१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तुर्लुङकोटमा दुराडाँडा महोत्सव

आश गुरुङ

लमजुङ — दुरा जातिको बसोबास रहेकाले यस क्षेत्रको नाम दुराडाँडा रहन गएको हो । दुराडाँडा क्षेत्रअन्तर्गत साबिकको दुराडाँडा, चन्द्रेश्वर, धुसेनी, पुरानकोट, सिन्दुरे र नेटा गाविस पर्छन् । तुर्लुङकोट सिन्दुरेमा पर्छ । तत्कालीन यी गाविसहरू अहिले सुन्दरबजार, बेंसीसहर र मध्यनेपाल नगरपालिकामा पर्छन् ।

तुर्लुङकोटमा दुराडाँडा महोत्सव

उक्त ठाउँको शैक्षिक, सामाजिक, आर्थिक उत्थान एवं पर्यापर्यटन जोगाउन आइतबारदेखि ३ दिने प्रथम दुराडाँडा महोत्सव सुरु भएको छ । हरेक वर्ष चैतेदसैंको मेला लाग्ने तुर्लुङकोटमा पहिलोपटक दुराडाँडा महोत्सवको आयोजना गरिएको हो । स्थानीय कालिका मिलन युवाक्लब, कालिका आमा समूह, दुरागाउँ होमस्टे व्यवस्थापन समिति लगायतले कालिका मन्दिर नजिकै चौरमा विगतदेखि मेलाको आयोजना गर्दै आएको क्लबका कार्यवाहक अध्यक्ष सिजन दुराले बताए ।


दुराडाँडा सेवा समाज काठमाडौं, दुरा सेवा समाज, सुन्दरबजार नगरपालिका–३ (चन्द्रेश्वर), ४ (दुराडाँडा), १० (धुसेनी) र ११ (सिन्दुरे), बेंसीसहर नगरपालिका ४ (पुरानकोट) र मध्यनेपाल नगरपालिकाको १० (नेटा) को संयुक्त आयोजनामा दुराडाँडा महोत्सवको आयोजना गरिएको हो । दुराडाँडा सेवा समाजका अध्यक्ष निर्मल न्यौपानेले सामाजिक, सांस्कृतिक र शैक्षिक क्रान्तिको थालनी भएको मानिने दुराडाँडाको शानलाई जोगाउन र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउन महोत्सव आयोजना गरिएको बताए ।


उनका अनुसार दुराडाँडा क्षेत्रका ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने, दुराडाँडावासीबीच विद्यमान सामाजिक एकताको भावनालाई मजबुत बनाउने, ग्रामीण पर्यटन, पर्यापर्यटन, खेल पर्यटनको प्रवर्द्धनको थालनी गरिएको छ । महोत्सवमा यस क्षेत्रको समग्र विकासको लागि स्थानीय कृषक र कृषि फार्मको संलग्नतामा कृषि उपजको प्रदर्शन र प्रवर्द्धन, दुराडाँडामा जन्मेर राष्ट्रको ऐतिहासिक, शैक्षिक, संस्कृति तथा सामाजिक क्षेत्रमा समर्पित युग पुरुषको योगदानबारे चर्चा गरिएको छ ।


महोत्सवका अवसरमा देशभर छरिएर विभिन्न पेसा व्यवसायमा आबद्ध दुराडाँडा क्षेत्रका नेता, विद्वान्, कर्मचारी, भूतपूर्व सैनिक, सामाजिक अभियान्ताले दुराडाँडाको समग्र विकासमा छलफल गरेका छन् । दुरा सेवा समाजका अध्यक्ष गोकुलप्रसाद दुराले महोत्सवमार्फत दुरालगायत यस क्षेत्रका विभिन्न जातजातिको भाषा, संस्कृति एवं स्थानीय लोककला, लोकलय, धार्मिक अनुष्ठानको संरक्षण सम्बर्द्धन एवं प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको हो ।


उनका अनुसार दुरा जातिको धार्मिक, सामाजिक, सांस्कृतिक पक्षबारे गतिविधि र छलफल गरिएको छ । सुन्दरबजार नगरपालिका ११ का अध्यक्ष प्रेमबहादुर दुराका अनुसार स्थानीयले सदियौंदेखि चैतेदसैंको अवसरमा तुर्लुङकोटमा मेला आयोजना गरिँदै आएको छ । तुर्लुङकोट गढीमा रहेको कालिका मन्दिरमा गरिने पूजाअर्चना यहाँको महत्त्वपूर्ण आकर्षण हो ।


नाचगान, छेलो, फुटबललगायतका कार्यक्रमले मेलाको आकर्षण बढाएको छ । ‘यस क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय, सामाजिक तथा सांस्कृतिक महत्त्वको उजागर गर्न हामीले हरेक वर्ष मेलाको आयोजना गर्दै आएका छौं’ उनले भने, ‘यसपटकबाट महोत्सव पनि सुरु भएको छ । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।’


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा समृद्धिको युग सुरु भएको दाबी गरे । ‘एउटै गोलीले २ वटा चरा मारेझैं संस्कृति बचाउने र होमस्टेबाट आर्थिक समृद्धिको सुरुवात भएको छ’ उनले भने, ‘हामी आफ्नो पाखुरा चलाऊँ । पाखुरा चलाउनेलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।’ उनले १ सय ९० गाउँमा होमस्टे सञ्चालन भइसकेको र आफ्नो कार्यावधिसम्म ५ सय गाउँमा होमस्टेको सुरुवात हुने बताए ।

प्रकाशित : वैशाख ३, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?