कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक काम, एक सीप

स्याङ्जा — युवा जनशक्तिलाई स्थानीय स्तरमा रोजगारीको अवसर वृद्धि गर्न पुतलीबजार नगरपालिकाले एक काम एक सीप अवधारणा अघि सारेको छ । रोजगारीको खोजीमा जनशक्ति बाहिरिनु र नगरको पैसा अन्यत्र जान थालेको भन्दै यस्तो अवधारणा अघि सारिएको हो । 

पुतलीबजारको इकाइ केन्द्रको सहकार्य नगर कार्यपालिकाको आयोजनामा मंगलबार युवाका लागि डकर्मी तालिमको सुरुवात गर्दै नगरप्रमुख सीमा क्षत्रीले युवा विदेश पलायन हुनुपर्ने समस्याको अन्त्य गर्नका लागि यस्ता कार्यक्रम अगाडि सारिएको बताइन् । उनले युवालाई रोजगारी दिने नगर कार्यपालिकाको उद्देश्यसमेत रहेको बताएकी थिइन् । 'युवालाई बाँच्न सक्ने आधार हामीले दिनुपर्छ,' उनले भनिन्, 'विदेश नजाऊ भन्ने तर रोजगारी नदिने गरेर पनि भएन । रोजगारीका लागि सबै दक्ष र सक्षम हुनुपर्छ । दक्ष बनाउने हेतुले नै एक काम एक सीप कार्यक्रमको अवधारणा ल्याएका हौं ।' उनले मंगलबार मात्रै ४० जनाको सहभागिता रहेको बताइन् । सहभागीमध्ये ४ जना महिला छन् । एक महिलाको उमेर भने १९ छ ।


तालिममा इन्जिनियर निरज सापकोटा, सन्तोष थापा, सविन श्रेष्ठ र खगेन्द्र ढकालले सहजीकरण गर्नेछन् । फिल्डमा खटिएर काम गराइने आयोजकले जनाएको छ । तालिममा लेबरलाई अदक्ष, मिस्त्रीलाई दक्षको भागबन्डा लगाइएको छ । यसैगरी व्यवस्थापकीय जिम्मेवारी सुपरभाइजरले समाल्नेछन् । तालिममा सहभागी दैनिक खाजासँगै ७ सय ५० रुपैयाँ अदक्षलाई र ९ सय ५० रुपैयाँ दक्षलाई दिइने इन्जिनियर सन्तोष थापाले बताए ।


सुपरभाइजरलाई भने काम अनुसार भत्ता उपलब्ध गराइने कार्यपालिकाले जनाएको छ । १५ दिनदेखि १ महिनासम्म फिल्डमा खटिने नगरप्रमुख क्षत्रीले बताइन् । उनका अनुसार कामदारलाई प्रेक्टिकल गराउँदा नगरपालिकाले बनाउन लागेको फोहोर सफाइ केन्द्रको बाहिरी संरचना निर्माण गरिनेछ । पुतलीबजार-४ का वडाध्यक्ष ओमबहादुर खड्काले स्थानीय युवा डकर्मी कार्यमा दक्ष भएमा विकास निर्माणका लागि छुट्याइएको बजेटको कुल रकममध्ये ५० प्रतिशत रकम बचत हुने बताए । 'बाहिरबाट आउने मान्छेलाई काम दिँदा यस क्षेत्रको रकम पनि बाहिर जान्छ र आधा प्रतिशत ठेक्का नोक्सान हुन्छ' उनले भने, 'नगरबाट वडामा गएको रकम वडाका युवाले नै काम गरिदिएमा वडाभित्र नै हुने थियो । युवालाई रोजगारी हुने थियो भने जुन ठाउँका लागि विनियोजित भएको पैसा थियो त्यो त्यहीं रहने थियो ।'


उनले यसरी स्थानीय युवाले काम गरेमा बचत भएको रकम उपभोक्ता समितिमा राखेर अन्य क्षेत्रमा पनि काम गर्न सकिने बताए । पुतलीबजार नगरपालिकाले तालिममा सहभागीलाई सर्टिफिकेट हस्तान्तरण गर्नेछ ।

प्रकाशित : वैशाख ४, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?