कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यार्थी खोज्दै घरदैलो

व्यास नगरपालिकाबाट विद्यार्थीलाई खाजा, पोसाक र पुस्तकको सुविधा ल ग्रामीण भेगका विद्यालयमा टिक्दैनन् बालबालिका

तनहुँ — भर्ना अभियान सञ्चालनसँगै व्यास नगरपालिकाले विद्यार्थीलाई विद्यालयमा नियमित गराउनुका साथै कक्षामा टिकाइराख्न दिवा खाजा र छाक्रवृत्ति कार्यत्रम अगाडि बढाएको छ । आर्थिकरूपले सबल परिवारका बालबालिकालाई विद्यालय आउजाउमा समस्या छैन ।

विद्यार्थी खोज्दै घरदैलो

विपन्न परिवारका बालबालिकाले बीचैमा कक्षा छाड्ने गरेका छन् । उनीहरूलाई विद्यालयमा टिकाउन दिवा खाजा र पोसाकदेखि लिएर शैक्षिक सामग्रीको व्यवस्था गरी भर्ना अभियान सञ्चालन भइरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख अम्बिकाप्रसाद आचार्यले बताए ।


‘स्थान विशेषअनुसार यो कार्यक्रम प्रभावकारी हुने बुझाइ शिक्षक र विद्यालय व्यवस्थापन समितिको छ,’ उनले भने, ‘कक्षा १ देखि ८ सम्म दलित परिवारका बालबालिकालाई मासिक चार सय, कक्षा ९ र १० का लागि पाँच सय रुपैयाँ बराबर छात्रवृत्तिको व्यवस्था गरेका छौं । अपांगता भएका र विपन्न समुदायका बालबालिकाका लागि कोटा र अवस्था हेरी छात्रवृत्ति प्रदान गर्ने योजना छ ।’ नगरपालिकाभित्र ८० वटा सामुदायिक विद्यालय छन् । सबैमा वैशाख २ देखि १५ सम्म बालबालिकालाई मुस्कानसहित भर्ना, पाठ्यपुस्तकसहित विद्यालयमा स्वागत गरी निःशुल्क तथा अनिवार्य शिक्षा प्रदान गर्ने कार्यक्रम रहेको उनले बताए ।


वैशाख १५ देखि मसान्तसम्म लक्षित समूहलाई केन्द्रित गरी घरदैलो अभियान सञ्चालन गर्ने, विपन्नताका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई आवश्यक समाग्रीसहित सहयोग गर्न इच्छुक संघसंस्था, सम्बन्धित वडाको सहयोगमा विद्यालय भर्ना गर्ने कार्यक्रम अगाडि ल्याइएको जानकारी उनले दिए ।


त्यस्तै, विभिन्न सञ्चार माध्यमको प्रयोग गरी विद्यार्थी भर्ना अभियानसम्बन्धी गीत, कविता, लेख, रचना र सूचना तथा सन्देश सम्प्रेषण गर्ने, चार वर्ष उमेर पूरा भएका बालबालिकालाई बालविकास केन्द्रमा भर्ना गराउने अभियान नगरपालिकाले अगाडि ल्याएको छ ।


यस्ता विभिन्न कार्यक्रमका साथ विद्यालयमा विद्यार्थी टिकाई राख्नका लागि शैक्षिक गुणस्तर, शिक्षक हुन सरकारले तोके अनुसारको मापदण्ड पार गरी आएका अनुभवी शिक्षक, वातावरण, प्राविधिक शिक्षा, विज्ञान प्रयोगशाला, आईसीटीमैत्री विद्यालय, पुस्तकालय, आवश्यक शैक्षिक सामग्री व्यवस्थापनमा पनि नगरपालिका लागिपरेको छ ।


पछिल्लो समयमा सहरका सामुदायिक विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीको संख्या हातै बढे पनि ग्रामीण क्षेत्रका विद्यालय दयनीय अवस्थामा पुगेका छन् । विद्यार्थीको संख्या न्यून भएका विद्यालयहरूलाई नजिकका विद्यालयसँग समायोजन गर्ने कार्य पनि नगरपालिकाले अगाडि बढाएको छ । तनहुँका १० वटै स्थानीय तहका शिक्षा शाखाले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेका छन् ।


प्राविधिकधारका विषयवस्तु तथा अंग्रेजी र नेपाली माध्यममा पठनपाठन हुने तनहुँका सामुदायिक विद्यालयमा नयाँ भर्ना हुनका लागि विद्यार्थीले प्रवेश परीक्षा नै दिनुपर्ने अवस्था आएको छ । तर, ग्रामीण भेगका सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समिति भने विद्यार्थी खोज्दै घरदैलो अभियानमा जुटिरहेका छन् ।


– सम्झना रसाइली (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ६, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?