पोल गाडेको चार वर्षमा बत्ती

नवीन पौडेल

नवलपुर — नगरपालिका घोषणा भएपछि बिजुलीको उज्यालोमा बस्न पाउने देवचुली–६ कीर्तिपुरका स्थानीयको आशा चार वर्षपछि पूरा भएको छ । पोल गाडेर तार टाँगेको चार वर्षमा बल्ल बिजुली आएको हो ।

‘नगरपालिकावासी हो भन्नसमेत लाज लाग्ने अवस्था भएको थियो,’ स्थानीय नवराज रानाले भने, ‘नगरपालिका र नेता देखेर दिक्क लागेको थियो । भोट माग्दा पोल गाड्यौं अब चुनाव जितेको एक महिनाभित्र लाइन जोड्छौं भनेका थिए, पोल ढल्न थालेपछि भए पनि बल्ल लाइन आयो ।’ पूर्व–पश्चिम राजमार्गको दलदलेदेखि झण्डै ७ किमि दूरीमा रहेको कीर्तिपुर गाउँमा करिब १ सय ५० घरधुरी छन् । गाउँमा बिजुली आउने भएपछि गाउँलेले कतिपय पोल बोकेरै पुर्‍याएका थिए । विद्युत् सेवा सुचारु गरिए पनि चार वर्षअघि गाडिएका धेरै पोल बांगिएका र ढलेका छन् । कतिपय पोल खोलाले बगाएको छ ।

Citizen


विद्युत् कार्यालय कावासोतीले ट्रान्सफर्मर अभावका कारण लाइन जोड्न ढिला भएको जनाएको छ । ढिलै भए पनि बिजुली आएपछि गाउँले खुसी छन् । गाउँमा बिजुली आएपछि कुटानीपिसानी र सामान्य विद्युतीय कामका लागि दलदले बजार जानुपर्ने बाध्यता हटेको छ । बिजुली नहुँदा केही परिवारले सोलार बत्ती राखेका थिए भने अधिकांश परिवार टुकीको भरमा थिए । देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले लगातारको दबाबले मात्रै बिजुली आएको बताए । ‘विद्युत् सेवा नभएकाले नगरवासी भन्नै लाज मान्नुपर्ने अवस्था अब हट्यो,’ उनले भने, ‘अब ढलेका पोल मर्मत गर्दै सबैका घरमा बत्ती पुग्ने व्यवस्था गर्नुपर्छ ।’

बल्ल विद्युत् सेवा विस्तार भइरहेको नगर क्षेत्रमा अझै शिक्षा, स्वास्थ्य र सडकलगायतका आधारभूत सुविधा पर्याप्त छैन । ‘नगरपालिका घोषणा हुँदा गाउँमा विकासको मूल नै फुट्छ भन्ने सोचेका थियौं तर चार वर्ष बितिसक्दा समेत गाउँको मुहार फेरिएन’, स्थानीय दिनेश मगरले भने । नगरपालिका घोषणा गर्न बजारका नेताले जनसंख्या र भूगोल पुर्‍याउनका लागि हामीलाई समेत मिसाए, विकास हुने आशा जगाए तर अहिलेसम्म केही फरक महसुस गर्न पाइएन, उनले भने ।

गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन हुने विद्यालय छ । कक्षा ६ पढ्नका लागि करिब २ घण्टा हिँडेर दलदले आइपुग्नु पर्ने बाध्यता छ । पूर्वाधारबिनाको घोषणाले ग्रामीण बस्तीमा करको दायरा मात्र बढेको स्थानीयले महसुस गरेका छन् । कर मात्र लिने तर सुविधा नदिने भएपछि नगरपालिका भएको महसुस गर्न नसकेको स्थानीयको गुनासो छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पिसाब संकलन गरेर बालीलाई

