कापीकलम किन्न निहुरो बेच्दै

आश गुरुङ

लमजुङ — दायाँ हातमा गह्रौं जेब्रा झोला छ । पिठ्युमा बोराको भारी  । बेंसीसहरको मनाङे चौताराबाट आफ्नै सुरमा आएका बालक त्रिवेणी टोल आएपछि भारी बिसाउछन् । जेब्रा झोलामा नाम्लो राख्छन् । झोलाभित्र पाइन्ट, पेटी राखिएको हुन्छ । चोयाले बाधेर ल्याएको बोराको मुख खोल्छन् । देखिन्छन्, मुठाका मुठा कालो निहुरो ।

कालो निहुरो देखेपछि किन्नलाई सहरकाले मन गर्छन् । सानो उमेरमा यस्तो काम गरेको किन नि ? सबैको जिज्ञासा हुन्छ । उनी सहजै उत्तर दिन्छन्, ‘कापीकलम किन्न ।’ कालो निहुरो गाउँका ओसिलो ठाउँमा पाइन्छ । स्वास्थ्यबद्र्धक हुने भएकाले यो सिजन गाउ“घरमा प्रायः निहुरोको तरकारी पकाइन्छ । सहरबजारमा पनि निहुरो आउन थालेको छ । सहरमा निहुरो ल्याउनेमध्येका एक हुन् १२ वर्षीय अमृत सुनार ।

बेंसीसहर नगरपालिका ७, नारायणस्थान नजिकै लक्ष्मी बालमन्दिर स्कुलमा उनी पढ्छन् । गाउँमा २ सम्म पढेपछि ३ र ४ कक्षा उनले बालमन्दिरमा पढे । अहिले ५ कक्षामा तेस्रो भएका छन् । ‘अब कापीकलम किन्न पर्‌यो । आमासँग पैसा हुँदैन । त्यसैले गाउँ गएर निहुरो टिपेर ल्याएको हुँ,’ मधुर स्वरमा उनले भने । सोमबार उनले ल्याएका १९ मुठा निहुरो बिक्री भएको छ ।

एउटा मुठाको ५० रुपैयाँका दरले बिक्री हुँदा उनले ९ सय ५० रुपैयाँ कमाएका छन् । यो उनको २ दिनको कामको प्रतिफल हो । ‘अलि अस्ति पनि २२ मुठा ल्याएर बेचेको थिए। अब त पढाइ हुन्छ, गाउँ जान पाइदैन,’ उनले भने, ‘निहुरो बेचेर आएको पैसा आमालाई दिएको छु ।’ मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा घर भएका उनको परिवार बेंसीसहर बस्न थालेको ३/४ वर्ष भयो ।

उनका अनुसार रोजगारीका लागि जोर्डन गएको भन्ने सुनिएका बुवा हरि सुनारको मुख अहिलेसम्म देख्न पाएका छैनन् । उनका अनुसार आमा विनीता बेंसीसहरको हस्पिटल चोक नजिकै सिलाइकटाइ गर्छिन् । उनको कमाइबाट भाइ विवश विद्याविकासमा १ कक्षामा पढ्छन् । बहिनी सोममाया २ कक्षामा पढ्छिन् । उनका दाइ विकास जनविकास मावि कक्षा १० मा पढ्छन् ।

बालकल्याण मावि भकुन्डेका प्रधानाध्यापक तीर्थ न्यौपानेका अनुसार बालबालिका बाध्यताले आफ्नै लागि श्रम गर्न बाध्य छन् । बालबालिकामा श्रम नगरी पठनपाठनको व्यवस्था सरकारले गरिदिनुपर्छ । ‘कापीकलम किन्नकै लागि एक्लै जंगलमा गएर निगुरो खोज्नुपर्ने बाध्यता छ । कापीकलमकै लागि दुःख गर्न बाध्य छन् । यसले पछि मानसिक असरसमेत पर्न सक्छ,’ उनले भने, ‘बालबालिकालाई स–साना कुरालाई ध्यानमा राखेनौं भने यसले भोलि ठूलो रूप लिन्छ ।’ उनले बालबालिकालाई कुनै पनि दुःख गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिन सरकारले शिक्षालाई निःशुल्क गरी असहाय, गरिब तथा विपन्न परिवारलाई सहयोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित : वैशाख १०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हिउँदे अधिवेशनमा ६ विधेयक पारित

