कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सामुदायिकमा बस सेवा

बागलुङको लहरेपीपल माविले विद्यार्थी आकर्षित गर्न बसमा ल्याउने र पुर्‍याउने व्यवस्था गर्‍यो ।
प्रकाश बराल

बागलुङ — सामुदायिकमा विद्यार्थी आकर्षण गर्न यहाँको एक विद्यालयले ग्रामीण बस्तीमा पनि बस सञ्चालन गरेको छ । बागलुङ नगरपालिका–६ को लहरेपीपल माविले विद्यार्थी ल्याउने–पुर्‍याउने व्यवस्था बसमा गर्न थालेको हो ।

सामुदायिकमा बस सेवा

बजार क्षेत्रका निजी विद्यालयका बस छन् । निजी विद्यालय जसरी नै बस सेवा सुरु गरिएको प्रधानाध्यापक कृष्णप्रसाद सुवेदीले बताए । बागलुङ नगरपालिकाको १९ लाख रुपैयाँ र अभिभावकको ३ लाख मिलाएर २२ लाखमा बस खरिद गरिएको हो । भन्सार छुटमा ल्याइएको बस सञ्चालनका लागि भने अभिभावकले लाखौंको कोष बनाएको उनले बताए ।

‘अहिलेसम्म १७ लाखको कोष बनाइएको छ, अझै बढाएर निरन्तरता दिने योजनामा छौं,’ उनले भने, ‘गाउँबाट बसाइँसराइ बढेको, बालबालिका पढाउने निहुँमा युवाहरू बजारमा बस्न थालेको समस्याले बस चलाउन बाध्य भयौं ।’ बस सेवा सँगै निजी विद्यालयकै शैलीमा अंग्रेजी माध्यम, गुणस्तर सुधार र मिहिनेत बढाएको उनले बताए ।

नर्सरी र केजी तहको पढाइ सकेर मात्र कक्षा १ मा जाने व्यवस्थाले बालबालिकाको गुणस्तरमा सुधार हुने अभिभावकको ठहर छ । सोही अनुसारको कक्षा कोठा व्यवस्थापन गरिएको अध्यक्ष मानबहादुर केसीले बताए । ‘कक्षा ५ सम्मको गुणस्तर बढाएपछि उपल्लो कक्षाहरू आफैं राम्रो बन्छन् भन्ने हामीले ठहर गरेका छौं,’ केसीले भने, ‘बालबालिकालाई गरेको लगानी खेर जाँदैन भन्ने सन्देश दिन खोजेका हौं ।’ तीन वर्ष अघिसम्म धूलो, फोहोर र पढाइ नहुने विद्यालयमा गनिएकोले सुधारका लागि अभिभावक जागेपछि सुधारका संकेतसमेत देखिएको उनले बताए ।

वडा कार्यालयले पनि यो विद्यालयलाई नमुना बनाउन पहल गरेको थियो । वडाको पहलमा नगरपालिकाले आर्थिक लगानी गरेपछि व्यवस्थापकीय सुधारका काम थालिएको वडाध्यक्ष खेमराज सापकोटाले बताए । ‘आसपासका ४ विद्यालय गाभेर यही नमुना बनाउन थालिसकेका छौं,’ सापकोटाले भने, ‘गाभिएका विद्यालयका शिक्षकसमेत यही कार्यरत हुनेछन् ।’ वडा नं. ६ का सदाशिव प्रावि, भगवती प्रावि, आधारभूत प्रावि र अमरप्राविलाई लहरेपीपलमै गाभिएको हो । ती विद्यालयमा विद्यार्थी संख्या घटेको र शिक्षक दरबन्दी मात्र रहेकोले गाभेर विद्यार्थी भएकालाई सञ्चालन अनुमति दिएको उनले बताए ।

अंग्रेजी भाषामा कक्षा सञ्चालन गरिने भएपछि बजार झरेका अभिभावकले पनि बालबालिका पठाएका छन् । चालु शैक्षिक वर्षका लागि ८० बालबालिका फर्केको सापकोटाले बताए । ‘केही वर्षमा भर्ना गर्न हानथाप हुने विद्यालय बनाउँछौं,’ सापकोटाले भने, ‘काम गरेर देखाउने हो, उचित परिणाम केही वर्षमा देखिनेछ ।’ परिणाम आएपछि मात्र अभिभावकमा विश्वास पलाउने उनले बताए ।

नगरपालिकाको चक्रपथ योजनाले यो विद्यालय र आसपासको क्षेत्रको ग्रामीण सडक कालोपत्रे र ढलान भएको छ । खरिद गरिएको बसले लङगाउँ, धारापानी, सिम, मालिका र तीनतलेसम्मका बालबालिका थपिने सुवेदीले बताए ।