घनश्याम खडका,

म्याग्दी — के पुरुष के महिला सबै उस्तै । पिसाब फेर्न जग कि जर्किन वा ड्रम चाहिने । बाटो हिँड्दा पनि कान्लातिर होइन बारीमै पुग्नुपर्ने । पाँखु, किम्चौर, नेटा, गहते, सिर्कुम बस्तीको बीचमा उत्तरपूर्व फर्केको ब्राह्मण बहुल बस्ती हो, अर्मन ।

अनि अर्मन बस्तीको बीचमा छ शिशुकल्याण माध्यमिक विद्यालय । अर्मनवासी हिजोआज शौचालयको प्यानमा पिसाव फेर्दैनन् । न विद्यालयका शिक्षक–विद्यार्थीले नै शौचालयको प्यानमा पिसाव फेर्छन् । अर्मनमा गाउँले मात्रै होइन गाई–भैंसीको मूत्र पनि गोठका भकारोमा होइन ड्रममा नै थाप्ने गरिन्छ ।

उनीहरूले उद्दण्ड भएर भाँडामा पिसाव फेर्दै हिँडेका भने होइनन् । मानव मूत्र प्रभावकारी प्राङ्ग्रारिक मल हो भन्ने थाहा पाएपछि अर्मनवासीले शौचालयमा होइन, ड्रम र जर्किनमा पिसाव संकलन गर्न थालेका हुन् । मानव मूत्र संकलन गर्न घर–घरका शौचालयमा मात्र होइन नजिकका सबै विद्यालयका शौचालयमा पनि जर्किन वा ड्रम थापिएको हो ।

‘मानव मलमूत्र पनि प्राङ्गारिक मलको राम्रो स्रोत हो । मानव मल पनि व्यवस्थित गरी प्राङ्गारिक मल बनाउन सकिन्छ । तर सुरुमा मानव मूत्रलाई मात्र प्रयोग गर्‍यौं’ अगुवा कृषक कृष्णलाल सापकोटाले भने, ‘तरकारी बारीमा मानव मूत्र प्रयोग गर्न घिनाएकोले पछिल्लो तीन महिनादेखि सुन्तलाका बगैंचामा मलको रूपमा प्रयोग गरेका छौं । अन्य मलभन्दा मानव मूत्र हालेका सुन्तलाका बोट बढी राम्रा देखिएका छन् ।’

घर तथा विद्यालयका शौचालयमा सोली जडित ड्रम वा जर्किन राखिएको छ । पुरुषहरू सोझै सोलीमा मूत्र सोझ्याउँछन् । महिलाले भने जगमा मूत्र थापेर ड्रम भर्छन् । सोलीमा टीटी खेल्न प्रयोग हुने साना हलुका पहेंला बल राखिएको छ । पिसाव फेर्दा यी वल माथि आउँछन्, पिसाव तल झरेपछि सोलीको मुख बन्द हुन्छ । दुर्गन्ध रोक्न यसो गरिएको हो । विद्यालयमा संकलित पिसावलाई सुन्तला जात र अन्य व्यावसायिक फलफूल खेती गर्ने कृषकले पालैपालोसँग लैजाने गरेका छन् ।

‘मानव मूत्रको प्रयोगले २ महिनामै सुन्तला खेतीमा राम्रो प्रभाव देखिएको छ । ३० जना कृषकबाट सुरु गरिएको मानव मूत्र संकलनको सिको छिमेकी बस्तीका कृषकले पनि गर्न थालेका छन् । मानव मूत्रलाई कृषकले फलफूलमा मात्र होइन मकै खेतीमा पनि प्रयोग गरेका छन्’ मंगला गापा कृषि शाखाका नावय प्राविधिक सहायक जगत बानियाँले भने, ‘बरन्जाका केही अगुवा कृषकले त गाईबस्तुको भकारो सुधार कार्यक्रमबाट पशु मूत्र ड्रममा संकलनको सिको गर्दै मानव मूत्रलाई खेतबारीमा प्रयोगगरेको भेटियो ।’

