१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नमुना सहरमा असारदेखि बिजुली

प्रकाश बराल

बागलुङ — नमुना सहरमा सूचीकृत भएर तीन वर्षदेखि काम सुरु भएको बुर्तिबाङमा चालु वर्ष बिजुली पुर्‍याउने तयारी भएको छ । वर्षौंदेखि लघुजलविद्युत्को भरमा रहेको बागलुङको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन काम सुरु भएको हो ।

सदरमुकामदेखि ५० किमि पश्चिमको गलकोटसम्म मात्र राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । सदरमुकामबाट बुर्तिबाङ ९३ किमि पश्चिममा पर्छ ।


प्रसारण लाइन बुर्तिबाङ हुँदै ढोरपाटनसम्म पुर्‍याउन सबस्टेसन निर्माणको काम सुरु भएको विद्युत् प्राधिकरणको बागलुङ वितरण केन्द्रका प्रमुख कपिल पाण्डेले बताए । बुर्तिबाङको रिनाममा १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।


जग्गा प्राप्तिपछि वितरण प्रणाली सुदृढीकरण आयोजनाले काम थालेको हो । सदरमुकामदेखि ढोरपाटनसम्म १ सय २६ र निसीको भलकोटसम्म १ सय ४२ किमि दूरी पर्छ । लामो दूरीमा सोझै बिजुली लैजान नसकिने भएकाले सबस्टेसन निर्माणको काम पनि सँगसँगै थालिएको हो ।


हरिचौरमा निर्माणाधीन सबस्टेसन चालु वर्षभित्रै तयार पार्ने र बुर्तिबाङसम्म लाइन विस्तार गरिने उनले बताए । बुर्तिबाङको सबस्टेसन भने केही वर्षभित्र बन्नेछ । बुर्तिबाङको सबस्टेसन बनिसकेपछि भलकोटसम्म सहजै बिजुली लैजान सकिनेछ । सदरमुकामदेखि तार तान्दा ६० किमिभन्दा टाढा पर्छ । लामो दूरी बीच सबस्टेसन आवश्यक भएकाले हरिचौर सबस्टेसनबाट तान्ने व्यवस्था मिलाइएको पाण्डेले बताए । हरिचौरमा ११ केभीएको सबस्टेसनको निर्माण सम्पन्न हुने क्रममा छ । यो स्टेसन निर्माण पुरा भएपछि लघु जलविद्युत्कै भरमा बसेका दुदिलाभाटीसहित मल्म र काँडेवासमा पनि विद्युतीकरण गरिनेछ ।


ढोरपाटन नगरपालिकाले सबस्टेसनका लागि जग्गा र नगरभित्रको विद्युतीकरणमा साझेदारी गर्ने भएपछि काम सुरु भएको हो । असारसम्म बुर्तिबाङसम्म ४ सयवटा पोल गाडेर तार तानेपछि बजारभित्रको काममा नगरपालिकाले काम गर्ने नगरप्रमुख देवकुमार नेपालीले बताए । ‘पूरै काम भ्याउने बजेट त हामी सक्दैनौं तर प्रारम्भिक प्रकारको काममा सहयोग गर्ने भनेका छौं,’ उनले भने, ‘विद्युत् प्राधिकरणसँग कुरा भएकाले छिटै काम हुने आशा गरिएको छ ।’ व्यवसायीहरू पलायन हुन थालेपछि विद्युतीकरणको प्रयास थालिएकोमा प्राधिकरणले साथ दिएको उनले बताए । बुर्तिबाङमा पनि बढीमा दुई वर्षभित्र सबस्टेसन बनाइसक्ने लक्ष्य रहेको नगरप्रमुख नेपालीले बताए ।


मध्यपहाडी लोकमार्गको छेउका देशभरका १० सहरलाई स्मार्ट बनाउनेमा बुर्तिबाङ पनि सूचीकृत छ । त्यसका लागि पनि विद्युत्, उद्योग र आकर्षक होटल आवश्यक छ । नयाँ सहरी आयोजनाले पनि यहाँ उद्योग, पर्यटन, कृषि र स्मार्ट सिटीको अवधारणामा काम गरिहरको छ । त्यसका लागि विद्युत् अभावले धेरै अप्ठ्यारो परेको प्राविधिक बताउँछन् । होटलसहित उद्योग सञ्चालनमा विद्युत् अभाव भएपछि लगानीकर्ता फिर्ता हुन थालेकाले नगरको विकासकै लागि यो पहल भएको नेपालीले बताए ।


बागलुङको ढोरपाटनमा जलायशयुक्त उत्तरगंगा जलविद्युत् आयोजना निर्माण भएमा पश्चिम क्षेत्रको विकासमा योगदान पुग्ने स्थानीय व्यवसायीले बताए । जलाशययुक्त आयोजना बनाउँदा ८ सय २८ मेगावाट क्षमताको बिजुली उत्पादन हुन्छ । केन्द्रकै अगुवाइमा सदरमुकाममा नांगो तार हटाउने काम सुरु भएको छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?