२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मापदण्डविपरीतका घरटहरा भत्काइँदै 

बागलुङ — नगरक्षेत्रमा सडकको मापदण्ड विपरीत बनेका घरटहरा भत्काउन बागलुङ नगरपालिकाले पत्राचार गरेको छ । पोखरा बागलुङ राजमार्गकै मापदण्ड नपुगेका घरटहरा भत्काउन पत्राचार भएको हो । वडा नं. २ का अध्यक्ष जीवन आचार्यले १८ वटा घरटहरा तत्काल भत्काउन सार्वजनिक सूचनासमेत जारी गरेका छन् ।

मध्यपहाडी लोकमार्गको समेत विस्तार गर्ने क्रम चलिरहेकोले बजारको जिरो किलोमिटरसम्मको क्षेत्रमा घरटहरा हटाउनुपरेको उनले बताए ।


मध्यपहाडी लोकमार्ग हाल बागलुङ नगरपालिका वडा नं. १ को बाङगेचौरदेखि वडा नं. ४ को उपल्लाचौरतर्फ जाने तय भएको छ । त्यसबाहेक वडा नं. २ को ट्राफिक चोकलाई पोखरा बागलुङ खण्डकै जिरो मानिएको थियो । उक्त स्थानसम्म पुरानै मापदण्ड पनि पूरा नभएकोले भत्काउनुपरेको आचार्यले बताए । पुरानो मापदण्डमा सडकको बीच भागबाट साढे १० मिटर छाडेर घरटहरा बनाउनुपर्नेमा केही घरले पूरा गरेका थिएनन् । केही पुरानै घर अहिलेसम्म नभत्काएकोले सडक चौडाको क्रममा भत्काउनुपरेको हो ।

नगरपालिकाले सातदिने सूचना पनि जारी गरेकोमा भत्काउने सुरसार नदेखेपछि व्यक्ति ताकेर पत्राचार गरेको हो । चौडा पारिएको सडक कम्तीमा १० मिटरमा कालोपत्रे गर्ने योजना छ । हाल यो खण्डमा ८ मिटर मात्र कालोपत्रे छ । यो खण्डको झन्डै ३ किमि खण्डमा सडक साँघुरो भएकाले सवारी आवागमनमा बढी समस्या पर्ने गरेको छ । ‘बागलुङ–पोखरा सडक आउने बेलामै नभत्काएका घर अहिले परेका छन्,’ आचार्यले भने, ‘अब व्यवस्थित सहर निर्माणमा सबैको साथ र सहयोग चाहिन्छ ।’ मापदण्डविपरीत बन्न लागे पनि सबैले समयमै खबर गर्न पनि भनेका छौं ।


दोहोरो नाली निर्माण र सडक चौडा बनाएमा लोकमार्गका सवारीसहित स्थानीय सवारी र पैदलयात्रीलाई सहज हुने आचार्यले बताए । बजारभित्र लोकमार्ग ल्याउँदा धेरै क्षति हुने भन्दै केही वर्ष अघिदेखि नै बजारवासी आन्दोलित भएपछि बजार छलेर रेखाङ्कन गरिएको छ । चौडा पारिने सडकले विकल्पको काम गर्ने आयोजनाका प्रतिनिधिले बताए । चौडा पारिने भनिएको खण्डमा पनि स्थानीय आन्दोलित थिए ।


अहिले साबिकको ट्र्याकबाट सवारीसाधन गुडे पनि चौडा पार्नुपर्ने आयोजनाका इन्जिनियरले बताए । बजारभित्रको ट्राफिक व्यवस्थापनका लागि समेत योजना उपयोगी भएको जिल्ला ट्राफिक प्रमुख सुकबहादुर विकले बताए । वडा नं. २ कै अगुवाइमा ट्राफिक व्यवस्थापनसहितका कार्यक्रम बनाइएको छ ।


जथाभावी पार्किङ हटाएर व्यवस्थापनका लागि हरेक साता एकतर्फ मात्र पार्किङ गर्ने, विद्यालय र अन्य सवारी रोक्ने र यात्रु ओराल्ने स्थान तोक्न लागिएको हो । ‘सबै सामग्री तयार भएका छन्, अब केही दिनमा व्यवस्थापन सुरु हुन्छ,’ प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भने, ‘व्यवसायीसँग पनि सहकार्य गरेर जथाभावी व्यापारिक सामान राख्न दिने छैनौं ।’ चौडा सडक बनाएपछि पैदल यात्रीका लागि फुटपाथ पनि बनाउने योजना छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?