शाश्वतधाममा एकैदिन ५० हजार दर्शनार्थी

नारायण शर्मा

नवलपरासी — नयाँ वर्ष एकैदिन शाश्वतधाममा ५० हजारजनाभन्दा बढीले अवलोकन गरेका छन् । नवलपरासीको दुम्कौलीस्थित धाममा देशका विभिन्न भागबाट आएकाहरूको आइतबार बिहानैदेखि बेलुकी १० बजेसम्म घुइँचो थियो । यसपटक यहाँ रहेको एकाम्बरेश्वर मन्दिरमा लामबद्ध भएर पूजाआजा गर्ने  भक्तजनहरूको लर्को नै थियो । 

चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेलले नयाँ वर्ष शाश्वतधाममा मनाउने दर्शनार्थीहरूको घुइँचोलाई व्यवस्थित गर्न बिहानैदेखि लाइनमा राखेर विशेष व्यवस्था मिलाइएको जानकारी दिए। यसपटकको वैशाख १ मा एकै दिन यहाँ ५० हजार ८ सय ३१ जनाले अवलोकन गरेका छन्। शाश्वतधाममै परिवारका सदस्यहरूसहित पूजाआजा गर्ने र पार्कमा रमाउनेहरूको संख्या उल्लेख्य थियो। देशभरबाट सर्वसाधारणको ओइरो थियो। यसपटक भारतीय पर्यटकहरूको संख्या पनि उत्तिकै उल्लेख्य थियो।

हिन्दु धर्मका सबै मुख्य देवीदेवताको एउटै मन्दिरमा पूजाआजा गर्न पाइने शाश्वतधामको विषेशता हो। मन्दिर वरपरको मनमोहक पार्क र पानीको फोहरामा रमाउनेको संख्या दिनभर एकनासको थियो। अन्य वर्षभन्दा यो वर्ष झक्तजनहरूको संख्या दोब्बर बढी देखिएको स्थानीय चत्र थापाले बताए। उनले आध्यात्मिक, सांस्कृतिक र मनमोहक थलो भएका कारण शाश्वतधाममा दिनहुँ सर्वसाधारणको आगमन बढेको सुनाउँछन्।

बिहानैदेखि बढेको सर्वसाधारणको लर्को व्यवस्थित गर्न भक्तजनाहरूलाई लाइनमा राखेर एकाम्बरेश्वर महादेवको दर्शन गर्ने व्यवस्था मिलाइएको थियो। शाश्वतधाम र नेपाल प्रहरीका गरी ५ दर्जन सुरक्षाकर्मी परिचालन गरिएको थियो। मन्दिरले आफ्ना स्वयंसेवकलाई परिचालन गरेको थियो। सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पूजाआजामा सघाउन त्यहाँ रहेको गुरुकुलका पण्डितहरूलाई खटाइएको थियो।

धार्मिक, सांस्कृतिक र आन्तरिक पर्यटकको मुख्य गन्तव्यका रूपमा परिचित शाश्वतधाममा हरेक दिन घुइँचो लाग्ने गरेको छ। दर्शनार्थीहरूको बढदो आकर्षण यहाँ रहेको हिस्ट्री म्युजियम र बुद्धिस्ट सेन्टरमा बढदै गएको छ।

चौधरी ग्रुपका महाप्रबन्धक मधु पौडेलले दर्शनार्थीको घुइँचो लागेपछि व्यवस्थापनले लामबद्ध हुने र पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएको जानकारी दिए। मन्दिरमा खासगरी नयाँ वर्षका अवसरमा पूजाआजा गर्ने र परिवारसहित दर्शन गर्नेको भीड लागेको थियो। हिन्दुधर्मका मुख्य–मुख्य देवीदेवताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक विशेषता रहेको छ। नेपालमा यस्तो शुन्दर कलात्मक र भव्य मन्दिर अरू छैनन्।

भव्य र आकर्षक मन्दिर निर्माण गर्न भारतीय ५ दर्जनभन्दा बढी कालिगढलाई १४ वर्ष समय लागेको थियो। महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दुम्कौलीमा करिब ८० बिघामा फैलिएको विनोद चौधरीको चौधरी उद्योग ग्राम छ। त्यसैको दक्षिणी हातामा भारतीय शैलीमा निमार्ण गरिएको मनमोहक र आकर्षक भव्य मन्दिर रहेको छ। कला, वास्तुशास्त्रअनुसार मिलाएर एकै स्थानमा सबै देवीदेवताको पूजाआजा र दर्शन गर्न सकिने यस्तो फरक शैलीको मन्दिर नेपालमा अन्यत्र छैन। कलात्मकता र शुन्दरताको मनमोहकताका कारण यो मन्दिरमा सबै धर्मावलम्बीहरूको आकर्षण रहेको छ। हिन्दु मन्दिर भए पनि सबै धर्मावलम्बीहरूको आकर्षणमा यो मन्दिर रहेको छ।

दक्षिण भारतीय शैलीको आकर्षक र भव्य मन्दिर हेर्न नेपाल, भारतका हजारौं भक्तजन दिनहुँ धामको दर्शन गर्न आउने गरेका छन्। पूजाआजा र मन्दिरको कतात्मकता हेर्न दर्शकहरू लोभिने गरेका छन्।

धाम परिसरमा रहेको एकाम्बरेश्वर महादेवको भव्य र कलात्मक मन्दिर बनाउन भारतीय कालिगढलाई १४ वर्ष समय लागेको थियो। अत्यन्तकलात्मक र भव्यरूपमा निर्माण गरिएको एकाम्बरेश्वर महादेवको मन्दिर छ। मन्दिरको चारैतिर पानीको तलाउ र पानीको फोहरा देख्न सकिन्छ। रातिमा पानीको फोहोरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ। ७ बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा सन्सारका सबै हिन्दु देवी–देवताहरूका मूर्ति राखिएको छ। त्यहाँ निःशुल्क पढाइ हुने संस्कृत गुरुकुल पनि रहेको छ।

