कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यपालिका बैठक गुफामा

ऐतिहासिक, पर्यटकीय स्थल तथा वडामा नगर कार्यपालिकाको उपस्थिति गराउने उद्देश्यसाथ वडा ४ को विमलनगरस्थित सिद्ध गुफामा बैठक

तनहुँ — बन्दीपुर गाउँपालिकाले ४१औं नियमित बैठक सिद्ध गुफामा गरेको छ । ऐतिहासिक, पर्यटकीय स्थल तथा वडामा कार्यपालिकाको उपस्थिति गराउने उद्देश्यका साथ वडा ४ को विमलनगरस्थित सिद्ध गुफामा मंगलबार बैठक बसेको हो ।

कार्यपालिका बैठक गुफामा

सबै वडा, गाउँ, टोलमा कार्यपालिकाको नजर पुग्नुपर्छ भन्ने मान्यताका साथ गुफामा बैठक गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘सबै टोल, बस्ती, पछाडि परेको समुदायले गाउँ कार्यपालिकालाई चिन्न पाउनुपर्छ । त्यसैगरी गाउँ कार्यपालिकाको नजर पनि त्यहाँ पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ गाउँकार्यपालिकाको बैठक सुरु गर्दै अध्यक्ष थापाले सहभागी सदस्यलाई भने, ‘२०४४ सालमा पत्ता लगाइएको यो गुफा बन्दीपुरको मात्र नभई जिल्लाकै ऐतिहासिक हो तर, आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ ।’


नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ गाउँपालिका अगाडि बढेको भन्दै अध्यक्ष थापाले हाम्रा हरेक वडाका गाउँगाउँ, टोलटोलमा कार्यपालिकाको उपस्थिति र दृष्टि पुग्ने गरी सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए ।


सिद्ध गुफाको विकासका लागि डुम्रे–भन्सार नयाँ सहरी विकास आयोजनाबाट १ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन भएकाले गुफाको तल्लो भागसम्म पक्कि सडक निर्माणसहित बस पार्क र व्यवस्थित पिकनिक स्पोर्ट निर्माण गरी पर्यटकलाई आकर्षित गर्ने योजना गाउँपालिकाले अगाडि बढाएको छ ।


करिब ४ सय ३५ मिटर लम्बाइ र ४५ मिटर उचाई क्षेत्रफलमा फैलिएको सिद्ध गुफामा एकै समय १० हजार बढी मानिस सहज रुपमा अट्न सक्ने अनुमान गरिएको छ । गुफाभित्र अक्सिजनको कमि नभएको हुँदा सहज रूपमा आउजाउ गर्न सकिने बैठकमा सहभागी वडा १ का अध्यक्ष भानुभक्त पोख्रेलले बताए ।


सिद्ध गुफा क्षेत्र साहसिक खेल चट्टान आरोहण, क्यानोनिङ्गका साथै प्राकृतिक हरियाली वातावरण, चरचुरुङ्गी अवलोकन, गुफाभित्र बासबस्ने, र्‍यापलिङ्ग खेललगायतका आकर्षण छन् । यस्तै, गुफामा बसेको कार्यपालिकाको ४१औं नियमित बैठकले कार्यपालिका सदस्य गिरबहादुर बस्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।


गाउँपालिकाको केही वडाका गाउँका बासिन्दाले अझै पनि राष्ट्रिय प्रशारण लाइनको विद्युत उपभोग गर्नबाट बञ्चित रहेका हुँदा ७ लाख ७३ हजार रुपैयाँको लागतमा गाउँपालिकाले २२ घरमा ५५ वट क्षेमताका सौर्य ऊर्जा प्रणाली जडान गर्ने निर्णय बैठकले गरेको छ ।


बैठकले गाउँपालिकाको ३ लाख ३६ हजार अनुदानमा गोबर ग्यास जडान, छनोट भएका ९ जना माछा पालक कृषकलाई ६ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ भने, विपन्न समुदायका परिवारलाई गाउँपालिकाले नै स्वास्थ्य बिमा गर्ने नीति लिएअनुरूप नपुग ३ लाख रुपैयाँ विनियोजन गर्ने पनि निर्णय गरेको गाउँपालिका प्रवक्ता भानुभक्त पोख्रेलले बताए ।


यस्तै, गाउँपालिकाले वडा ६ को खहरेस्थित सेतीगंगा प्राथमिक विद्यालयमा कक्षा थप गर्ने, मापदण्ड पुगेका दुईवटा निजी विद्यालयलाई सञ्चालन अनुमति दिनेसमेत निर्णय गरेको छ । गोरखा भूकम्पका कारण भौतिक संरचना ध्वस्त भई प्राधिकरणका प्राविधिकहरू क्षति मूल्याङ्कनका लागि आउनुपूर्व नै आफ्नै लगानीमा भौतिक पूर्वाधार निर्माण गरेका घरपरिवारलाई राहत रकम उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।


बैठकले बन्दीपुर अस्पतालमा सञ्चालन गर्न लागिएको अप्रेसन सेवाका लागि चाहिने आवश्यक औषधी खरिद गर्ने, दररेट निर्धारण, चालु शिर्षकमा रहेका केही बजेटलाई रकमान्तर गर्ने, संघीय ढल निकास पोखराबाट प्राप्त करिब ४० करोड बजेटबाट वडा ४ को टुडिखेल र झप्री ओदाने पोखरीमा ढल निकासको अनुमति दिने निर्णय गरेको छ ।


गाउँपालिकाको ६ वटै वडाबाट अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने, वडा ४ को रानीवनमा भ्यूटावर निर्माण गर्न निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । यस्तै, वैशाख १७ गते गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ र वडा ६ को धरमपानी साराङकोटमा कार्यपालिकाको नियमित बैठक गर्ने निर्णय गरिएको छ ।


सम्झना रसाइली

प्रकाशित : वैशाख १२, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?