२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विदेशमा सिकेर बाख्रापालन

दमौली — भिमाद ९ पाथर्दीका २७ वर्षीय शिवकुमार आलेको दिन बाख्रा स्याहारमा बित्छ । उनले सात वर्षयता व्यावसायिक बाख्रापालन गरेका छन् । साना किसान लघुवित्त संस्थाको सिफारिसमा उनले इजरायलमा कृषिसम्बन्धी अध्ययन गर्ने अवसर पाएका थिए ।

इजरायलमा १० महिनामा पशुपालनको क्षेत्रमा थप सीप ज्ञान सिक्ने अवसर पाएको उनले बताए । विदेशमा सिकेका ज्ञानसीपबाट उनी कृषि कर्ममा झनै हौसिएका छन् ।


उनको खोरमा ७० वटा बाख्रा छन । बाख्राबाट बर्सेनि १० लाख रुपैयाँभन्दा बढी आम्दानी लिँदै आएको उनले बताए । ‘सबओभरसियर पढेको हुँ,’ उनले भने,‘तर, म कृषक बनेको छु । कृषिमा रुचि थियो ।’ पवित्रा माविमा सबओभरसियर पढ्ने सिलसिलामा बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रमा अध्ययन अवलोकन गरेपछि उनको सोचाइ परिवर्तन आयो । ‘बाख्रापालनमा भविष्य देखेँ,’ उनले भने, ‘सब ओभरसियर पास गरेपछि गाउँ फर्केर बाख्रापालनमा लागियो ।’ घरमा बाबुआमाले परम्परागत शैलीमा गर्दै आएको पशुपालनको तरिकामा उनले सुधार गरेका छन् ।


उनीमात्र होइन नरमाया, खेमबहादुर, टकबहादुर, दिलमाया, लुमाया थापा, देवी मोक्तान र श्रीमाया आलेले पनि बाख्रापालन गरेका छन् । व्यावसायिक तवरले बाख्रापालन गर्नेहरू पाथर्दी गाउँमा करिब ६० घरधुरी छन् । घरैपिच्छे कम्तीमा २० देखि ७० वटासम्म बाख्रा छन् । एउटा घरले बाख्राका खसीबोका बेचेर १ लाख ५० हजारदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।


ब्याड बोका राख्नका लागि बढी माग आउने कृषक टकबहादुर थापाले बताए । ‘बोयर जातका ब्याड बोकाको माग बढी छ,’ उनले भने, ‘माग पुर्‍याउन सकिएको छैन ।’ तीन महिनाबाट व्याडका लागि पाठा बिक्री गर्दै आएको उनले बताए । ब्याड बोकाका लागि पाठाको मोलतोल प्रतिकेजी १२ सयदेखि दुई हजार रुपैयाँसम्म हुने गरेको छ । खोरमा हुर्काएका पाठामा न्यूनतम १६ देखि ३० केजीसम्मको ब्याड बोकाका लागि बेच्ने गरेको उनले बताए । ब्याड बोका खरिद गर्न मुलुकका विभिन्न जिल्लाबाट किसान तनहुँ आएका भेटिन्छन् ।


युवा कृषक आलेको प्रेरणाबाट सिंगो गाउँ व्यावसायिक बाख्रापालनमा लागेको नरमाया आलेले बताइन् । ‘पुरानै तरिकाले बाख्रा पाल्दै आएका थियौं,’ उनले भनिन्, ‘शिव भाइको प्रेरणाबाट व्यावसायिक रुपमा बाख्रा पाल्न थालेका हौं ।’


सबओभरसियर पढेको व्यक्तिले बाख्रा पाल्दा सुरु सुरुमा पत्यार नलागे पनि आम्दानी राम्रो भएको देखेपछि गाउँले आकर्षित भएको उनले बताइन् । अधिकांशले सुधारिएको खोर निर्माण गरेका छन् । खोरमा बाख्राका लागि खेल्ने छुट्टै ठाउँ पनि बनाइएको छ ।


खोरमा दाना खुवाउन, पाठापाठी, बोका राख्न र सुत्केरी माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएको छ । बाख्रापालकलाई अहिलेको समस्या रोगव्याधिमा पशुप्राविधिक सजिलै नभेटिनु हो । केही किसान घाँस प्रशोधन गर्न चाहन्छन् । उक्त प्रविधि गाउँमा आइसकेको छैन ।

पाथर्दी गाउँ बाख्रापालनको स्रोत केन्द्र भएको भिमाद–९ का वडाध्यक्ष इमान थापाले बताए । ‘बाख्रापालनमा पाथर्दीलाई नमुना गाउँ बनाउने योजना छ,’ उनले भने, ‘बाख्रा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने तयारी भइरहेको छ ।’

प्रकाशित : वैशाख ८, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?