मन्दिर परिसरमा गुरुकुल विद्याश्रम, खअण्ड अग्निकुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी स्थल, धार्मिक संग्रहालय, डिजिटल धार्मिक संग्रहालय, धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिङ हल, गौशाला, अर्गानिक तरकारी र फलफूल फार्म, ध्यान केन्द्र योगा हल, प्राचीन तथा दुर्लभ वस्तु पाइने उपहार घर, सात्विक चमेनागृह र वैदिक सनातन हिन्दु धर्मसँग सम्बन्धित अन्य महत्त्वपूर्ण स्थल रहेको छ। त्यहाँ थ्रिडी मुभीहल पनि छ। मन्दिर परिसरमा वैदिक कर्मकाण्ड गुरुकुल पनि सञ्चालनमा छ। त्यहाँ ७२ विद्यार्थीले निःशुल्क संस्कृत अध्ययन गर्दै आएका छन्।

मन्दिर परिसरमा बौद्ध धर्मको समेत अध्ययन–अध्यापन गराउने कामको थालनी भएको छ। एउटै थलोमा संस्कृत र बौद्ध दर्शनको अध्यन–अध्यापन हुने यो धामको फरक विषेशता हो।
मन्दिरहरूमा हरेक दिन वैदिक विधिपूर्वक पूजाआजा गरिने चलन रहेको छ। मन्दिर धाम परिसरमा आकर्षक र भव्य पार्क बगैंचा रहेको छ। पानीको फोहरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ। पानीको फोहरामा कलात्मक र झिलीमिली बत्तीले थप रौनकता बढाएको छ। महेन्द्र राजमार्गको दुम्कौलीस्थित चौधरी उद्योग परिसरको ७ बिघा क्षेत्रफलमा फैलिएको यो मन्दिर हेर्न देशभरि र भारतबाट ठूलो संख्यामा मानिसहरू दिनहुँ आउने गरेका छन्।

पशुपतिनाथ र मुक्तिनापछिको सबैभन्दा बढी श्रद्धापूर्वक अवलोकन गर्ने स्थलका रूपमा यलिाई विकास गरिएको र दर्शक र भक्तजनहरूको आवागमनले धार्मिक र पर्यटकीय गन्तव्य बन्न सफल भएको चौधरी उद्योगका महाप्रबन्धक मधु पौडेलले जानकारी दिए। शाश्वतधाम परिसरमा बुद्ध धर्मावलम्बीहरूको गन्तव्य बनाउन बुद्धिस्ट सेन्टरको पनि निर्माण गरिएको छ। त्यहाँ रहेको निर्माणाधीन बुद्धिस्ट सेन्टरका लागि श्रीलंकाबाट अस्तुधातु ल्याएर विधिवत् प्रतिस्थापन गरिएको छ। सेन्टर अध्ययन केन्द्रका रूपमा विकास गरिएको छ।

प्रकाशित : वैशाख २, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

४६ देशका ३६० आरोही सगरमाथातर्फ

वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर र नेपालीले ७५ हजार रुपैयाँ आरोहण दस्तुर बुझाउनुपर्छ । 
सुरज कुँवर

काठमाडौँ — यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि सोमबारसम्म नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही त्यसतर्फ लागेका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार सोमबारसम्म ४६ मुलुकका आरोहीले सगरमाथा आरोहणको अनुमति पाएका छन् । यिनमा ७० महिला र २ सय ९० पुरुष छन् । 

नेपालबाट ४ वटा आरोहण दलका १२ सदस्य छन्, जसमा ६ महिला छन् । हालसम्म सबैभन्दा धेरै भारतका ८३, अमेरिकाका ६७, चीनका ५९, बेलायतका ४०, क्यानडाका ५ आरोही सगरमाथातर्फ लागेका छन् ।
विभागले यी आरोहीबाट ४२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन गरेको छ । वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर (करिब १२ लाख रुपैयाँ) आरोहण दस्तुर बुझाउनुपर्छ । नेपालीलाई ७५ हजार रुपैयाँ तोकिएको छ । सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महँगो हिमालको सूचीमा पर्छ । विदेशीका लागि वसन्तकालीन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउँद र बर्खायाममा २ हजार ७ सय ५० डलर मात्रै लिन्छ । व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपैयाँ खर्च लाग्छ ।

यस पटक सगरमाथाबाहेक अन्य १९ हिमालमा पनि आरोही गइहेका छन् । यिनमा सोमबारसम्म ३ सय ३१ आरोहीले अनुमति लिएका छन् । १९ मध्ये सिन्धुपाल्चोक क्षेत्रमा पर्ने जुगल हिमशृंखलाअन्तर्गत रहेको ग्याल्जेन पिक आरोहणका लागि गएका ६ मध्ये ३ जनाले आरोहण सकिसकेका छन् । विभागले सोमबारसम्म यी सबै हिमाल आरोहणका लागि ४६ करोड ५९ लाख सलामी दस्तुर संकलन गरिसकेको छ ।

यसैबीच सोमबार भारत, चीन र नेपालका तीन महिला आरोही सगरमाथातर्फ लागेका छन् । उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भम्रण वर्ष २०२० को झन्डा हस्तान्तरण गरे । तीन मुलुकका तर्फबाट हुन लागेको यो आरोहण अभियानलाई पहिलो भनिएको छ । यसमा नेपालका तर्फबाट कान्छीमाया तामाङ, भारतबाट कल्पना दास र चीनबाट लियामु मा छन् ।

प्रकाशित : वैशाख २, २०७६ १९:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT