दूध–दहीका ग्राहक घरमै

म्याग्दी — मंगला गाउँपालिका–२ ताराखेतमा पर्ने बेनी–दरबाङ सडक किनारमा सानो एक्लो घर छ थमप्रसाद पौडेलको । घरमुनि तीन सुर्का खेत छ, खेतमुनि म्याग्दी नदी । घर छेउमा परम्परागत शैलीको भैंसीगोठ । गोठमा लैना र बकेर्ना गरी ६ भैंसी लस्करै बाँधिएका छन् ।

बाटो माथिपट्टिको सानो छाप्रोमा ब्याउने भैंसी उग्राउँदै छ । पौडेलको निवासको कुँडेमा दैनिक ३० लिटरभन्दा बढी दूध तात्छ । कुनै दिन पनि कुँडेमा दूध बासी रहन्न । दूध र दही बेच्न कहीं लाग्नु पर्दैन । १० लिटर दूधको दही जमाउँछन् । बाँकी दूध नै बेच्छन् । दूध–दही खोज्दै ग्राहक घरमै आउँछन् ।


भैंसीको थुनबाट दुहेको दूध उनले कुँडेमा नखन्याई सोझै ग्राहकको भाँडामा भरिदिन्छन् । दही काठको ठेकोमा राखेरै जमाउँछन् । सस्तो मूल्यमा मीठो र शुद्ध दूध–दही बिक्री गर्ने भएकाले ‘वचन विज्ञापन’ का भरमा पौडेलको गोठ यस क्षेत्रमा ब्रान्डेड भएको छ । बेनी–दरबाङ–ताकम सडकमा चल्ने सवारीका यात्रु उनका स्थायी ग्राहक हुन् । बसका सहचालक पौडेलको गोठ नजिक पुगेपछि चिच्चाउँछन्– ‘दूध–दही किन्ने कोही छ ?’


ग्राहक पनि गज्जबका छन् । कुनै पनि ग्राहक नियमित छैनन् तर निरन्तरता टुटेको छैन । एकपटक यात्रा गरेकाहरू नै पुनः फर्किएर आउने ग्यारेन्टी छैन । तर, यात्रु बोकेका सवारीसाधनको आउजाउ नियमित भएकाले पौडेलले बिक्री नभएर निरास हुनुपरेको छैन । बस, ट्रक, जिप, ट्याक्सी र मोटरसाइकलका यात्रु यहाँ रोकिएर दूध–दही किन्छन् । ‘तपाईले एकपटक यहाँको दूध–दही चाख्नुस्, अर्कोपटकदेखि तपार्इंको गाडी आफैं यहाँ आएर रोकिन्छ,’ बेनी–दरबाङ चल्ने एक जिपका चालकले भने, ‘बजारमा पाउडर र पानी मिसाएको दूध–दही खाएका यात्रुलाई यहाँको स्वाद जिब्रोको टुप्पोमै झुन्डिन्छ ।’


दूध–दही बेचेरै पौडेलले खर्च कटाएर मासिक कम्तीमा २० हजार र तरकारी बेचेर २५ हजार रुपैयाँ कमाउँछन् । यही कमाइले एउटा छोरालाई काठमाडौंमा राखेर कलेज पढाउँदैछन् । तीनवटी छोरी पनि पढ्दै छन् । छोराछोरीले पनि साँझ–बिहान बाबुआमाको गोठको काममा सहयोग गरेका छन् । ‘झरी–बादल, चाडपर्व, मेलाजात्रा नभनी घाँस काट्ने, भकारो सोहोर्ने, कुँडो, घाँस र पानीले भैंसी स्याहार्दै दिन बित्छ । साँझ लखतरान भएको बेला खनखनी पैसा हातमा पर्दा सबै दुःख बिर्सिंदो रहेछ,’ पौडेलले भने, ‘गोठमा जन्मे हुर्केको र गोबर लत्पतिएको गरिब किसानको छोरो डाक्टर बनाउने धोको छ ।’


१५ वर्षअघि खेत चिरेर बेनी–दरबाङ सडकले ट्रयाक खोलेपछि भविष्य खोज्न उनी माथि पाखाको घरबाट एउटा बकेर्नो भैंसी डोर्‍याउँदै लालाबाला अघि लगाएर बाटो छेउमा झरेका हुन् । पौरखी पौडेल दम्पतीले भैंसीको गोबर हालेर ४ रोपनी क्षेत्रफलको खेतमा ताजा तरकारी खेती सुरु गरे । बारीमा उत्पादन भएको तरकारी एक घण्टा तलको तातोपानी बजार पुर्‍याएर बेच्थे । अहिले पनि उनी तरकारी खेती गर्छन् । पहिले बोकेर ग्राहकको दैलोमा पुग्नुपर्थ्यो अहिले डोको बोकेर व्यापारी बारीमै आउँछन् । भैंसी र तरकारी खेती एक–अर्काका पर्यायझैं भएका छन् ।


परम्परागत भैंसीगोठलाई पौडेलले अब सुधार गर्ने भएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय म्याग्दीबाट ‘मोडेल भैंसी फार्म’ स्थापना गर्न पौडेलले ५ लाख रुपैयाँ अनुदान पाएका छन् । यही पैसाले परम्परागत भैंसी गोठलाई सुधार गर्ने, दानापानी दिने डुँड राख्ने र घाँस काटेर खुवाउने र भकारो पनि सुधार गरी मलमूत्र खेर नजाने बनाउँदै छन् ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?