१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेकपाकाे स्थानीय तहमा पनि भागबन्डा

आश गुरुङ

लमजुङ — नेकपा लमजुङले स्थानीय तहको नगरपालिका र गाउँपालिकामा नेतृत्व टुंग्याएको छ । सहमतिअनुसार पूर्वएमाले र पूर्वमाओवादीले भागबन्डामा नेतृत्व टुंग्याएका हुन् । 

भागबन्डा भए पनि नेकपाले सर्वसम्मत नेतृत्व टुंग्याएको दाबी गरेको छ । नगरपालिका र गाउँपालिकाको संयन्त्रबाट सिफारिस भएर आएको नामावलीलाई जिल्ला संयन्त्रले सुझावसहित प्रदेश कमिटीमा पेस गरेको थियो ।


जिल्ला संयन्त्रले पठाएको नामावलीलाई प्रदेश कमिटीले टुंग्याएको नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले बताए । ‘जिल्ला संयन्त्रले सुझावसहित पेस गरेका नेतृत्वका नामावली प्रदेश कमिटी बैठकले टुंगो लगाएको छ । अब स्थानीय तहले नेतृत्व पाएको छ,’ उनले भने ।


नेकपाको यसअघि जिल्ला संयन्त्रको सिफारिसमा प्रदेश कमिटीको सुझावलाई आधार मानेर जिल्लाको नेतृत्व टुंग्याएको छ । नेकपाको जिल्ला अध्यक्षमा मधुमाया अधिकारी र सचिवमा धनञ्जय दवाडी चयन भइसकेका छन् । तत्कालीन माओवादी जिल्ला संयोजक अधिकारी समानुपातिक तर्फबाट प्रदेश सांसद हुन् । तत्कालीन एमाले अध्यक्ष दवाडी लमजुङ प्रदेश ‘क’ बाट निर्वाचित हुन् । लमजुङको दूधपोखरी गाउँपालिका २, बिचौर घर भएका दवाडी र अधिकारी गाउँका नाताले दाजुबहिनी हुन् ।


पूर्व एमाले र पूर्व माओवादीबीच ८ वटा स्थानीय तहमध्ये पूर्व एमालेले ५ वटा अध्यक्ष र पूर्व माओवादीले ३ वटा स्थानीय तहको नेतृत्व गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको गृह स्थानीय तह क्व्होलासोंथरमा अध्यक्ष र सचिव दुवै पूर्व एमालेले लिएका छन् भने बाँकीमा अध्यक्ष र सचिव यसअघिका फरक–फरक पार्टीका छन् ।


बेंसीसहर नगरपालिकाको अध्यक्षमा पूर्व एमालेका राजकुमार विष्ट र सचिवमा पूर्व माओवादीकी शोभा थापा, सुन्दरबजारमा अध्यक्ष पूर्व एमालेका भीमबहादुर गुरुङ र सचिवमा पूर्व माओवादीका सुनील सुनार, मर्स्याङ्दी गाउँपालिकामा अध्यक्ष पूर्व एमालेका धनसिंह तामाङ र सचिवमा पूर्व माओवादीका दयासागर घिमिरे साथै दोर्दीमा अध्यक्ष पूर्व एमालेका युवराज अधिकारी र सचिवमा पूर्व माओवादीकी अम्बिका मरहट्ठा चयन भएका छन् ।


मध्यनेपाल नगरपालिकामा अध्यक्ष पूर्व माओवादीका रामचन्द्र पौडेल र सचिव पूर्व एमालेका अर्जुनकुमार श्रेष्ठ, राइनासमा अध्यक्ष पूर्व माओवादीका अविरल न्यौपाने र सचिवमा पूर्व एमालेका पूर्णबहादुर गुरुङ साथै दूधपोखरीमा अध्यक्ष पूर्व माओवादीकी सतीमाया तामाङ र सचिवमा पूर्व एमालेका धनबहादुर गुरुङ चुनिएका छन् ।


क्व्होलासोंथरमा अध्यक्ष नरबहादुर गुरुङ र सचिवमा सूर्य गुरुङ दुवैजना पूर्व एमालेका हुन् । कुनै पनि स्थानीय तहमा यसअघिको एउटै पार्टी अध्यक्ष र सचिव नहुने सहमति भए पनि सचिवमा पूर्व एमाले र पूर्व माओवादी दुवैबाट दाबी परेको थियो ।


सर्वसम्मत सूर्य गुरुङ सचिवमा सिफारिस भए पनि संयन्त्रमा रहेका पूर्व माओवादीका नेताहरूले ‘नोट अफ डिसेन्ट’ जस्तो गरी पूर्व माओवादीका डम्बरबहादुर गुरुङलाई पनि सचिवमा दाबीसहित प्रदेश कमिटीमा सिफारिस भएको एक नेताले बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका स्वकीय सचिवसमेत रहेका सूर्य गुरुङलाई प्रदेश कमिटीले सचिवमा टुंगो लगाएको हो । प्रदेश सचिव नेपालीले भने जिल्लाबाट आएको सर्वसम्मत निर्णयलाई कार्यान्वयन गरिएको दाबी गरे ।


केन्द्रीय नेतृत्वले जिल्लाको नेतृत्व टुंग्याएपछि जिल्ला तथा स्थानीय तहमा रहेका संयन्त्र विघटन भएको छ । संयन्त्रको बैठकमा अध्यक्षता गरेका नेकपा गण्डकी प्रदेश प्रमुख सचेतक समेत रहेका मायानाथ अधिकारीले जिल्ला तथा स्थानीय तहमा विवादबिना नेतृत्व टुंगिएको दाबी गरे । संयन्त्रको बैठकले जिल्लाका ७५ वडामध्ये ५४ वडाको नेतृत्व टुंग्याएको तत्कालीन संयन्त्र सदस्य एवं पूर्व सांसद जमिन्द्रमान घलेले बताए ।

प्रकाशित : वैशाख १३, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?