१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

थातथलोमा देखिए दुरा

देशभरि छरिएका दुरा वार्षिकोत्सव मनाउन तुर्लुङ गाउँमा
तनहुँको तनहुँसुर, सिसाघाट, फराकचौर, राम्चे, चिसापानीमा बसोबास
आश गुरुङ

लमजुङ — चिम्से आँखा, बाटुलो अनुहार, थेप्चे नाक । तन्नेरी जसरी कानले सुन्न र आँखाले देख्ने भेउ पाउन छाडिसके पनि ९३ वर्षीया सोमा 
दुराको बोली अझै टाठै छ । मध्यनेपाल–१० नेटा हाँडीखोलाबाट २ घण्टा लगाएर सुन्दरबजार–११ तुर्लुङ गाउँ चढेकी उनी दुरा भाषा बोल्नेमध्ये औंलामा गन्न सकिने थोरैमा पर्छिन् ।

थातथलोमा देखिए दुरा

दुरा जातिको उद्मस्थलको रूपमा लिइने सिन्दुरे र सिन्दुरेको तुर्लुङकोटमा आउने उनको एउटै मात्र उद्देश्य बालबालिकादेखि वृद्धवृद्धासम्मका दुरा भेट हुन्छन्, अनुभव साटासाट गर्न पाइन्छ भन्ने थियो । दुराहरूले आफ्नो भाषा नबोल्दा उनी खिन्न थिइन् । थातथलोमा आएका अधिकांश दुरा नेपाली भाषा बोल्दै थिए । उनी भन्दै थिइन्, ‘मेरो भाषा लोप भयो । अब थातथलोबाटै भाषा जोगाउने अभियान चलाउनुपर्छ ।’


काठमाडौंको बसुन्धरा बस्दै आएकी ७२ वर्षीया शान्तकुमारी दुरा पनि गाउँ आइन् । सबू ठाउँको दुरा थातथलोमा आउने जानकारी पाएपछि उनी समाजले गरेको बस रिजर्भमा चढेर आएकी हुन् । मकैंस्वाँरा घर भएकी उनको माइती तनहुँको रामथुम्की हो । ‘बाउ माइती आउने भनेपछि म गाउँ आएँ । घर–माइती सबैका भेट भए । दुःख–सुखका कुरा गरियो । भोजभतेर खाइयो, नाचजान गरियो, अनि फर्किएँ ।’


सरकारले अल्पसंख्यक लोपुन्मुख सूचीमा राखेको दुरा समुदाय जहाँतहीं भेट्न सकिँदैन । अनुहार र नाक–मुख हेरेर चिन्ने कुरा पनि भएन । गोलो अनुहार, थेप्चे नाक, गहुँगोरो, हेर्दा र रहनसहनले गुरुङ, मगरजस्तै देखिए पनि दुरा जातिको छुट्टै भाषा, संस्कार–संस्कृति र पहिचान छ । दुराको थातथलो सिन्दुरे हो ।


सिन्दुरेको तुर्लुङ, भाँगु, ठूलस्वाँरालगायत प्रायः सबै बस्तीमा दुरा जातिको बसोबास छ । मूलथलो सिन्दुरेपछि वरपरका गाउँ नेटा, धुसेनी, भोर्लेटार, मकैस्वाँरा, कानेस्वाँरा, बासपानी, कुन्छा, हाँडीखोला, बर्धन, लाङ्दी, सानेस्वाँरा, भदौरे, रामबजारलगायत गाउँमा दुराको बसोबास छ । यी ठाउँ अहिले सुन्दरबजार, मध्यनेपाल तथा बेंसीसहर नगरपालिकामा पर्छ । तनहुँको तनहुँसुर, सिसाघाट, फराकचौर, राम्चे, चिसापानीलगायत ठाउँमा पनि दुराको बसोबास छ ।


लमजुङबाट बसाइँ सरेर उनीहरू पोखरा, काठमाडौं, चितवन पुगे । सैनिक सेवामा लागेर उनीहरू बेलायत, भारत, हङकङसमेत पुगे । दुरा सेवा समाजले २०५४ मा गरेको एक अध्ययनअनुसार देशभरका १२ जिल्लामा दुरा समुदायको बसोबास छ । अहिले १५ भन्दा बढी जिल्लामा दुरा जातिको बसोबास रहेको अनुमान गरिएको छ ।


देशका विभिन्न ठाउँमा छरिएर रहेका उनीहरू केही दिनअघि थातथलोमा जम्मा भए । दुरा सेवा समाजको २६ औं वार्षिकोत्सव मनाउन उनीहरू तुर्लुङ आएका हुन् । दुरा जातिका अनुसन्धानकर्ता यमबहादुर दुराका अनुसार वार्षिकोत्सव मनाउन थातथलो आउने गरिएको छ । यसै अवसरमा दुरा समुदायले एक–आपसमा शुभकामना आदानप्रदान गरे । आफ्ना नातागोता, इष्टमित्रलाई भेटे ।


संघका संस्थापकमध्येका एक किशोर दुराका अनुसार आफ्नो थातथलोमा जम्मा हुन तनहुँ, पोखरा, चितवन, नवलपरासी, काठमाडौं, ललितपुर लगायत ठाउँबाट आए । तुर्लुङ कालिकाको दर्शन गरे, गाउँमाथिको कोटमा बसेर गाउँ नियाले । छेलो र फुटबल प्रतियोगिता हेरेर रमाए । दिनभरको हिँडाइले एक ठाउँबाट अर्को ठाउँ आउजाउ गर्न गाह्रो हुनेमा अहिले तुर्लुङकोट, भाँगु, ठूलोस्वाँरा, नेटा, हाँडीखोला बर्धन लगायत गाउँसम्म मोटर चढ्न पाउँदा उनीहरूले खुसी साटासाट गरे ।


थातथलो आएका उनीहरूले पहिले र अहिलेका कुरा सम्झिए । प्राकृतिक छटा, धार्मिक तथा ऐतिहासिक महत्त्वका स्थल हेरेर आनन्द लिए । लोकगायिका बिमाकुमारी दुरा, ठाडोभाका गायक बुद्धिमान दुरा (धम्पु), भीम दुरालगायत कलाकार सिन्दुरेकै हुन् । कुनै चाडपर्वझैं उपस्थित कलाकारले गीत गाए, नाचे र रमाइलो गरे । सुन्दरबजार नगरपालिका–११ का अध्यक्ष प्रेमबहादुर दुराका अनुसार चैत्राष्टमीमा तुर्लुङकोटमा भव्य मेला लाग्छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?