तुर्लुङकोटमा दुराडाँडा महोत्सव

आश गुरुङ

लमजुङ — दुरा जातिको बसोबास रहेकाले यस क्षेत्रको नाम दुराडाँडा रहन गएको हो । दुराडाँडा क्षेत्रअन्तर्गत साबिकको दुराडाँडा, चन्द्रेश्वर, धुसेनी, पुरानकोट, सिन्दुरे र नेटा गाविस पर्छन् । तुर्लुङकोट सिन्दुरेमा पर्छ । तत्कालीन यी गाविसहरू अहिले सुन्दरबजार, बेंसीसहर र मध्यनेपाल नगरपालिकामा पर्छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरे तुर्लुङकोटमा आयोजित दुराडाँडा महोत्सव तथा तुर्लुङकोट मेलामा सहभागी हुन आएका स्थानीय ।तस्बिर : आश/कान्तिपुर

उक्त ठाउँको शैक्षिक, सामाजिक, आर्थिक उत्थान एवं पर्यापर्यटन जोगाउन आइतबारदेखि ३ दिने प्रथम दुराडाँडा महोत्सव सुरु भएको छ । हरेक वर्ष चैतेदसैंको मेला लाग्ने तुर्लुङकोटमा पहिलोपटक दुराडाँडा महोत्सवको आयोजना गरिएको हो । स्थानीय कालिका मिलन युवाक्लब, कालिका आमा समूह, दुरागाउँ होमस्टे व्यवस्थापन समिति लगायतले कालिका मन्दिर नजिकैचौरमा विगतदेखि मेलाको आयोजना गर्दै आएको क्लबका कार्यवाहक अध्यक्ष सिजन दुराले बताए ।

दुराडाँडा सेवा समाज काठमाडौं, दुरा सेवा समाज, सुन्दरबजार नगरपालिका–३ (चन्द्रेश्वर), ४ (दुराडाँडा), १० (धुसेनी) र ११ (सिन्दुरे), बेंसीसहर नगरपालिका ४ (पुरानकोट) र मध्यनेपाल नगरपालिकाको १० (नेटा) को संयुक्त आयोजनामा दुराडाँडा महोत्सवको आयोजना गरिएको हो । दुराडाँडा सेवा समाजका अध्यक्ष निर्मल न्यौपानेले सामाजिक, सांस्कृतिक र शैक्षिक क्रान्तिको थालनी भएको मानिने दुराडाँडाको शानलाई जोगाउन र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउन महोत्सव आयोजना गरिएको बताए ।

उनका अनुसार दुराडाँडा क्षेत्रका ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने, दुराडाँडावासीबीच विद्यमान सामाजिक एकताको भावनालाई मजबुत बनाउने, ग्रामीण पर्यटन, पर्यापर्यटन, खेल पर्यटनको प्रवर्द्धनको थालनी गरिएको छ । महोत्सवमा यस क्षेत्रको समग्र विकासको लागि स्थानीय कृषक र कृषि फार्मको संलग्नतामा कृषि उपजको प्रदर्शन र प्रवर्द्धन, दुराडाँडामा जन्मेर राष्ट्रको ऐतिहासिक, शैक्षिक, संस्कृति तथा सामाजिक क्षेत्रमासमर्पित युग पुरुषको योगदानबारे चर्चा गरिएको छ ।

महोत्सवका अवसरमा देशभर छरिएर विभिन्न पेसा व्यवसायमा आबद्ध दुराडाँडा क्षेत्रका नेता, विद्वान्, कर्मचारी, भूतपूर्व सैनिक, सामाजिक अभियान्ताले दुराडाँडाको समग्र विकासमा छलफल गरेका छन् । दुरा सेवा समाजका अध्यक्ष गोकुलप्रसाद दुराले महोत्सवमार्फत दुरालगायत यस क्षेत्रका विभिन्न जातजातिको भाषा, संस्कृति एवं स्थानीय लोककला, लोकलय, धार्मिक अनुष्ठानको संरक्षण सम्बर्द्धन एवं प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो ।

उनका अनुसार दुरा जातिको धार्मिक, सामाजिक, सांस्कृतिक पक्षबारे गतिविधि र छलफल गरिएको छ । सुन्दरबजार नगरपालिका ११ का अध्यक्ष प्रेमबहादुर दुराका अनुसार स्थानीयले सदियौंदेखि चैतेदसैंको अवसरमा तुर्लुङकोटमा मेला आयोजना गरिँदै आएको छ । तुर्लुङकोट गढीमा रहेको कालिका मन्दिरमा गरिने पूजाअर्चना यहाँको महत्त्वपूर्ण आकर्षण हो ।