मंगला गाउँपालिका–५ मा पर्ने अर्मन सुन्तला र तरकारी खेतीको पकेट क्षेत्र हो । सुन्तला जोन कार्यालय म्याग्दीले मंगला गापा–१ को खानीगाउँ, २ को लरेनी, ३ का भोर्लेनी, दह, ४ को महेश र ५ वडाको अर्मनलाई सुन्तला पकेट क्षेत्र बनाएको छ । मानव मूत्रलाई खेतबारीमा मलको रूपमा प्रयोग गर्दा बिरुवाको जरामा हाल्ने हो भने एक भाग मूत्रमा तीन भाग पानी र माथि पातबाट हाल्ने हो भने १ भाग मूत्र १० भाग पानी मिसाएर हाल्नुपर्छ ।

मंगला गाउँपालिकाले ३० जना अगुवा कृषक र ३० जना विद्यार्थी/शिक्षकलाई मानव मूत्र संकलन र बालीअनुसार मूत्र प्रयोग विधि सिकाउन र संकलन सामग्रीका लागि २ लाख ८० हजार खर्च गरेको थियो । कृषि नै मुख्य स्रोत र सम्भावना रहेको मंगला गाउँपालिकाले कृषि गुरुयोजना बनाई आफ्नो बजेट तथा कार्यक्रम कृषि केन्द्रित गरेको जनाएको छ ।

‘मंगला गापाको मुख्य सम्भावना भनेकै अन्नबाली, फलफूल र पशुपालन हो । त्यसैले अर्गानिक खेतीमार्फत उत्पादन वृद्धि गर्न कसरी सुरक्षित रूपमा ‘खेतको पेटमा र पेटको खेतमा पुर्‍याउन सकिन्छ’ भनेर हामी लागेका छौं’ गाउँपालिका प्रमुख सतप्रसाद रोकाले भने, ‘कृषि नै पहिलो प्राथमिकता भएकाले गाउँपालिकाका सबै कार्यक्रम कृषिसँग जोड्न प्रयास गरेका छौं । सडकसमेत कृषिसँगै जोडेका छौं । आगामी ५ वर्षमा उत्पादन तेब्बर बनाउनेगरी गुरुयोजना बनाएका छौं ।’

मंगला गाउँपालिकाले केन्द्र रहेको बाबियाचौरमा छुट्टै अनुदान दिएर प्राङ्गारिक मल उत्पादन गर्दै आएको पनि छ । बाबियाचौर बजारबाट उत्सर्जन हुने फोहोरबाट कुहिने वस्तु र वनमारासमेतका झारको प्रयोग गरी कृषिप्राङ्गारिक मल उत्पादन गर्ने गरिएको छ । यहाँ उत्पादन हुने बार्षिक ५ हजार केजी मलमध्ये २ हजार ५ सय केजी मल त लुम्ले कृषि अनुसन्धान केन्द्रले लैजाने गरेको छ । कृषकले भने प्रतिकेजी २५ रुपैयाँमा खरिद गर्छन् ।

‘यहाँको प्राङ्गारिक मलले कृषकको माग थेग्नै सकेको छैन । मल उत्पादन गर्ने कच्चापदार्थ अपुग भएकाले छिमेकका तातोपानी र दरबाङ बजारमा पनि कुहिने फोहोर संकलन गरी ल्याउन कृषि मल उद्योगमा संलग्न युवालाई उत्प्रेरित गरिरहेका छौं’ गापा अध्यक्ष रोकाले भने, ‘उत्पादन बढी भएछ भने मलको लेबलिङ र प्याकेजिङ्ग गरी बजार पुर्‍याउन गाउँपालिकाले सहयोग गर्छ ।’

मंगला गाउँपालिकाले हालै मानव मूत्र संकलन सुरु गरे पनि सामाजिक अगुवा महावीर पुनले धेरै वर्षअघि अन्नपूर्ण गाउँपालिका– ८ नागीस्थित हिमाञ्चल माध्यामिक विद्यालयले कम्पोस्ट चर्पी बनाउने अभियान सुरु गरेको थियो । चर्पीमा दिसा–पिसाव गरेपछि पानीको सट्टा झारपात प्रयोग गरिन्छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT