कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नदीको दोहन रोक्न चुनौती

पर्वत — नदीजन्य पदार्थ उत्खननको ठेक्का स्थानीय तहका लागि आन्तरिक आम्दानीको प्रमुख स्रोत हो । यसको समुचित व्यवस्थापन हुन नसक्दा हुने अनधिकृत गतिविधि रोक्न प्रहरीलाई चुनौती छ । 

जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले अनधिकृत गतिविधि रोक्न ठूलो चुनौती देखिएको बताएका हुन् । पर्वतमै प्रहरी निरीक्षकको जिम्मेवारीमा पनि काम गरिसकेका उनले मंगलबार प्रहरीलाई पर्ने सबैभन्दा बढी समस्या र टाउको दुखाइको विषय 'नदी दोहन' भएको दाबी गरे ।


नवआगन्तुक डीएसपी र सञ्चारकर्मीबीच हुने नियमित परिचयात्मक कार्यक्रममा बोल्दै उनले अरू गम्भीर तथा संगठित अपराध नभए पनि पर्वतमा नदी दोहन, लागूपदार्थ ओसारपसार, महिला, बालबालिका र ट्राफिक व्यवस्थापन मुख्य चुनौती भएको बताए । 'हामीले गर्ने हजार काम हुन्छन्,' उनले भने, 'तर, यहाँको सबैभन्दा ठूलो चुनौती नदी दोहन छ । एउटाले अनुमति दिन्छ, एउटाले कार्यान्वयन गर्छ । हामी बीचमा पर्छौं ।' उनले यस्ता विषयलाई समेत कानुनको परिधिभित्र बसेर समाधानको प्रयासमा जुट्ने प्रतिज्ञा गरे । पर्वतमा सञ्चालित मध्यपहाडी लोकमार्ग, निर्माणाधीन जलविद्युत्, कालीगण्डकी लोकमार्ग, कालीगण्डकी र मोदी प्रसारण करिडोरलगायतका ठूला आयोजनाको सुरक्षाको जिम्मा पनि प्रहरीलाई छ ।


त्यसबाहेक पछिल्लो समय धौलागिरिको नाकाको प्रवेशद्वार हुँदै गुड्ने सवारीको चाप बढदा ट्राफिक व्यवस्थापन पनि चुनौती बन्दै गएको छ । सबै चुनौती सामना गर्न सीमित प्रहरी र ट्राफिकको दरबन्दी छ । आफू प्रहरी निरीक्ष्ाक भएर बस्दा जिल्लाको धेरै विषयमा जानकार रहेको भन्दै प्रहरी नायब उपरीक्षक अर्यालले समस्या समाधान गर्न प्रहरी कहिल्यै पछि नहटेको र त्यसका लागि सञ्चार क्षेत्रको सहयोग आवश्यक रहेको बताए । अन्तरक्रियामा सञ्चारकर्मीले जिल्लामा नदीजन्य पदार्थ र बग्रेल्ती खुलेका क्रसर, तिनले गरेका अनियमितता, ठूला आयोजनाका बेथितिलगायतमा निगरानी बढाउन आग्रह गरे । निर्माणाधीन मध्यपहाडी लोकमार्गको कन्ट्याक्टर लामा कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसरले अन्यत्र सामान बिक्री गरिरहेकाले त्यसको खोजतलास हुनुपर्ने पत्रकार महासंघका अध्यक्ष्ा छविलाल तिवारीले बताए ।


आयोजनाकै प्रयोजनका लागि मात्र सञ्चालित क्रसरले व्यक्ति तथा अन्य आयोजनालाई गिटी, बालुवा बिक्री गर्दा पनि प्रशासनले छानबिनमा चासो नदिएको सञ्चारकर्मीको गुनासो छ । बजारक्षेत्रमा हुने चोरी र लुटपाटका घटना नियन्त्रण गर्न जडित सीसी क्यामेरा बिगि्रएको प्रति सञ्चारकर्मीले चासो राखे । विष्णु गौतमले महिला तथा बालबालिकाको मुद्दामा प्रहरी गम्भीर हुनुपर्ने बताइन् । पत्रकार महासंघका पूर्वअध्यक्ष्ा दुर्गाप्रसाद शर्माले प्रहरीभित्रै भएका केही आचरण सुधार गर्नुपर्ने बताए ।


प्रकाशित : वैशाख ४, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?