बन्दीपुर सडक फराकिलो पारिँदै

साँघुरा घुम्तीहरूले आवागमनमा अप्ठ्यारो
सडक विस्तारले पर्यटक थपिने विश्वास

तनहुँ — ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य तनहुँको बन्दीपुर जाने सडक खण्डलाई चौडा बनाउने कार्यअन्तर्गत घुम्ती सुधारको काम थालिएको छ  । बन्दीपुर आउने पर्यटनको चाप बढेसंगै सडक साघुरो भएकाले दुर्घटनाको खतरा बढ्दै गएपछि गाउँपालिकाले सडकमा रहेका घुम्तीलाई फराकिलो बनाउने कार्य अगाडि बढाएको हो  ।

बन्दीपुर सडक फराकिलो पारिँदै

बन्दीपुरमा आउने जाने पर्यटनको संख्या बढेसंगै सडकमा रहेका घुम्तीलाई फराकिलो बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

पृथ्वीराजमार्गको डुम्रेबजारबाट करिब ८ किलोमिटरको दूरीमा अवस्थित बन्दीपुर पुग्न उकालो अनि घुम्ती सडक पार गर्दै जानुपर्छ । डुम्रे–बन्दीपुर सडकखण्डको साँघुरो सडकलाई फराकिलो बनाउने तथा घुम्तीहरूलाई केही हटाएर सहज बनाउन लागिएको अध्यक्ष थापाले बताए ।

उनले भने, ‘रोड कालोपत्रे भए तापनि साँघुरो भएकाले पर्यटकलाई असहज भइरहेको छ, यही असहजताको कमी गराउन र आउदा दिनमा धेरैभन्दा धेरै पर्यटकलाई सहज र सुरक्षित रूपमा बन्दीपुर भिœयाउनका लागि गाउँपालिकाले सडकलाई सुधार गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।'

बन्दीपुरमा आउने पर्यटकहरूले साँघुरो सडकका साथै व्यवस्थित पार्किङको समस्या झेल्दै आउनुपरेको छ । यो समस्यालाई समाधान गर्न गाउँपालिकाले सडक सुधार तथा व्यवस्थित पार्किङ निर्माणका कामलाई प्राथमिकता दिएको छ ।


गाउँपालिकाले पार्किङस्थल निर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट यस वर्ष बन्दीपुरमा दुईवटा बसपार्क निर्माण कार्य अगाडि बढाएको छ भने थप एउटा बसपार्क निर्माण गर्न योजना बनाउदै गरेको अध्यक्ष थापाले जानकारी गराए ।


डुम्रे–बन्दीपुर सडक खण्डको घुम्ती सुधार तथा साँघुरो सडकलाई व्यवस्थित गर्न सांसद विकास कोषबाट प्राप्त ३० लाख रुपैयाँ र नपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने गरी काम अगाडि बढाइएको छ । गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको पहिलो गन्तव्यका रूपमा सूचीकृत गरेसँगै बन्दीपुर आउने पर्यटकको संख्या पनि बढ्दै गएको बन्दीपुरका पर्यटन व्यवसायीहरू बताउँछन् ।


समुद्री सतहबाट करिब १०३० मिटर उचाइमा अवस्थित बन्दीपुर ऐतिहासिक, धार्मिक, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । नेवारी कला र संस्कृति, दोहोरो लाइनमा मिलाई बनाइएका प्यागोडा शैलीका कलात्मक घरहरू, ढुंगा ओछ्याइएका बाटाहरू, अठारौं शताब्दीमा निर्मित खडदेवी, विन्ध्यवासिनी, थानी देवी, महालक्ष्मी, नारायण मन्दिर, तीनधारा महादेव, मुकुन्देश्वरी, फराकिलो टु“डिखेल, रानी वन सहिद पार्क लगायतका गन्तव्यले पर्यटकलाई लोभ्याउने गर्दछन् ।


त्यस्तै, पश्चिममा रहेका धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे , मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा रहेका गणेश हिमाल र लाङटाङ हिमशृंखलाका सयौं चुचुराहरू यहाबाट सहजै अवलोकन गर्न सकिन्छ । यिनै दृश्यावलोकन र बन्दीपुरको प्राकृतिक सौन्दर्यताको भरपूर मनोरञ्जन लिनका लागि बर्सेनि हजाराैंको संख्यामा पर्यटक बन्दीपुर भित्रिने गर्दछन् ।

-सम्झना रसाइली

प्रकाशित : वैशाख १०, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?