कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यालय प्रमुखले लिए रक्सी, चुरोट नखाने शपथ

जिल्ला न्यायाधीशले सरकारी कार्यालयका प्रमुखलाई रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने शपथ खुवाए

लमजुङ — सरकारी कार्यालयका प्रमुखले रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने शपथ लिएका छन् । उनीहरूलाई जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बिहीबार शपथ खुवाए । 

कार्यालय प्रमुखले लिए रक्सी, चुरोट नखाने शपथ

जिल्ला स्वास्थ्य कार्यालयद्वारा संचालित ‘मेरो वर्षः म स्वथ्य, मेरा देश स्वस्थ’ कार्यक्रममा सहभागी सरकारी कार्यालयका प्रमुखले धूमपान र मद्यपान नगर्ने शपथ लिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डीएसपी यादव ढकाल, सशस्त्र डीएसपी दीपक बलामी, जिल्ला न्यायाधिवक्ता, प्रमुख कोष नियन्त्रक, अनुसन्धान अधिकृत, मालपोत अधिकृत, अलैंची जोन कार्यालय प्रमुख, निर्वाचन कार्यालय प्रमुख, जिल्ला सामुदायिक अस्पतालका प्रमुख, सरकारी डाक्टर, स्वास्थ्य कार्यालयका प्रमुखलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा निमित्त प्रमुखले धूमपान र मध्यपान नगर्ने शपथ खाएका हुन् ।

सरकारद्वारा जारी मेरो वर्ष २०७५ अन्तर्गत स्वास्थ्य कार्यालयद्वारा उपलब्ध ८ प्रतिबद्धतालाई जिल्ला न्यायाधीश आचार्यले सहभागिलाई शपथ खुवाएका हुन् । ‘म तनावरहित जीवनशैलीलाई आत्मसात् गर्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहन्छु, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु, म प्रदूषण नियन्त्रणमा सजग रहँदै आफ्नो घर र समुदाय सफा राख्छु, म ट्राफिक नियम पालना गर्छु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु,’ प्रतिबद्धता पत्रमा उल्लेख छ । उक्त प्रतिबद्धतासहितको शपथ यसअघि पत्रकारहरूले पनि लिएका छन् ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले आफू स्वस्थ रहने र देशलाई स्वस्थ बनाउने सरकारी योजनाको सुरुवात भएको बताए । ‘हामीले शपथ खाएका छौं, यो एउटा कसम हो,’ उनले भने, ‘खाएको शपथ कसैले पनि उल्लंघन नगरौं ।’ जिल्ला न्यायाधीश आचार्यले नसर्ने रोगबाट मुक्ति र न्यूनीकरणका लागि यस्तो अभियान फलदायी हुने बताए । ‘हाम्रो जीवनशैली परिवर्तन गर्नुपर्छ । चाहिने चिजभन्दा बढी केही पनि प्रयोग नगरौं । तनावमुक्त वातावरण बनाऔं’, उनले भने, ‘अब हामीले हामी जतिकै अरूलाई पनि पालना गर्न अभिप्रेरित गरौं ।’

स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाएमा जीवनशैली सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगको जोखिम कम हुने बताए । सामुदायिक अस्पतालका मेडिकल अधिकृत डा. हिक्मत भण्डारीले व्यक्ति, परिवार तथा समुदायको स्वास्थ्यका लागि धूमपान र मध्यपानबाट टाढै रहनुपर्ने बताए । ‘धूमपान र मध्यपानबाट नसर्ने खालका तर जटिल समस्या देखिन सक्छ । बेलैमा सचेत हुन आवश्यक छ,’ उनले भने ।

प्रकाशित : वैशाख १३, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?