१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कृषिमा २ करोड लगानी

बागलुङ — व्यावसायिक कृषि प्रदवर्द्धनका लागि बडिगाड गाउँपालिकाले ‘अध्यक्ष विशेष कृषि तथा पशुविकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । चालु वर्षभित्रै कार्यान्वयन थालिने ऊक्त कार्यत्रममा २ करोड रुपैयाँ लगानीको तयारी छ । 

कृषिमा २ करोड लगानी

गाउँपालिका स्तरमा बनाइएको कार्यविधिमा सूचीकृतका लागि किसानलाई आहान गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । कृषि क्षेत्रमा गरिएको यो लगानी जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै हो । छुट्याइएको बजेटमध्ये ५० लाख मल, बीउ र अन्य प्रयोजनका लागि विनियोजित छ ।


बाँकी १ करोड ५० लाख ठूलो परिमाणको उत्पादनका लागि व्यावसायिक कृषिमा काम गर्ने किसानका लागि हो । ‘पहिलो चरणमा हामीले ऋणस्वरूप रकम दिन्छौं । क्रमशः उसले गरेको कर्मको आधारमा मूल्यांकन भएपछि अनुदानमा परिणत हुन्छ,’ अधिकृत सुवेदीले भने, ‘किसानलाई काम गरौं भन्ने भावना बढाउने र आर्थिक समृद्धिको बाटोमा हिँडाउने उपाय हो ।’ यसरी ऋण तथा अनुदान पाउनका लागि व्यक्तिगत, सहकारी वा समूहमार्फत आउन सक्ने प्रावधान राखिएको छ ।


कार्यक्रमको ऋण र अनुदान पाउन कम्तीमा शून्य दशमलव ५ हेक्टर जमिनमा कृषि फसल लगाएको हुनुपर्नेछ । त्यस्तै पशुतर्फ कम्तीमा २० भैंसी, २५ गाई, १ सय बाख्रा र ५ सयवटा सम्म कुखुरा पालेको हुनुपर्छ । वडा कार्यालयले प्रारम्भिक अनुगमन गरेको प्रतिवेदनको आधारमा गाउँपालिकाले समेत अनुगमन गरेर वास्तविक ठहरेपछि ऋण दिइन्छ । ‘एक वर्षको उसको उत्पादन हेरेर बजारको खोजी पनि गरिदिने व्यवस्था गर्दैछौं’ गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले भने, ‘वास्तविक किसान अब ऋण, बीउ, मल र अनुदान नपाएर विदेश पलायन हुनु पर्दैन ।’ युवाहरूको चासो बढाउन यो आर्दश नीति लिइएको उनले बताए ।


चालु वर्ष कार्यक्रम ढिला भएकाले आएका सबै किसानको सूचीकृतको काम मात्र सुरु भएको छ । एक महिनाभित्र आइसक्ने सबै किसानको सूची तयार बनाएपछि प्रारम्भिक अनुगमन र मूल्यांकनका आधारमा ‘सर्ट लिस्ट’ गर्ने सुवेदीले बताए । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्ष, गाउँपालिकाका कृषि तथा पशु हेर्ने प्राविधिकसमेतको मूल्यांकन समितिले ठहर गरेपछि उनीहरूलाई ऋण दिने व्यवस्था हुनेछ ।


एक वा दुई वर्षभित्रको कार्यप्रगतिका आधारमा उक्त ऋण अनुदानमा बदल्ने नीति लिएको सुवेदीले बताए । ‘अनुदान भनेर लैजाँदा कामै नगर्ने प्रवृत्ति हावी हुन्छ, त्यसैले प्रगतिको आधारमा अनुदानमा पुग्छौं’ उनले भने, ‘हामीले दिने अनुदान पाउने किसानले दर्जनौं अन्य युवाले पनि रोजगारी पाउनेछन् ।’ गाउँपालिका पशुपालनका लागि उर्वर क्षेत्र पनि हो । रणसिंकिटेनी, भीमगिठे, सिसाखानी, दर्लिङजस्ता गाउँ पशुपालनका लागि उत्तम मानिएका छन् ।


यहाँका किसानले अहिले पनि ५ सय वटासम्म भेडा पालेर बसेका छन् । उनीहरूलाई रोगको समयमा उपचार, उन्नत जातका नस्ल सुधारजस्ता काममा सहयोग गर्ने पाइजाले बताए । ‘राज्यको कुनै सेवा नपाएर ५ सय भेडा पालेको किसानलाई अनुदान दिएर १ हजार पाल्ने बनायौं भने विदेशबाट ल्याउनु पर्दैन’ पाइजाले भने, ‘किसानै किसान भएको गाउँमा औद्योगिक विकासको खोजी गरियो भने हामी असफल हुन्छौं ।’


एक वर्षमा एक सय युवा विदेश जानबाट रोक्दा गाउँमै कृषि विकास र समृद्धि बढ्न सक्ने उनले बताए । अहिले पनि यहाँका किसानले ताजा तरकारी, च्याउखेती, कुखुरा पालनलागयतका पेसाबाट उत्पादन लिइरहेका छन् । प्लास्टिक टनेलमा खेती गर्ने, मिनिटिलरमार्फत काम गरेका किसानलाई ५० लाख बजेटबाट अनुदान र प्रविधि दिने योजना उनले सुनाए ।

प्रकाशित : वैशाख ३, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?