कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोदीवेणीमा नयाँ वर्षको भीड

कालीगण्डकीको पानीमा नुहाउँदा वर्षभरि शुभ हुने जनविश्वास

पर्वत — कालीगण्डकीको पानीमा नुहाउँदा वर्षभरि शुभ हुने जनविश्वास छ । यही मान्यता पच्छ्याएर पर्वतको मोदीवेणीमा वैशाख सक्रान्ति स्नान गर्नेको भीड लागेको छ । यहाँ स्नान, नृसिंह मन्दिर दर्शन र पूजा गर्नेहरूको घुइँचो रह्यो । 

मोदीवेणीमा नयाँ वर्षको भीड

नेपाल पञ्चांग निर्णायक समितिको पात्रोअनुसार बाह्र राशि हुनेहरूका शरीरका विभिन्न अंगमा नयाँ वर्षको प्रभाव पर्ने र नकारात्मक प्रभाव र असर मेट्न पवित्र जलको स्नान गर्नुपर्ने मान्यता छ । पण्डित लेखनाथ सुवेदीका अनुसार देब्रे खुट्टा, देब्रे हात र जुनसुकै देब्रे अंगमा संक्रान्तिमा राशिको प्रभाव परेमा त्यसले वर्षभरि नकारात्मक प्रभाव पार्छ ।


त्यस्ता दोष मेटाउनका लागि दामोदरकुण्डबाट पवित्र शालिग्रामसँगै बगेको कालीगण्डकीको जल अचुक अस्त्र मानिन्छ । ‘धार्मिक हिसाबले मान्दै आएका यस्ता प्रचलन अहिले वैज्ञानिक रूपमा पनि पुष्टि भएका छन्,’ सुवेदीले भने, ‘सक्रान्तिमा कालीगण्डकीको पानीले स्नान गर्ने कुरा प्राचीन कालदेखि चलेको चलन हो । बीचमा केही कमी थियो । अहिले बढेको छ ।’


कुनै बेला मोदीवेणी क्षेक्रमा वैशाख सत्रान्तिको अवसरमा ७ दिनसम्म मेला लाग्थ्यो । सडक यातायातको पहुँच नहुने समयसम्म बुटवल र भारतीय सिमानासम्म पुगेर ल्याएका सामाग्रीहरू किन–बेच गरेर वर्षभरिको गर्जो टार्ने गरिन्थ्यो । त्यो मेलामा पर्वत साथै बागलुङ, स्याङ्जा, कास्की, म्याग्दीलगायत थुप्रै जिल्लाका सर्वसाधारण सहभागी हुन्थे ।


मोदीवेणी दिव्यधाम व्यवस्थापन एवं सञ्चालन समितिका अध्यक्ष केवशदास पौडेलका अनुसार दुई दशकयता त्यस्तो मेला मोदीवेणीमा लागेको छैन । ‘केही वर्ष नुहाउन आउनेहरू पनि पातलिएका थिए,’ उनले भने, ‘हिजोआज मेला लाग्दैन । मान्छे अडिँदैनन् । आउने–जाने क्रम निकै बढेको छ ।’ अहिले मोदीवेणीसम्म नै सडक यातायातको पहुँच सहज भएकाले स्नान गर्नेहरू केही मिनेटमै फर्किने गरेका छन् । मोदीवेणी दिव्यधाम सञ्चालन एवं व्यवस्थापन समितिका अनुसार आइतबार मात्रै करिब १२ हजार सर्वसाधारणले मोदीवेणीमा स्नान गरे ।


समितिले ३ वर्षअघि कालीगण्डकी किनारमा १०८ गौमुखी धारा निर्माण गरेको छ । विद्युतीय मोटरको सहायताले कालीगण्डकीको पानी गौमुखी धाराबाट खसालेर स्नान गर्ने व्यवस्था मिलाइएको छ । मुक्तिनाथमा स्नान गर्न जान नसक्नेहरूका लागि पनि यहाँ निर्मित धाराले उत्तिकै पुण्य मिल्ने अग्रजहरू बताउँछन् । ‘मुक्तिनाथमा स्नान गर्ने र यहाँ स्नान गर्ने जल एउटै हो,’ मोदीवेणी धार्मिक पुस्तकालयका अध्यक्ष युवनाथ गौंडेलले भने, ‘यहाँ आएपछि मुक्तिनाथमा नुहाउन नपाएको पछुतो हुँदैन ।’


मोदीवेणीमा स्नान गर्न पर्वतका विभिन्न गाउँका साथै स्याङ्जा, कास्की, बागलुङ, तनहुँ, नवलपरासीलगायतका सर्वसाधारण आएका थिए । नयाँ वर्षमा ग्रह बिग्रिएमा मोदीवेणीमा स्नान गरी रुद्रीपाठ लगाएमा सबै ग्रह ठीक हुने विश्वासले आएको तनहुँकी भीमा क्षत्रीले बताइन् ।


ज्येष्ठ नागरिकलाई फलफूल

नयाँ वर्षमा मोदीवेणी स्नान गर्न गएका युवाहरूले मोदीवेणी वृद्धाश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेका छन् । पर्वतका शिव परियार, निशा थापामगर, मनोज क्षत्री र म्याग्दीकी डिना छन्त्यालले आश्रममा बसोबास गर्ने १९ जना ज्येष्ठ नागरिकलाई फलफूल खुवाएर नयाँ वर्ष मनाएका हुन् ।


नयाँ वर्ष फरक स्थान र फरक वातावरणमा मनाउन पाउँदा खुसी लागेको म्याग्दीकी डिना छन्त्यालले बताइन् । नयाँ वर्षमा नयाँ कामको थालनी गरी अरू युवाहरूलाई उत्प्रेरणा जगाउन आमाहरूसँग खुसियाली साटेको शिव परियारले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?