कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सामुदायिक विद्यालय : सजिलो छैन भर्ना

नयाँ विद्यार्थीको चाप बढेपछि सत्यवती माविले प्रवेशपरीक्षा लिएर छनोट गर्दै 
अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने विद्यालयमा आकर्षण बढी
प्रताप रानामगर

दमौली — नयाँ शैक्षिक सत्र सुरु हुनासाथ कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पुर्‍याउनै चिन्ता छ । कतिपय विद्यालयलाई भने भर्ना हुन आउनेको चाप थेगिनसक्नु भएको छ । चाप थेग्नै गाह्रो परेमध्येको यहाँको अग्रणी हो दमौलीको सत्यवती मावि । यसपटक मात्रै होइन यहाँ बर्सेनि भर्ना अभियानमा विद्यार्थी र अभिभावकको भीड लाग्ने गरेको छ ।

भर्ना हुन आउने नयाँ विद्यार्थीको चाप बढेपछि सत्यवतीले प्रवेश परीक्षा लिने गरेको छ । उक्त परीक्षा उत्तीर्ण हुने विद्यार्थीले मात्र भर्ना हुन पाउने व्यवस्था गरिएको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । ‘आवश्यक सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना हुन आए,’ उनले भने, ‘सबैलाई समान व्यवहारका लागि प्रवेश परीक्षा लिएका हौं ।’ चालु शैक्षिक सत्रका लागि ४ देखि ९ कक्षासम्म करिब तीन सय नयाँ विद्यार्थी भर्ना लिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको छ ।


पाँच सयजनाभन्दा बढी भर्नाका लागि प्रवेश परीक्षामा सहभागी भएका छन् । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थी सत्यवतीमा भर्ना हुन पाउँछन् । भने उत्तीर्ण नहुने विद्यार्थी अवसरबाट वञ्चित हुन्छन् । नयाँका लागि मात्र सिट संख्या छुट्याएको उनले बताए । विद्यालयमा अध्ययरत विद्यार्थी त स्वतः भर्ना हुन पाउँछन् । सबै विद्यार्थीलाई राख्ने क्षमता पनि हुनु पर्‍यो । विद्यार्थी संख्या मात्र वृद्धि गरेर भएन । विद्यालयको पूर्वधारलाई पनि ध्यान दिनुपर्छ । पूर्वधार, जनशक्ति र शैक्षिक गुणस्तरमा ध्यान दिनुपरेकाले नयाँ भर्नाका लागि कोटा छुट्टाएको हो ।


विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा कक्षा संचालन हुन्छ । विज्ञान र प्रविधि शिक्षाले पनि विद्यार्थी आकर्षण भएको छ । त्यति मात्र नभई विद्यालयको पूर्वधार, वातावरणमैक्री, सिकाइ त्रियाकलाप, विज्ञान प्रविधि र विद्यालयको व्यवस्थापन राम्रो भएकाले सत्यवती विद्यार्थी र पहिलो अभिभावकको रोजाइ बनेको छ ।


शैक्षिक गुणस्तर अभिवृद्धि गर्न यस वर्षमा कक्षामा विद्यार्थी संख्या घटाउने समितिले निर्णय गरेको छ । अघिल्लो वर्ष सम्म एउटा कक्षामा ४५ जना सम्म विद्यार्थी राखिएको थियो । तर, यस वर्ष ४० जना मात्र विद्यार्थी राख्ने उनले बताए । कक्षामा व्यवस्थापन गरी विद्यार्थी केन्द्रित शिक्षाका लागि कक्षामा विद्यार्थी संख्या कम गरेका हौं ।


चार पटकसम्म पश्चिमाञ्चलमा सत्यवती विद्यालय प्रथम भएपछि विद्यार्थी चाप बढ्ने गरेको उनले बताए । २०५७, ०६६, ६७ र ०७० सालमा यस क्षेत्रको प्रथम भयो । यसै क्षेत्रको नमुना विद्यालय बनेपछि विद्यार्थीको चाप थेग्न नसेको हो । सत्यवती मावि यस वर्ष पनि नमुना विद्यालयको रूपमा छनोट भएको छ । विद्यालय पूर्वधार, शैक्षिक सुधार, सिकाइ उपलब्धिलगायत विषयलाई समावेश गरी पाँच वर्षीय गुरुयोजना विद्यालयले निर्माण गरेको छ ।


यता खैरेनी माविमा पनि नयाँ भर्ना गर्ने विद्यार्थीको संख्या बढी छ । खैरेनी मावि एउटा कक्षामा ३५ जनासम्म विद्यार्थी भर्ना गरिएको प्रधानाध्यपाक केशवराज घिमिरेले बताए । ‘विद्यालयको सेवा क्षेत्रका विद्यार्थीलाई भर्ना अनिवार्य गरेका छौं, उनले भने, ‘तर सिट संख्यामा पनि ख्याल गरेका छौं ।’ विद्यार्थी संख्या वृद्धि भएकाले कक्षा पाँचदेखि नौसम्म एउटै कक्षामा दुई र तीनवटा सेक्सन छुट्याएको उनले बताए ।


शैक्षिक गुणस्तर कायम गरेपछि सामुदायिक विद्यालयप्रति अभिभाकको मन जितेका छौं । विद्यालयको पूर्वधार विकास, शैक्षिक गुणस्तर र स्कुल बसले पनि विद्यार्थी आकर्षित गरेको उनले बताए । मीरा काष्ट प्रविधिमा पठनपाठन, स्मार्ट बोर्डको व्यवस्था छ । कम्प्युटर ल्याब, कक्षाभित्र पिउने पानी व्यवस्था, निःशुल्क सेनेटरी प्याडको व्यवस्था र जिल्लाको अग्रणी विद्यालय भएकाले अभिभावक र विद्यार्थीको रोजाइ बनेको हो ।


विद्यालयको क्षमताअनुसार भर्ना विद्यार्थी भर्ना गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारीले शंकर बरालले बताए ।‘ शिक्षाबाट विद्यार्थी कोही पनि वञ्चित हुन भएन, उनले भने, विद्यालय भर्ना हुन आएका विद्यार्थीलाई भर्ना गर्नुपर्छ ।’ तर, विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भर्ना गर्न सम्भव छैन । त्यसमा विद्यालयले व्यवस्थाफन गर्ने हो ।

प्रकाशित : वैशाख ५, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?