१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पिसाब संकलन गरेर बालीलाई

घनश्याम खडका,

म्याग्दी — के पुरुष के महिला सबै उस्तै । पिसाब फेर्न जग कि जर्किन वा ड्रम चाहिने । बाटो हिँड्दा पनि कान्लातिर होइन बारीमै पुग्नुपर्ने । 
पाँखु, किम्चौर, नेटा, गहते, सिर्कुम बस्तीको बीचमा उत्तरपूर्व फर्केको ब्राह्मण बहुल बस्ती हो, अर्मन ।

अनि अर्मन बस्तीको बीचमा छ शिशुकल्याण माध्यमिक विद्यालय । अर्मनवासी हिजोआज शौचालयको प्यानमा पिसाव फेर्दैनन् । न विद्यालयका शिक्षक–विद्यार्थीले नै शौचालयको प्यानमा पिसाव फेर्छन् । अर्मनमा गाउँले मात्रै होइन गाई–भैंसीको मूत्र पनि गोठका भकारोमा होइन ड्रममा नै थाप्ने गरिन्छ ।


उनीहरूले उद्दण्ड भएर भाँडामा पिसाव फेर्दै हिँडेका भने होइनन् । मानव मूत्र प्रभावकारी प्राङ्ग्रारिक मल हो भन्ने थाहा पाएपछि अर्मनवासीले शौचालयमा होइन, ड्रम र जर्किनमा पिसाव संकलन गर्न थालेका हुन् । मानव मूत्र संकलन गर्न घर–घरका शौचालयमा मात्र होइन नजिकका सबै विद्यालयका शौचालयमा पनि जर्किन वा ड्रम थापिएको हो ।


‘मानव मलमूत्र पनि प्राङ्गारिक मलको राम्रो स्रोत हो । मानव मल पनि व्यवस्थित गरी प्राङ्गारिक मल बनाउन सकिन्छ । तर सुरुमा मानव मूत्रलाई मात्र प्रयोग गर्‍यौं’ अगुवा कृषक कृष्णलाल सापकोटाले भने, ‘तरकारी बारीमा मानव मूत्र प्रयोग गर्न घिनाएकोले पछिल्लो तीन महिनादेखि सुन्तलाका बगैंचामा मलको रूपमा प्रयोग गरेका छौं । अन्य मलभन्दा मानव मूत्र हालेका सुन्तलाका बोट बढी राम्रा देखिएका छन् ।’


घर तथा विद्यालयका शौचालयमा सोली जडित ड्रम वा जर्किन राखिएको छ । पुरुषहरू सोझै सोलीमा मूत्र सोझ्याउँछन् । महिलाले भने जगमा मूत्र थापेर ड्रम भर्छन् । सोलीमा टीटी खेल्न प्रयोग हुने साना हलुका पहेंला बल राखिएको छ । पिसाव फेर्दा यी वल माथि आउँछन्, पिसाव तल झरेपछि सोलीको मुख बन्द हुन्छ । दुर्गन्ध रोक्न यसो गरिएको हो । विद्यालयमा संकलित पिसावलाई सुन्तला जात र अन्य व्यावसायिक फलफूल खेती गर्ने कृषकले पालैपालोसँग लैजाने गरेका छन् ।


‘मानव मूत्रको प्रयोगले २ महिनामै सुन्तला खेतीमा राम्रो प्रभाव देखिएको छ । ३० जना कृषकबाट सुरु गरिएको मानव मूत्र संकलनको सिको छिमेकी बस्तीका कृषकले पनि गर्न थालेका छन् । मानव मूत्रलाई कृषकले फलफूलमा मात्र होइन मकै खेतीमा पनि प्रयोग गरेका छन्’ मंगला गापा कृषि शाखाका नावय प्राविधिक सहायक जगत बानियाँले भने, ‘बरन्जाका केही अगुवा कृषकले त गाईबस्तुको भकारो सुधार कार्यक्रमबाट पशु मूत्र ड्रममा संकलनको सिको गर्दै मानव मूत्रलाई खेतबारीमा प्रयोग गरेको भेटियो ।’


