कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोल गाडेको चार वर्षमा बत्ती

नवीन पौडेल

नवलपुर — नगरपालिका घोषणा भएपछि बिजुलीको उज्यालोमा बस्न पाउने देवचुली–६ कीर्तिपुरका स्थानीयको आशा चार वर्षपछि पूरा भएको छ । पोल गाडेर तार टाँगेको चार वर्षमा बल्ल बिजुली आएको हो ।

‘नगरपालिकावासी हो भन्नसमेत लाज लाग्ने अवस्था भएको थियो,’ स्थानीय नवराज रानाले भने, ‘नगरपालिका र नेता देखेर दिक्क लागेको थियो । भोट माग्दा पोल गाड्यौं अब चुनाव जितेको एक महिनाभित्र लाइन जोड्छौं भनेका थिए, पोल ढल्न थालेपछि भए पनि बल्ल लाइन आयो ।’ पूर्व–पश्चिम राजमार्गको दलदलेदेखि झण्डै ७ किमि दूरीमा रहेको कीर्तिपुर गाउँमा करिब १ सय ५० घरधुरी छन् । गाउँमा बिजुली आउने भएपछि गाउँलेले कतिपय पोल बोकेरै पुर्‍याएका थिए । विद्युत् सेवा सुचारु गरिए पनि चार वर्षअघि गाडिएका धेरै पोल बांगिएका र ढलेका छन् । कतिपय पोल खोलाले बगाएको छ ।


विद्युत् कार्यालय कावासोतीले ट्रान्सफर्मर अभावका कारण लाइन जोड्न ढिला भएको जनाएको छ । ढिलै भए पनि बिजुली आएपछि गाउँले खुसी छन् । गाउँमा बिजुली आएपछि कुटानीपिसानी र सामान्य विद्युतीय कामका लागि दलदले बजार जानुपर्ने बाध्यता हटेको छ । बिजुली नहुँदा केही परिवारले सोलार बत्ती राखेका थिए भने अधिकांश परिवार टुकीको भरमा थिए । देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले लगातारको दबाबले मात्रै बिजुली आएको बताए । ‘विद्युत् सेवा नभएकाले नगरवासी भन्नै लाज मान्नुपर्ने अवस्था अब हट्यो,’ उनले भने, ‘अब ढलेका पोल मर्मत गर्दै सबैका घरमा बत्ती पुग्ने व्यवस्था गर्नुपर्छ ।’


बल्ल विद्युत् सेवा विस्तार भइरहेको नगर क्षेत्रमा अझै शिक्षा, स्वास्थ्य र सडकलगायतका आधारभूत सुविधा पर्याप्त छैन । ‘नगरपालिका घोषणा हुँदा गाउँमा विकासको मूल नै फुट्छ भन्ने सोचेका थियौं तर चार वर्ष बितिसक्दा समेत गाउँको मुहार फेरिएन’, स्थानीय दिनेश मगरले भने । नगरपालिका घोषणा गर्न बजारका नेताले जनसंख्या र भूगोल पुर्‍याउनका लागि हामीलाई समेत मिसाए, विकास हुने आशा जगाए तर अहिलेसम्म केही फरक महसुस गर्न पाइएन, उनले भने ।


गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन हुने विद्यालय छ । कक्षा ६ पढ्नका लागि करिब २ घण्टा हिँडेर दलदले आइपुग्नु पर्ने बाध्यता छ । पूर्वाधारबिनाको घोषणाले ग्रामीण बस्तीमा करको दायरा मात्र बढेको स्थानीयले महसुस गरेका छन् । कर मात्र लिने तर सुविधा नदिने भएपछि नगरपालिका भएको महसुस गर्न नसकेको स्थानीयको गुनासो छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?