नगरपालिकाले गुणस्तरको आधारमा शिक्षक छनोटको व्यवस्था थालिसकेकोले अब क्षमता विकास नगर्ने शिक्षकलाई बिदाइ गर्ने नगरप्रमुख जनकराज पौडेलले बताए । ‘विद्यालयमा थकाइ मार्न जाने शिक्षकलाइ बिदाइ गरिनेछ,’ पौडेलले भने, ‘काम र परिणाम आएपछि प्रोत्साहन भत्ता पनि दिने योजना छ ।’ सामुदायिक विद्यालयको पढाइ राम्रो बनाउन सकियो भने निजी क्षेत्र निरुत्साहित हुने उनले दाबी गरे । विपन्न बस्तीका बालबालिकाले निःशुल्क गुणस्तरीय शिक्षा पाउनका लागि नगरले प्रयास गरेकोसमेत उनले बताए ।

गाउँपालिकाको झोला र पोसाक

पर्वत– भर्ना अभियान चलिरहेका बेला यहाँको एक गाउँपालिकाले विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री निःशुल्क दिने भएको छ । जलजला गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयका शिक्षक, व्यवस्थापन समिति र सरोकारवालालाई अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न–गराउन अनुरोध गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले पोसाक, कापीकलम र झोलालगायत शैक्षिक सामग्रीको अभावमा कोही पनि बालबालिका विद्यालयबाट वञ्चित हुन नहुने बताएका छन् । ९ वटै वडाका विद्यालय, अभिभावक, जनप्रतिनिधि सबैलाई विद्यालयमा भर्ना हुन सबै बालबालिकालाई मुस्कान, अबिर तथा पाठ्यपुस्तकसहित विद्यालयमा स्वागत गरी निःशुल्क तथा अनिवार्य आधारभूत तहको शिक्षा सुनिश्चित अभियानमा सहयोग पुर्‍याउन उनले आग्रह गरेका छन् ।

‘वैशाख महिनाभरि विद्यालय भर्ना अभियान सञ्चालन गराउन आग्रह गरेका छौं,’ उनले भने, ‘वैशाख १५ सम्म विद्यालय र समुदायकेन्द्रित कार्यक्रम हुन्छ । त्यसपछि मसान्तसम्म सबै वडामा घरदैलो हुन्छ ।’ यसले अति पिछडिएका लक्षित समुदायका बालबालिका, अभिभावकसँग प्रत्यक्ष सम्पर्क गरी बालबालिका भर्ना गराउन सबै शक्ति परिचालन गरिएको उनले बताए ।

गाउँपालिकाले निर्णय गरेर जुनसुकै समुदायका बालबालिका कापीकिताब, झोला र पोसाकको अभावमा विद्यालय बाहिर रहेमा तत्काल गाउँपालिकामा जानकारी गराउन आग्रह गरेको छ । त्यस्ता बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गराउन सम्बन्धित वडा, विद्यालय, व्यवस्थापन समिति र सबै सरोकारवालालाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जनाए । कुनै बालबालिकालाई विशेष शैक्षिक सामग्री तथा सहयोगी सामग्री आवश्यक परेमा गाउँपालिकाले व्यवस्था गर्ने उनले बताए ।

गाउँपालिकाभित्र कुनै पनि बालबालिका विद्यालय बाहिर रहन नदिन यो नयाँ अभ्यासको थालनी भएको स्थानीयको भनाइ छ । ‘अहिलेसम्म यस्तो अभ्यास कतै सुनिएको थिएन,’ स्थानीय नवीन जीसीले भने, ‘किताब र पढाइ निःशुल्क भए पनि कापीकलम र पोसाकको अभावमा विद्यालय छोड्ने बालबालिका धेरै छन् ।’ गाउँपालिकाले कापीकलम र पोसाकको व्यवस्था गर्ने भएपछि आर्थिक अभावमा विद्यालय नआउने र बीचैमा विद्यालय छोड्ने संस्कारको अन्त्य हुने अपेक्षा अभिभावकहरूको छ ।

गाउँपालिकाले यसअघि सबै वडाका सामुदायिक विद्यालयलाई प्रविधि र बाल मनोवैज्ञानिक वातावरणमा अध्यापन गराउनका लागि शैक्षिक गुणस्तर वृद्धि, विषयगत तालिमलगायतका कार्यक्रम सञ्चालन गरिसकेको छ । केही वडाले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न र अभिभावकमा सामुदायिकप्रतिको मोह बढाउन सार्वजनिक पद धारण गर्ने व्यक्तिका छोराछोरी अनिवार्य सामुदायिकमै पढाउनुपर्ने नियम बनाएका छन् ।

सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन जलजलाले गरेको अभ्यासले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय खोज्ने अभिभावकसमेत सामुदायिकमै फर्किन थालेका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?