कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ सामुदायिक विद्यालय समायोजन

स्याङजा — वालिङ नगरभित्रका पाँचवटा सामुदायिक विद्यालय समायोजन भएका छन् । एघार वटा स्थानीय तह रहेको स्याङ्जामा वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) स्थानीय तहको अधिकारभित्र परेसँगै शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय समायोजन गरिएको हो । 

वालिङका शिक्षा शाखा प्रमुख प्रकाशबन्धु अर्यालका अनुसार समायोजन हुने विद्यालयमा शारदा आधारभूत विद्यालय सपौंदे वालिङ २, राम्चेदेवि आधारभूत विद्यालय वालिङ ३, कालिकादेवी आधारभूत विद्यालय वालिङ १२, भगवती आधारभूत विद्यालय वालिङ १३ र चन्द्रज्योति आधारभूत विद्यालय वालिङ १३ रहेका छन् ।


शारदा, राम्चेदेवी र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा थियो । शारदालाई बाँसपानी आधारभूत विद्यालय, राम्चेदेवीलाई माझकोट माध्यमिक विद्यालय, कालिकादेवीलाई सिर्सेकोट देउराली आधारभूत विद्यालय, भगवतीलाई मुटुभन्ज्याङ आधारभूत विद्यालय र चन्द्रज्योतिलाई लक्ष्मी माध्यमिक विद्यालयमा समायोजन गरिएको शिक्षा शाखा प्रमुख अर्यालले बताए ।


‘विद्यार्थी संख्या न्यून, भौगोलिक विकटता जस्ता कारणले विद्यालयलाई पहिलो चरणमा समायोजन गरेका छौं,’ नगरप्रमुख दिलीपप्रताप खाँणले भने, ‘समयसापेक्ष गुणस्तरीय शिक्षाको प्रत्याभूति दिलाउन विद्यालय समायोजनको अभियान थालिएको हो ।’ विद्यालय समायोजन अभियान ५ वटा विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरुवातदेखि नै लागू गरिएको नगरप्रमुख खाँणले बताए ।


विद्यालयहरूलाई एक आपसमा समायोजन गरी शैक्षिक व्यवस्थापन प्रणालीलाई मजबुत बनाउने रहेको बताउँदै शिक्षा शाखा प्रमुख अर्यालले भने, ‘न्यूनतम मापदण्ड नपुगेका विद्यालयलाई मात्रै समायोजनको प्रक्रियामा लगिएको छ ।’ स्मार्ट सिटीका रूपमा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले जिल्लामै पहिलो पटक विद्यालयहरू समायोजन गरेको शाखा प्रमुख अर्यालको दाबी थियो ।

प्रकाशित : वैशाख ८, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?