१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पर्यटक बोलाउँदै धार्चे

गोरखा — पाहुना बोलाउन उत्तरी गोरखाको धार्चे गाउँपालिकाले पूर्वाधारको विकास योजनासँगै पर्यटकीय क्षेत्रको प्रचारका योजना अघि बढाएको छ । दुईवटा पदमार्गको विकाससँगै भाषा, कला संस्कृति र प्राकृतिक सौन्दर्यलाई प्रचार गरेर पर्यटक आकर्षित गर्न वृत्तचित्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । 

‘सुरक्षित धार्चे सुन्दर धार्चे’ नाम दिइएको २६ मिनेट अवधिको वृत्तचित्र आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘हामीले विकासका योजना अघि बढाउँदै पर्यटकलाई आफ्नो ठाउँमा बोलाउनु छ,’ उनले भने, ‘वृत्तचित्रमा अहिलेसम्म भएका विकास निर्माणका प्रगति, कल्चर, ऐतिहासिक धार्मिक तथा प्राकृतिक महत्त्वका विषयहरू समेटेका छौं ।’


वृत्तचित्रले पर्यटक आगमनको दर बढाउन सघाउने विश्वास लिइएको उनले बताए । वृत्तचित्र निर्माणसँगै धार्चे क्षेत्रको प्रत्येक गाउँको सम्पदा र जनजीवन झल्कने फोटो प्रदर्शनी पनि गरिएको छ । गएको वर्ष ‘इपिसेन्टर ट्रेल’ नाम दिइएको पदमार्गको घोषणा भएको थियो । भूकम्पको केन्द्रविन्दु वारपाकबाट धार्चेको लाप्राक–गुम्दा–माछाखोलासम्मको पदमार्गलाई इपिसेन्टर ट्रेल नाम दिइएको थियो । उक्त पदमार्गमा पर्यटक भित्र्याउन प्रचारप्रसारमा जोड दिइएको अध्यक्ष गुरुङले बताए ।


उक्त मार्गको पदयात्रा दूरी चार दिनको छ । काठमाडौं, पोखरा र गोरखा सदरमुकामबाट बारपाक पुगेर बास बसेका पर्यटक दोस्रो दिन गैरआवासीय नेपाली संघ एनआरएनएले बनाएको लाप्राकको एकीकृत नमुना बस्तीमा बास बसेर तेस्रो दिन गुम्दा हुँदै माछाखोला झरेर आरूघाट हुँदै फर्कने सक्ने गरी पदमार्गका रूपमा विकास गरिएको छ ।


लाप्राकका गाउँले नमुना बस्तीमा सरेसँगै कम्युनिटी होमस्टे बनाउन स्थानीयलाई जागरुक बनाउने योजना गाउँपालिकाको छ । ‘आन्तरिक तथा वाह्य पर्यटक भित्राउन जोड दिएका छौं,’ उनले भने । गणेश हिमालसम्म पुग्ने अर्को पर्यटन पदमार्ग विकासका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २० लाख रुपैयाँ छुट्टाएको छ । ‘गणेश हिमालसम्म पुग्ने पदमार्गको पदयात्रा दूरी सात दिनको हुनेछ,’ गुरुङले भने, ‘केही दिनअघि प्राविधिकहरूले त्यो पदमार्गको स्थलग निरीक्षण पनि गरेका छन्, अब एक हप्तामा रिपोर्ट पनि आउँछ ।’

प्रकाशित : वैशाख ६, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?