किसानलाई प्रविधिकै चिन्ता

ग्रामीण क्षेत्रमा अझै खाइखेती र परम्परागत प्रविधिमै बाली लगाउने र भित्र्याउने गरिँदै
दिप्ती सिलवाल

पर्वत — गत चैतमा काटेको गहुँ भित्र्याउन नपाएपछि उमादेवी बस्याल चिन्तामा छिन् । अर्मपर्म गर्न छिमेकीकोमा जान नपाएपछि उनको गहुँ आँगनमै कुहिन थालेको छ । पैयुँ ७ की उमादेवीको जस्तो समस्या यो गाउँका सबैजसो किसानले भोग्दै आएका छन् । 

किसानलाई प्रविधिकै चिन्ता

कृषिमा यान्त्रीकरण र आधुनिकीकरणको जतिसुकै चर्चा भए पनि ग्रामीण क्षेत्रका किसानले खाइखेती र परम्परागत प्रविधिमै बाली लगाउने र भित्र्याउने गर्दै आएका छन् । भोर्लेकै खगेश्वरी बस्यालले पनि गतसाता २ मुरी तोरी थन्क्याउन ८ दिन समय खर्चिनुपर्‍यो ।


‘उमेर ढल्किसक्यो । जर्‍याकजुरुक काम गर्न सकिंदैन,’ उनले भनिन्, ‘घरमा काम गर्ने कोही छैनन् । पर्म लाउन जान नसकेपछि अरूले पनि पत्याउँदैनन् ।’ अघिल्ला वर्षहरूमा काममा सघाउने छोराछोरी पढाइका लागि पोखरा गएपछि यो वर्ष उनलाई गहुँ, जौ र फापर थन्क्याउन समस्या छ । भोर्लेकै गौदेवी गुरुङले गहुँको बाला काटेर थुपारेको २ महिना भयो । कोठामा थन्क्याएको गहुँ बाहिर निकाल्ने आँट गर्नै सकेकी छैनन् ।


‘बल्लतल्ल ट्याक्टरले जोतेर लगाएका गहुँ घरसम्म ल्याइयो,’ उमादेवीले भनिन्, ‘गाउँमा न गोरु छन्, न मान्छे पाइन्छ ।’ गोरुले दाइँ गरेर गहुँ भित्र्याउने गरेकी उनले गएको केही वर्षयता गाउँमा गोरु पाल्न छोडेपछि लट््ठीले चुटेर गहुँ थन्क्याउँदै आएकी छन् । गाउँमा पर्म लगाएर (आलोपालो गरेर) खेती गर्न युवा छैनन् । गहुँ चुट्ने मेसिन आएकै छैन । मेसिनको भरमा खेत जोतेर अन्नबाली लगाउन सजिलो भए पनि थन्क्याउने मेसिन नहुँदा समस्या भएको किसानहरू बताउँछन् ।


स्थानीय तह र विभिन्न संघसंस्थाको सहयोगमा यान्त्रिक हलो (पावर ट्रिलर) सहुलियत अनुदानमा वितरण भए पनि सबैतिर त्यसको पहुँच छैन । गाउँघरमा काम गर्ने युवापुस्ता नभएपछि गाईगोरु पाल्ने चलन हराइसक्यो । पहाडी पाखोबारीमा समेत गुडाउन मिल्ने पावर ट्रिलरको सहजताले किसानलाई केही राहत भएको छ । तर, खाद्यान्न उत्पादन गरेर थन्क्याउने बेलामा चाहिने उपकरणको अभावले भने किसान हातखुट्टाकै भरमा काम गर्छन् ।


पुरानो प्रविधिले काम गर्दा समय र श्रम धेरै खर्चिनुपर्ने भएपछि किसानहरू धेरै खेती लगाउन पनि छाडिसकेका छन् । ‘पहिला १२ हलको मेलोमा गहुँ लगाइन्थ्यो,’ हिलेका टोपप्रसाद बस्यालले भने, ‘अहिले दुई हलमा लगाएको गहुँ पनि अझै थन्क्याउन सकिएको छैन ।’ गोरुले दाइँ गरेर गहुँ भित्र्याउँदै आएका उनलाई छिमेकमा गोरु पाइन छोडेपछि दाइँ गर्ने गोरु अभावमा लठ्ठीले चुटेर गहुँको दाना झार्दा धेरै समय लागेको बताए । गहुँ, तोरी, जौ, फापर लगायतका हिउँदेबाली लठ्ठीकै सहारामा भित्र्याउनुपरेको किसानहरूले बताए ।


‘खेत जोत्ने हलो बनाएपछि चुट्ने मेसिन पनि भए थन्क्याउने बेलामा समस्या हुन्थेन,’ पैयुँ ५ का हिमबहादुर क्षेत्रीले भने, ‘अहिले बजारमा आएका मेसिनले हामीलाई झन अप्ठ्यारोमा पारेका छन् । यान्त्रिक हलो आएपछि गोरु पाल्न छोडियो । मेसिनले गोरुको सबै काम गर्दैन ।’ पछिल्ला केही वर्षयता जिल्लाका समथर भूभाग र धेरै खाद्यान्न बाली हुने क्षेत्रमा मकै, गहुँ रोप्ने र चुट्ने मेसिनको समेत प्रयोग हुन थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन सञ्चालन भएको फलेबासमा मकै छोडाउने मेसिनसमेत किसानलाई वितरण गरिएको छ ।


कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीका अनुसार जिल्लाका सबै स्थानमा बाली चुट्ने मेसिन प्रयोग गर्न सहज छैन । ‘समथर क्षेत्रका किसानलाई प्रभावकारी हुने यन्त्र भिरालो जमिनमा हुँदैन,’ रेग्मीले भने, ‘भिरालो जमिनमा सबै मेसिन लैजान सहज हुँदैन । कम उत्पादन हुने क्षेत्रमा मेसिन बढी खर्चिलो हुन्छ ।’

प्रकाशित : वैशाख ७, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?