१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विद्यालयमा भूकम्पमापन यन्त्र

लालप्रसाद शर्मा

(पोखरा) — २०७२ को महाभूकम्पले निजी आवासका साथै थुप्रै विद्यालय भत्किए । शनिबारको दिन भएकाले विद्यालयमा मानवीय क्षति भने हुन पाएन । भूकम्पबाट हुने सम्भावित जोखिम र जोगिने उपाय अवलम्बन गर्नुपर्ने शिक्षा भने त्यो भूकम्पले दियो । भूकम्पीय शिक्षाबारे विद्यालय शिक्षाको पाठ्यक्रममै समावेश गर्नुपर्ने आवाज पनि उठिरहेको छ । 

विद्यार्थी, विद्यालय र समुदायलाई समेत भूकम्पबाट सुरक्षित बनाउने उद्देश्यसाथ चितवनसहित गण्डकी र प्रदेश ५ का २३ विद्यालयमा भूकम्पमापन यन्त्र राखिने भएको छ । विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम, नेपालले स्विजरल्यान्डको लुजान विश्वविद्यालयको सहयोगमा यन्त्र जडानको तयारी गरेको हो । विद्यालयमा भूकम्पमापन यन्त्र जडान मुलुकमै पहिलोपटक हुन लागेको हो ।


कार्यक्रमले एक वर्षअघि नै बागलुङको गलकोटस्थित एकता सेकेन्डरी स्कुलमा यन्त्र जडान गरेर परीक्षण गरिरहेको छ । परीक्षण सफल भएर हौसिएको कार्यक्रमले वैशाख महिनाभित्र विद्यालयमा यन्त्र जडान गर्न लागेको हो । कार्यक्रमका अध्यक्ष शिव सुवेदीका अनुसार यन्त्रले ४ रेक्टर तलका भूकम्पको पनि मापन गर्नेछ । साथै इपिसेन्टर, दूरी, गहिराइ र दूरीको म्याग्नेच्युड पनि पत्ता लगाउनेछ ।


'भूकम्प शिक्षामार्फत प्रतिरोधी समाजको निर्माण गर्ने उद्देश्यसाथ यन्त्र जडानमा लागेका हौं,' उनले भने, 'विभिन्न देशमा यो सफल भएको अनुभवले यहाँ पनि गर्न लागेका हौं ।' एउटा यन्त्र जडानका लागि एक लाख रुपैयाँ लाग्ने र गलकोटमा राखिएको यन्त्रले एक वर्षको अवधिमा साना-ठूला ४० भन्दा बढी भूकम्पका कम्पन मापन गरिसकेको उनले बताए । यन्त्र सरकारसँग समन्वय गरी जडान गर्न लागिएको हो । बुटवलस्थित न्यू होराइजन स्कुलका पि्रन्सिपल लोकनाथ उपाध्यायले यन्त्र जडानपछि भूकम्पबाट जोगिन सकिने बताए । साथै क्षति न्यूनीकरणमा यसले ठूलो सहयोग मिल्ने विश्वास पनि उनको छ । 'अहिलेसम्म काठमाडौंमा मात्र यस्ता यन्त्र छन्,' उनले भने, 'विद्यालयस्तरमै यन्त्र जडानले भूकम्पबारे सचेत गराउन सकिनेछ ।' पूर्वसचेतनामा पनि यसले भूमिका खेल्ने उनको भनाइ छ । कार्यक्रमले यन्त्र जडान हुने विद्यालयका विज्ञान, सामाजिक, कम्प्युटर शिक्षक र पि्रन्सिपललाई पोखरामा बोलाएर मंगलबार र बुधबार भूकम्पसम्बन्धी आवश्यक जानकारी दिन कार्याशालाको आयोजना गरेको छ ।


भूकम्पीय शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपाली सापेक्षता र विशेषतामा रहेर काम गर्नुपर्नेमा जोड दिए । 'भूकम्पबाट कसरी जोगिने भन्नेमै केन्दि्रत हुनुपर्छ,' उनले भने, 'इतिहासमा सुनेका बेला प्रत्यक्ष अनुभव पनि लिन पाएका छौं । यसबाट पाठ सिकेर जोखिम न्यूनीकरण र सुरक्षित हुनुपर्नेमा जोड दिनुपर्छ ।' विद्यालयले विद्यार्थीसँगै समुदायमा पनि भूकम्पबारे सचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ४, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?