नाचगान, छेलो, फुटबललगायतका कार्यक्रमले मेलाको आकर्षण बढाएको छ । ‘यस क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सामाजिक तथा सांस्कृतिक महत्त्वको उजागर गर्न हामीले हरेक वर्ष मेलाको आयोजना गर्दै आएका छौं’ उनले भने, ‘यसपटकबाट महोत्सव पनि सुरु भएको छ । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा समृद्धिको युग सुरु भएको दाबी गरे । ‘एउटै गोलीले २ वटा चरा मारेझैं संस्कृति बचाउने र होमस्टेबाट आर्थिक समृद्धिको सुरुवात भएको छ’ उनले भने, ‘हामी आफ्नो पाखुरा चलाऊँ । पाखुरा चलाउनेलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ उनले १ सय ९० गाउँमा होमस्टे सञ्चालन भइसकेको र आफ्नो कार्यावधिसम्म ५ सय गाउँमा होमस्टेको सुरुवात हुने बताए ।

प्रकाशित : वैशाख ३, २०७६ १०:१९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मुसहर बस्तीमा गासकै चिन्ता

नवीन पौडेल

परासी — लहरै खरका छाना । साँघुरो घरभित्र ५/६ जनाको परिवार । खाना पकाउन गोबरका गुइँठाको भर । धूवाँले घरै भरिएको छ । सुस्ता गाउँपालिका–५ सुस्ताको मुसहर बस्तीको अवस्था हो यो । 

खेतीपातीका नाममा करेसाबारीबाहेक अधिकांश मुसहरको वर्षभरि खान पुग्ने जमिन छैन । भएको घडेरीको पनि लालपुर्जा छैन । स्थानीय वसन्ती मुसहर र उनका पति दिनहुँ मजदुरी गर्छन् । नेपाल र भारतका विभिन्न स्थानमा पुग्छन् । वर्षा र हुरी बतासले दुईपटक घर भत्कियो । टालटुल पारेर जीवन निर्वाह गर्दै छन् । आकाशमा कालो बादल देख्नेबित्तिकै मजदुरीमा रहेका उनीहरूलाई घरमा छोराछोरीको चिन्ता हुन्छ । बिहानै खाना पकाएर हिँड्ने भएकाले छोराछोरी नियमित विद्यालय पनि जाँदैनन् ।
सीमावर्ती क्षेत्रमा रहेका अधिकांश विपन्न समुदायको अवस्था यस्तै छ । शिक्षा, स्वास्थ्यको पहुँचभन्दा बाहिर छ यो बस्ती । न्यूनतम आवश्यकता पूर्ति नहुँदा जोखिमयुक्त काम गर्न बाध्य छन् । बालबालिका विद्यालयमा भर्ना भए पनि अध्ययनका लागि जाँदैनन् । प्रतापपुर–६ कठहवाको बस्तीको पनि उही अवस्था छ । प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले विपन्न समुदायका छोराछोरीको शिक्षा निःशुल्क र सीपमूलक तालिम सञ्चालन गरेको बताए ।
‘सबैलाई एकैपटक अवसर दिन नसके पनि केही वर्षमा विपन्न र सीमान्तकृत स्थानीयको बसोबास र सीपको व्यवस्थापन गर्न लागेका छौं,’ उनले भने । विपन्नका लागि सीपमूलक कार्यक्रम लागू गरे पनि प्रभावकारी हुन सकेको छैन । सीपमूलक तालिम लिएका केही युवा व्यवसाय गर्ने लगानी नहुँदा ज्याला मजदुरीमै फर्किएका छन् ।
गुइँठाकै भर
दाउराको अभावमा पश्चिम नवलपरासीका ग्रामीण क्षेत्रका स्थानीयले गुइँठाकै भरमा खाना पकाउँछन् । राष्ट्रिय तथा सामुदायिक वनको पहुँचमा नभएका विपन्न समुदायका स्थानीयको चुलो गुइँठाबाटै बल्छ । तराईमा जाडोमा आगो ताप्न गुइँठा प्रयोग हुन्छ । तर, विपन्न समुदायमा त्यही गुइँठाबाटै खाना पाक्छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT