जीर्ण पुलले बढ्याे जोखिम

आश गुरुङ

लमजुङ — फलामका लट्ठामा खिया लागेको छ । काठ अड्याउने फलाम बांगिएको छ । काठ मक्किएको छ । पुल नै बांगिएको छ । मर्स्याङ्दी गाउँपालिका–३ तल्लोबजार र ९, गोपालडाँडा जोड्ने पुल जीर्ण भएको वर्षौं बित्यो ।

जीर्ण पुलले बढ्याे जोखिम

यसको मर्मत वा पुनर्निर्माणमा ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । पुलमा दैनिक मानिसको आवातजावत हुन्छ । खुदीको अमर माविमा पढ्ने विद्यार्थी यही पुल भएर आवतजावत गर्छन् । मक्किएको काठमा टेक्दा कतिपय घाइते हुने गरेको विद्यालयका प्रधानाध्यापक तीर्थ बस्नेतले बताए । ‘मक्किएको काठमा टेक्दा भाँचिएर खोलामा खस्लाजस्तो हुन्छ,’ उनले भने, ‘विद्यार्थीलाई त्यो पुलमा नहिँड्न अनुरोध गर्छु । तैपनि मान्ने होइन । पुल नबनाउने भए बन्द गर्नुपर्छ ।’

उक्त जीर्ण पुल भएर खुदी, भुलभुले, बाहुनडाँडा, ताघ्रिङ, घेर्मुका साथै हिमाली जिल्ला मनाङसम्म तथा चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा हुन्छ । माथिल्लो बाटो छ भनेर थाहा नहुने कतिपय पर्यटक उक्त पुलबाट नै हिँड्छन् । उक्त पुल करिब ९ दशकअघि निर्माण गरिएको स्थानीय बताउँछन् । वि.सं. १९८६ तिर निर्माण गरिएको उक्त पुल पहिले समय–समयमा मर्मत गरिए पनि माथिल्लो भेगमा पुल बनेपछि मर्मत हुन सकेको छैन । खुदी बजारकी शर्मिला गुरुङका अनुसार वर्षौंदेखि पुल मर्मत भएको छैन । ‘म ५० वर्षको भएँ । पहिले–पहिले अलि अलि बनाएजस्तो गर्थ्यो । अहिले त छैन’ उनले भनिन् ।

लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईका अध्यक्ष वीरेन्द्रबहादुर भण्डारीले जीर्ण पुलको बाटो हिँड्न गाह्रो हुने बताए । उनका अनुसार उक्त पुल उच्च जोखिममा छ । वृद्धवृद्धा र बालबालिकालाई आवतजावतमा समस्या भएको उनले बताए । ‘माथिल्लो पुलान जाँदा बाटो घुमाउरो पर्ने । बालबालिका र बूढाबूढी यहींबाट सकिन्छ भन्दै जीर्ण पुल तर्छन्,’ उनले भनिन्, ‘हेर्दाहेर्दै कोही पारि तर्छन्, कसैको खुट्टा अडिन्छ । पुलले दुर्घटना निम्त्याएको छ ।’

संघका निवर्तमान अध्यक्ष लेखमान कतिलाका अनुसार माथिल्लो बजारबाट ट्रस ब्रिज छ । सवारी आवागमन हुन्छ । त्यसपथि झोलुंगे पुल छ । तल्लो क्षेत्रका मानिस र पारिका विद्यार्थी उक्त जीर्ण पुल नै प्रयोग गर्छन् । ‘यो पुललाई यत्तिकै राखेर भएन । कि बनाउनुपर्छ, कि भत्काउनुपर्छ,’ उनले भने । उनले उक्त पुलमा हिँड्डुल गर्न रोक लगाउनुपर्ने उनले बताए । ‘पुल जीर्ण छ । यहाँबाट खस्यो भने जिम्मेबार को हुने ?’ उनले भने ।

मर्स्याङ्दी ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले झोलुंगे पुलको पुनर्निर्माण वा मर्मतका लागि स्थानीयले आवाज उठाउँदै आएका छन् । ५ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले अनुगमन गरेको थियो । ट्रायल ब्रिज सपोर्ट युनिट (टीबीएसयू) पोखरा र जिल्ला प्राविधिक कार्यालयका प्राविधिकले स्थलगत अध्ययनपछि झोलुंगे पूल जोखिममा रहेको प्रतिवेदन तयार पारिएको थियो । प्रतिवेदनमा पुल भएर वारपार गर्न नमिल्ने भनिए पनि मानिसहरू उक्त पुलबाटै आवातजावत गरिरहेको उनले बताए ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले खुदी र सिम्पानी जोड्ने उक्त पुल जीर्ण बनेपछि माथिल्लो क्षेत्रमा अर्को पुल बनाएको बताए । तर, उक्त जीर्ण पुल भएर मानिस हिँड्न छोडेका छैनन् । उनका अनुसार गोपालडाँडातर्फको भागमा प्राविधिक दृष्टिकोणले पुल पुनःमर्मतका लागि उपयुक्त छैन । तर पनि मर्मत गर्नुपर्ने भएको उनले बताए ।

पुल मर्मतका लागि चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । उनका अनुसार ट्रायल ब्रिज सपोर्ट युनिट पोखरासँग समन्वय गरी पुल मर्मत गर्न डिजाइन, स्टेमेट गरेर काम अघि बढाइएको बताए । उनले गाउँपालिकाभित्रका जीर्ण पुल मर्मतका लागि बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?