अघि बढेन आँधीखोला पुल निर्माण

प्रतीक्षा काफ्ले

स्याङ्जा — सम्झौताअनुसार चार वर्षअघि नै पुल हस्तान्तरण हुनुपर्ने हो । सिरुबारी होमस्टे गाउँ पुग्ने मार्गको आँधीखोलामाथिको मोटरेबल पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । पाँच वर्षअघि निर्माण सुरु भएको पुलको काम रोकिएको तीन वर्ष भइसक्यो ।

आँधीखोला गाउँपालिकाको पहलमा पुनः म्याद थप गरी गत वर्षदेखि सुचारु गरिएको थियो । १० प्रतिशत मात्रै काम भएको पुलका लागि गाउँपालिकाका अध्यक्ष सुधीर पौडेल, ठेकेदार ऋषिराम गौतम र सडक डिभिजन कार्यालय पोखराबीच म्याद थपसँगै ठेक्काको बजेट बढाउने सम्झौता भएपछि पुनः काम थालिएको थियो ।


हाल निर्माणको डिजाइन मापदण्डविपरीत भइरहेको दाबीविरोधपछि पुनः काम रोकिएको छ । ‘पहिले पनि प्राविधिक र ठेकेदारकै कारण निर्माण रोकिएको थियो,’ स्थानीय शिव लामिछानेले भने, ‘कहिले के मिल्दैन कहिले के । यसपटक पनि मापदण्डअनुसारको फर्माको टेका प्रयोग नगर्दा डिजाइन पास भएन भन्ने छ ।’


आँधीखोलामा निर्माणाधीन पुलले सडकलाई सेतीदोभान बजारसँग जोड्ने छ । म्याद थप गरिएको समयावधिमा पनि निर्माण कार्य नसकिने स्थिति भएपछि गाउँपालिकाको पहलमा मंगलबार पूर्वसभासद गणेशमान गुरुङको नेतृत्वमा स्थानीय, जनप्रतिनिधि र प्रदेश सांसदलगायत पोखराको सडक डिभिजन कार्यालय घेराउ गर्न पुगेको गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बताए । ‘काम भइरहेका बेला चेकजाँच गर्न भनी पोखराबाट इन्जिनियर आएका थिए,’ उनले भने, ‘कम रड किन हालियो भन्दै पुल टिक्दैन भन्दै धमाधम थुतेर फालेपछि काम रोकिएको हो ।’


प्राविधिकले ठेकेदार र ठेकेदारले प्राविधिकलाई आरोप प्रत्यारोप लगाउने गरेपछि काम अघि बढ्न नसकेको उनले बताए । ‘पुल बलियो बन्नुपर्छ भन्नेमा दुईमत छैन तर निर्माण कार्य रोकिनु हुँदैन,’ उनले भने, ‘हामीले सडक डिभिजनलाई ज्ञापनपत्र पनि बुझाएका छौं ।’ यता ठेकेदार गौतमले भने प्राविधिकका कारण पुल बिग्रिएको बताएका छन् ।


‘हामीले पुलको सटिङ गर्ने क्रममा पनि प्राविधिक बोलाएका थियौं,’ उनले भने, ‘बारम्बार पुल हेर्नका लागि आउन बोलाए पनि प्राविधिक कहिल्यै आउने होइनन् । सल्लाह सुझावसमेत दिँदैनन् ।’ यसो त प्राविधिकले पुलको स्टिमेटसमेत ठेकेदारलाई नदिएको आरोप गौतमको छ । अन्तिममा आएर चित्त बुझेन भनेर रड निकाल्दै भत्काएर मात्र समस्या समाधान नहुने उनको भनाइ छ ।


पुल अलपत्र अवस्थामा हुँदा जावतआवतमा समस्या भएको स्थानीयले बताएका छन् । पुलको प्रत्यक्ष रेखदेखको जिम्मा सडक डिभिजनको थियो । हालसम्म निर्माण कार्य ५० प्रतिशत पुगेको छ । डिभिजन कार्यालयका अनुसार २०७१ असोज २६ मा भएको पहिलो ठेक्का सम्झौताअनुसार पुल ०७३ असोज २५ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । निर्माण रोकिएर म्याद गुज्रिएपछि चालु महिनाको अन्त्यसम्म निर्माण सम्पन्न गर्नेगरी गत कात्तिक ६ मा दोस्रो सम्झौता भएको थियो ।


लागत ३ करोड २७ लाख रहने पुलको लम्बाइ ५० र चौडाइ ७ मिटर हुने डिजाइनमा छ । ठेकेदार कम्पनी कान्छाराम आशिष जेभीले २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी लगिसकेको छ । गाउँपालिका अध्यक्ष पौडेलका अनुसार तोकिएको समयमा निर्माण कार्य नगर्दा विगतमा वर्षात्मा पानीको सतह माथि आएकाले ‘सुपर स्ट्रक्चर’ परिवर्तन गर्नुपरेको थियो । गत वर्ष पुलको पुनः डिजाइन गरेर मात्र काम सुरु गरिएको थियो । मापदण्ड अनुसार तोकिएको समयमा निर्माण नहुदाँ लागत बढ्नुका साथै यहाँका स्थानीयसमेत यसबाट प्रभावित बनेका छन् ।


पुल निर्माण नभएकै कारण सिरुबारी पुग्ने पर्यटक बीच बाटोबाटै फर्किने गरेका छन् । स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुको सहज ढुवानीमा समेत समस्या आएको स्थानीयको भनाइ छ । यो पुल बनेमा जिल्लाका उत्तरी भेगका दरौ, पञ्चमूल, आरूचौर, चिलाउनेवास, विचारीचौतारा, फापरथुम र सेतीदोभान साथै पर्वतका केही क्षेत्रका बासिन्दालाई फाइदा पुग्छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?