा गोविन्दनाथको आवाजसँग गाउँले परिचित छन् । ‘१३ सालको जन्म, यसरी फेरी लगाएर हिँडेको वर्षौं भयो,’ उनले भने, ‘गर्दै आएको काम चटक्क छाड्न मन मानेन ।’


चैत लागेसँगै यहाँका अधिकांश गाउँमा मध्यरातमा फेरीको आवाज सुनिन्छ । फेरी लगाउनेलाई देखेर कुकुर धेरैबेरसम्म भुक्छन् । जरायोको सिङबाट बनेको लोकबाजाले फेरी लगाए घरको ‘सह’ जाग्ने मान्यता छ । सुख, शान्ति, समृद्घि छाउने घरमा शुभ हुने विश्वास गरिन्छ । सहरी क्षेक्रमा त्रमशः घटेको यो चलन ग्रामीण क्षेत्रमा अझै चलिरहेकै छ ।


‘एउटा घरमा फेरी लगाउन थोरैमा पाँच मिनेट लाग्छ । देवीदेवता फलाक्नुपर्छ, यसरी फेरी लगाएको घरमा भूतपिचासले दुःख दिँदैन,’ गोविन्दनाथले भने, ‘हामी मध्यरातमा हिँड्छौं । फेरी बोकेर हिँडदा हामीलाई पनि कुनै डर हुँदैन, भूतपिचासले छुन सक्दैन ।’ एक रातमा ३० देखि ५० घरसम्म पुगेर फेरी लगाउने गरेको उनले बताए । रातको समयमा बजाउने फेरी दिनमा देखाउन नहुने मान्यता पनि राखिन्छ ।


यहाँका प्रायः गाउँमा रातको समयमा अहिले फेरीको आवाज सुनिन्छ । यहाँका नाथ योगीहरू धादिङको सलाङ, नलाङ, खरी र मैदीसम्मका बस्तीमा फेरी लगाउन पुग्छन् । ‘दमौली र डुम्रेबाट फोन गरेर दान लिन आउनु भनेका छन् । भ्याइराखेको छैन,’ नाथले भने । फेरी लगाउने परम्परालाई पाका पुस्ताले थामेका छन् । फाट्टफुट्ट भेटिए पनि युवापुस्ता यसतर्फ आकर्षित छैनन् ।


फेरी लगाउनेका पनि आफ्नै क्षेत्र हुन्छन् । स्थानीयका अनुसार करिब ६० वर्ष पहिले फेरी लगाउनेलाई क्षेत्र छुट्याइदिने काम गोरखनाथका पुजारीले गर्थे । ‘त्यो बेला फेरी लगाउने धेरै हुन्थे । विवाद नहोस् भनेर गाउँटोल छुट्याइदिने चलन थियो,’ गोरखनाथका पुजारी प्रदीप योगीले भने, ‘अहिले थोरै छन्, क्षेत्र छुट्याइदिनुपर्ने अवस्था छैन ।’


फेरि लगाउने परम्परा पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको विश्वास गरिने उनले बताए । ‘फेरी लगाउने चलन गोरखाबाट सुरु भएको हो,’ उनले भने, ‘त्यो बेला चेतावनी दिन, सजग बनाउन, राज्य र धर्मका लागि संगठन बनाउन राति हिँडेको भन्ने मान्यता छ ।’ तत्कालीन समयमा नाथ समुदायले रातिको समयमा फेरी लगाउँदै राज्यका कुरा जनताको घरमा पुर्‍याउने र गन्धर्व समुदायले गीतमार्फत दिनमा जनताको घर–घर पुगेर खबर पुर्‍याउँदा मुलुक एकीकरण गर्न टेवा पुगेको मानिने उनको भनाइ छ ।


चैत र कात्तिक गरी वर्षमा दुई महिना फेरी लगाउने चलन छ । ‘चैत र कात्तिकमा त्यति कामको चाप हुँदैन । कात्तिकमा नयाँ बाली सप्रियोस् भन्ने कामना हो, चैतमा लगाउनु भनेको नयाँ वर्ष आउन लाग्यो भन्ने संकेत हो,’ उनले भने । यहाँको ठिगुरेस्वाँरा, अँधेरी, तोरेण र मिरकोटलगायतका क्षेत्रमा योगी समुदायको बाहुल्यता छ ।


‘भूतपिचास भाग्छ नै,’ उनले भने, ‘नाथ (फेरी) बजे काल भागे भन्छन् । ग्रहशान्ति हुन्छ, घर रक्षा हुन्छ विश्वास त हो ।’ कान नचिरेका योगीले पनि पछिल्लो समय फेरी लगाउनु विकृति भएको उनले बताए । परम्परा जीवन्त राख्ने आफूहरूको सम्मान हुनुपर्ने उनले बताए । ‘बिना लगानी माग्न आयो भन्ने पनि छन्, सम्मान भए घर–घरमा जान मन लाग्छ, हेय भए त यस्तो चलन छाड्दै जाने भए नि ।’


रात भर फेरी लगाउने योगीलाई बिहानपख घर–घरमा सिदा तयार भएको हुन्छ । दाल, चामल, नुन, बेसार घ्यू, वस्त्र, फलफूल भएको सिदा दिँदा ग्रहशान्ति हुने विश्वास गरिने चुणमणि तिवारी बताउँछन् । ‘गच्छे अनुसार दिने हो,’ उनले भने । धार्मिक विश्वास भएकाहरू बोलाएरै पनि दान दिने प्रचलन अझै कायम रहेको उनले बताए ।


युवा पुस्ता कान छेड्न र मन्त्र उच्चारण गर्न रुचि नदेखाउँदा उक्त पेसा संकटमा पर्ने भन्दै पाका पुस्ताले चिन्तासमेत जनाए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?