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेश सरकारको पुस ७ मा बसेको बैठकले पुस २३ देखि तेस्रो तथा हिउँदे अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिसको निर्णय गरेको थियो  । निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले खुसी हुँदै भनेका थिए, ‘हिउँदे अर्थात विधेयक अधिवेशनमा तत्काल ८ विधेयक पेस गर्नेछौं  ।'

गण्डकी प्रदेशसभा बैठकमा सहभागी प्रदेशसभा सदस्य ।तस्बिर : लालप्रसाद/कान्तिपुर

प्रदेश लोकसेवा आयोग, प्रदेश प्रहरी, प्रदेश आमसञ्चार, विश्वविद्यालयलगायत सम्बन्धी विधेयक लैजाने मन्त्री बस्नेतले बताएका थिए ।

१५ दिनमा १६ वटा बैठक (१५ घण्टा ५५ मिनेट) बसेर आइतबार सकिएको प्रदेशसभाको हिउँदे अधिवेशनमा सरकारले भनेजस्तो विधेयक पेस भएनन् । बल्लतल्ल प्रदेशसभा पुर्‌याएका ५ मध्ये ४ विधेयक पारित भए । त्यसबाहेक वर्षे अधिवेशनका बेला पेस गरिएका २ विधेयक पनि प्रदेशसभाले पारित गर्‌यो । ‘संघले कानुन नबनाइदिंदा हामीले तयार पारेका विधेयक प्रदेशसभामा लैजान सकिएन,’ मन्त्री बस्नेतले भने, ‘धेरै विधेयक तयार छन् । थुप्रैले सैद्धान्तिक सहमति लिएर बसेका छन् ।’

प्रदेशसभा सचिवालयले सोमबार पत्रकार सम्मेलनमार्फत तेस्रो तथा हिउँदे अधिवेशनबारे जानकारी गराएको थियो । अधिवेशन दौरान औद्योगिक व्यवसाय, ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी, प्रदेश प्रशिक्षण प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) र सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भए ।

यसैगरी अघिल्लो अधिवेशनमा पेस भएका सहकारी र बर, पीपल, समी, चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक पारित भएको सचिवालयका निमित्त सचिव हरिप्रसाद बाँस्तोलाले जनाए । उनका अनुसार गत असार ११ मा पेस भएको प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेशसभा सचिवालय ऐन, २०७५) र माघ ४ मा पेस भएको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामै थन्किएका छन् ।

सभामुख नेत्रनाथ अधिकारीले केन्द्रमा संघीय कानुन नबनेका कारण प्रदेश सवारी तथा यातायातसम्बन्धी ऐनमाथि कुनै छलफलै सुरु नभएको बताए । प्रदेशसभा सचिवालय ऐनमा भने सचिवलगायत अन्य मर्यादाक्रमलगायत विषयमा सहमति नजुट्दा पटक पटक छलफल भएर पनि टुंगोमा नपुगिएको उनले बताए । उपसभामुख सृजना शर्माले प्रदेशसभाको अनुभव बताउदै धेरै कुरा सिक्न पाएको बताइन् ।


प्रदेशसभा सचिवालयका अनुसार हालसम्म २८ विधेयक प्रदेशसभाबाट पारित भइसकेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानका अनुसार प्रदेश लोकसेवा आयोग, विश्वविद्यालय, प्राविधिक महाविद्यालय, प्रदेश प्रहरी, आमसञ्चार विधेयक तयार भएर पनि प्रदेशसभा लैजान सकिएन । थुप्रै विधेयक तयार भएर पनि संघीय कानुन नबनेकाले हिउँदे अधिवेशनमा पेस गर्न नसकिएको उनको भनाइ छ । ‘तयारी र सैद्धान्तिक सहमति प्राप्त १५ विधेयक छन्,’ उनले भने, ‘संघका कारण प्रदेशसभामा पेस गर्न सकेनाैं।’


हिउँदे अधिवेशनमा मनाङबाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङलाई माघ १४ मा प्रदेशसभा सदस्यको शपथ खुवाइयो । सभामुख अधिकारी नेतृत्वमा प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको अध्ययन भ्रमण गरी अनुभव आदानप्रदान गरिएको थियो । साथै विभिन्न विषयगत संसदीय समितिबाट प्रदेशका विभिन्न स्थानको अनुगमन तथा अवलोकन भ्रमणसमेत भएको थियो ।

प्रकाशित : वैशाख १०, २०७६ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT