१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फस्टाउँदै सामुदायिक खेती

लमजुङ — पर्यटकीय पदमार्गका गाउँबस्तीमा केही वर्षअघिसम्म बेंसीसहरबाट तराईका तरकारी लैजाने गाउँले थुप्रै थिए । हिजोआज भने उनीहरू आफैंले बारीमा हरिया तरकारी फलाउन थालेका छन् । 

फस्टाउँदै सामुदायिक खेती

चक्रीय अन्नपूर्ण पदमार्गले छोएको भएकाले पनि मर्स्याङ्दी गाउँपालिका ७, उस्ताबेंसी क्षेत्रमा हरिया तरकारी बढी खपत हुन्छ । ङादी र खुदीबजारसम्मै उस्ताबेंसीका तरकारी आइपुग्छ । आत्मनिर्भर साथै बजारको सम्भावना देखेपछि उस्ता र उस्ता बेंसीका २१ जना स्थानीयले हरिया तरकारी खेती थाले । तरकारी उत्पादनपछि गाउँमा बजारका तरकारी ल्याउन रोकिएको स्थानीय बताउँछन् । बरु बजारसम्म गाउँको तरकारी लाने गरेका छन् ।

अधिकांश दलित, विपन्न र महिला मिलेर पौरखी कृषक समूह गठन गरी उनीहरूले धान तथा मकै लगाउँदै आएको खेतमा तरकारी फलाएका हुन् । समूहकी अध्यक्ष उमा घलेका अनुसार गएको वर्षदेखि तरकारी खेती थालिएको हो । अहिले काउली, बन्दा, फर्सी, काँक्रो, गोलभेंडा खेती गरिएको उनले बताइन् । यसअघि आलु खेती गरिएको थियो । ‘बेंसीको फाँटमा सिँचाइ सुविधा भयो । हामी गाउँघरका विपन्न, दलित र महिला जुट्यौं । जुटेर गरे हुँदो रहेछ त’ उनले भनिन् ।

स्थानीय ८ जनाको ३५ रोपनी जग्गा भाडामा लिएर हिउँदे तथा बर्खे तरकारी लगाउँदै आएको उनले बताइन् । समूहका सचिव लिलिजङ घलेका अनुसार गत वर्ष २० रोपनी जग्गामा तरकारी फलाइएको थियो । अहिले १५ रोपनी बढाएर खेती गरिएको हो । आलु ४० क्वीन्टल फलेको र अन्य तरकारीको हिसाबकिताव गर्न बाँकी रहेको उनले बताए । ‘हामीले तरकारी खेती गरेपछि गाउँमा बेंसीसहरबाट तरकारी आउन रोकिएको छ । हामीलाई २/४ पैसा आम्दानी पनि भएको छ,’ उनले भने ।

समूहका सदस्य डम्बर गुरुङले तरकारी खेतीले आयआर्जनमा सघाउ पुगेको बताए । उनका अनुसार २१ जनाले कार्यतालिका बनाएर पालैपालै तरकारीको हेरचाह गर्दै आएका छन् । तरकारी खेती गर्न भने सबै खटिन्छन् । तरकारी खेतीबाट भएको आम्दानी सदस्यबीच बाँड्ने र ब्याजमा लगानी गर्ने तयारी गरिएको समूहकी कोषाध्यक्ष नितादेवी घलेले बताइन् । उनका अनुसार समूहको कोषमा प्रत्येक सदस्यले मासिक ५०/५० रुपैयाँका दरले जम्मा पनि गरेका छन् ।

मर्स्याङ्दी गाउँपालिका ७ का वडाध्यक्ष युवा घलेका अनुसार उस्ताबेंसीमा २ वर्षअघि तत्कालीन जिल्ला सिँचाइ डिभिजन कार्यालयले सिस्नेरी फाँट सिँचाइ आयोजना निर्माण गरेको थियो । सिँचाइ निर्माणपछि स्थानीय तरकारी खेती गर्न जुर्मुराएका हुन् । अध्यक्ष घलेका अनुसार सामूहिक तरकारी खेतीका लागि मर्स्याङ्दी गाउँपालिकाले ६ वटा प्लास्टिक टनेल सहयोग गरेको छ । २ लाख रुपैयाँ अनुदान दिएको थियो ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण भेगमा सामूहिक तरकारी खेती गर्ने बढ्दै गएको र हरेक गाउँमा हरिया तरकारी फलाउने गाउँपालिकाको योजना रहेको बताए । ‘हामीले गाउँमा तरकारी फलाउने योजना अघि सारेका छौं । गाउँमा विक्री नभएका तरकारी बिक्री गर्नका लागि व्यवस्थापन पनि गर्दै आएका छौं,’ उनले भने ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?