कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘साइबा’ नाच्दै दरै

दमौली — साइबा नाच नचाएन भने दरै समुदायको बरखी फुक्दैन । दरैले ‘फूलपाती नाच’ पनि भन्ने गरेको साइबा समुदायको धार्मिक संस्कारसँग जोडिएको छ ।

‘साइबा’ नाच्दै दरै

वर्षको एक दिन गाईजात्रा पर्व जसरी दिवंगत आफन्तलाई श्रद्धाञ्जलीका लागि नाचिने साइबा अब मेला, पर्व र जातीय संस्कृति प्रदर्शनका कार्यक्रममा पनि देख्न पाइन्छ ।


तिहारे औंसीका दिन मात्र नचाउने गरिएको साइबा वर्षभरि दिवंगत हुनेहरूलाई अन्तिम श्रद्धाञ्जली दिएर बिदाइ गर्ने चलन पनि रहेको संस्कृतिकर्मी चिजबहादुर दरैले बताए । ‘साइबा नाच नचाएन भने बरखी फुक्दैन, बरखी फुकाउन पनि नचाउनै पर्छ,’ उनले भने, ‘बरखी फुकाउन सामूहिक रूपमा साइबा नचाउने प्रचलन छ ।’ मृतकका परिवारले फूलपाती संकलन गर्दै नाच्दै घुम्दै मुखियाको घरमा पुग्ने गर्छन् । त्यहाँ धार्मिक विधिअनुसारको कार्य गरिन्छ ।


टीका ग्रहण गरी फूलपाती र अक्षता भएको नाङलो टाउकोमा राखेर एकजना पुरुष बीचमा नाच्ने गर्छन् भने महिलाहरू पुरुषलाई घेरा बनाएर नाच्छन् । मृतकको आत्माको वैकुण्ठबासको कामना गर्दै नाचेको हेर्न समुदाय भेला हुन्छन् ।


मादल र झ्यालीको तालमा महिला र पुरुष गीत गाउँदै समूहमा नाच्ने उक्त नाचको सीप नयाँ पुस्तामा हस्तान्तरणको प्रयास सुरु भएका छन् । ‘वर्षको एक दिनमात्रै नचाउने गरिएकाले नाच हराउने पो हो कि भन्ने अवस्था आइसकेको थियो,’ व्यास–१ भादगाउँका शमशेर दरैले भने, ‘पुराना पुस्ताले जान्दछन्, युवाले सीप सिकेमात्रै जीवन्त रहने भयो ।’ जातीय संस्कृति संरक्षणका लागि साइबा औंसीमात्रै नभएर अन्य मेला र उत्सवमा पनि नचाउन थालिएको उनले बताए ।


वैदेशिक रोजगारीको लहरले युवा विदेसिँदा नयाँ पुस्तामा संस्कृति हस्तान्तरण सजिलो नभएको उनले बताए । अल्पसंख्यामा पर्ने दरैहरूको संख्या मुलुकका अन्य जिल्लाको तुलनामा तनहुँमा धेरै छ । जनगणना २०६८ अनुसार १६ हजार ९ सय ९९ दरैमध्ये तनहुँमा ४ हजार ४२ जना छन् । तनहुँका भादगाउँ, बैरेनी, फरकचौर, रत्यौली, दुम्सी खुकौली र पिपलटार लगायतका ठाउँमा दरैका बस्ती छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?