मंगला गाउँपालिका–५ मा पर्ने अर्मन सुन्तला र तरकारी खेतीको पकेट क्षेत्र हो । सुन्तला जोन कार्यालय म्याग्दीले मंगला गापा–१ को खानीगाउँ, २ को लरेनी, ३ का भोर्लेनी, दह, ४ को महेश र ५ वडाको अर्मनलाई सुन्तला पकेट क्षेत्र बनाएको छ । मानव मूत्रलाई खेतबारीमा मलको रूपमा प्रयोग गर्दा बिरुवाको जरामा हाल्ने हो भने एक भाग मूत्रमा तीन भाग पानी र माथि पातबाट हाल्ने हो भने १ भाग मूत्र १० भाग पानी मिसाएर हाल्नुपर्छ ।


मंगला गाउँपालिकाले ३० जना अगुवा कृषक र ३० जना विद्यार्थी/शिक्षकलाई मानव मूत्र संकलन र बालीअनुसार मूत्र प्रयोग विधि सिकाउन र संकलन सामग्रीका लागि २ लाख ८० हजार खर्च गरेको थियो । कृषि नै मुख्य स्रोत र सम्भावना रहेको मंगला गाउँपालिकाले कृषि गुरुयोजना बनाई आफ्नो बजेट तथा कार्यक्रम कृषि केन्द्रित गरेको जनाएको छ ।


‘मंगला गापाको मुख्य सम्भावना भनेकै अन्नबाली, फलफूल र पशुपालन हो । त्यसैले अर्गानिक खेतीमार्फत उत्पादन वृद्धि गर्न कसरी सुरक्षित रूपमा ‘खेतको पेटमा र पेटको खेतमा पुर्‍याउन सकिन्छ’ भनेर हामी लागेका छौं’ गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भने, ‘कृषि नै पहिलो प्राथमिकता भएकाले गाउँपालिकाका सबै कार्यक्रम कृषिसँग जोड्न प्रयास गरेका छौं । सडकसमेत कृषिसँगै जोडेका छौं । आगामी ५ वर्षमा उत्पादन तेब्बर बनाउनेगरी गुरुयोजना बनाएका छौं ।’


मंगला गाउँपालिकाले केन्द्र रहेको बाबियाचौरमा छुट्टै अनुदान दिएर प्राङ्गारिक मल उत्पादन गर्दै आएको पनि छ । बाबियाचौर बजारबाट उत्सर्जन हुने फोहोरबाट कुहिने वस्तु र वनमारासमेतका झारको प्रयोग गरी कृषि प्राङ्गारिक मल उत्पादन गर्ने गरिएको छ । यहाँ उत्पादन हुने बार्षिक ५ हजार केजी मलमध्ये २ हजार ५ सय केजी मल त लुम्ले कृषि अनुसन्धान केन्द्रले लैजाने गरेको छ । कृषकले भने प्रतिकेजी २५ रुपैयाँमा खरिद गर्छन् ।


‘यहाँको प्राङ्गारिक मलले कृषकको माग थेग्नै सकेको छैन । मल उत्पादन गर्ने कच्चापदार्थ अपुग भएकाले छिमेकका तातोपानी र दरबाङ बजारमा पनि कुहिने फोहोर संकलन गरी ल्याउन कृषि मल उद्योगमा संलग्न युवालाई उत्प्रेरित गरिरहेका छौं’ गापा अध्यक्ष रोकाले भने, ‘उत्पादन बढी भएछ भने मलको लेबलिङ र प्याकेजिङ्ग गरी बजार पुर्‍याउन गाउँपालिकाले सहयोग गर्छ ।’


मंगला गाउँपालिकाले हालै मानव मूत्र संकलन सुरु गरे पनि सामाजिक अगुवा महावीर पुनले धेरै वर्षअघि अन्नपूर्ण गाउँपालिका– ८ नागीस्थित हिमाञ्चल माध्यामिक विद्यालयले कम्पोस्ट चर्पी बनाउने अभियान सुरु गरेको थियो । चर्पीमा दिसा–पिसाव गरेपछि पानीको सट्टा झारपात प्रयोग गरिन्छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?