१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कहिले बन्लान् भूकम्पपीडितका घर ?

पर्वतमा पूर्ण क्षतिमा परेका ५२६९ लाभग्राहीमध्ये अहिलेसम्म १८४ जनाको मात्रै घर निर्माण
दिप्ती सिलवाल

पर्वत — विनाशकारी भूकम्प गएको बिहीबार ठीक ४ वर्ष भयो । यो अवधिमा भूकम्पको कुरा इतिहास बन्नुपर्ने हो । भूकम्पमा परी घर भत्किएकामध्ये धेरैजसो पीडितले भने अझै घर बनाउन सकेका छैनन् । 

कहिले बन्लान् भूकम्पपीडितका घर ?

प्राविधिक मूल्यांकन, कामदार, दक्ष प्राविधिक अभाव र अनुदान सम्झौतामा झमेला लगायतका कारणले पीडितहरूले अझै पनि घर निर्माण गर्न नसकेका हुन् । कतिपय पीडितहरूले पूर्ण क्षतिमा नामै छुटेको भन्दै गुनासो गरेपछि सुनुवाइको पर्खाइमा अझै नयाँ आवास बनाउन सुरसार गरेका छैनन् ।

पुनर्निर्माण प्राधिकरणका अनुसार पूर्ण क्षतिमा परेका ५ हजार २ सय ६९ लाभग्राहीमध्ये अहिलेसम्म एक सय ८४ जनाले मात्रै घर निर्माण गरिसकेका छन् । यो साढे ३ प्रतिशत मात्रै प्रगति हो । यही गतिमा पुनर्निर्माण हुने हो भने पर्वतका सबै घर निर्माण हुन अझै एक सय वर्षा बढी समय लाग्ने देखिन्छ ।

लाभग्राहीमा सूचीकृतमध्ये ४ हजार ९ सय ५० जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ लगेका थिए । दोस्रो किस्ता लिनेको संख्या २ हजार ३ सय ७४ छ ।

कतिपय पीडितले घर बनाउन अझै पनि प्राविधिक स्टिमेट गराएका छैनन् । पीडितले भूकम्प प्रतिरोधी घर निर्माण गर्न भन्दै पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएर बसेको दुई वर्षभन्दा बढी समय पुग्दासमेत पुनर्निर्माण प्राधिकरणले पठाएका प्राविधिक घरघरै पुगेर निर्माण हुने घरको स्टिमेट नदिंदा पीडित अलमलमै छन् ।

पहिलो चरणमा गतवर्ष केही घरमा पुगेर स्टिमेट गरिएका घर अहिलेसम्म पनि अधुरै छन् । त्यसयता प्राविधिक नआउँदा घरको जग हाल्नसमेत नपाइएको पीडितको गुनासो छ । ‘पटकौं गुहार्दा पनि प्राविधिक आएनन्,’ बिहादीका राधेश्याम पराजुलीले भने, ‘आएका प्राविधिकले पनि यसरी घर बनाउनु भनेर सल्लाह दिंदैनन् । हामी अलमलमै छौं ।’

प्राविधिक नआएकै कारण समयमा घर थाल्न नसकेको र दक्ष कामदारसमेत नपाएको गुनासो पीडितले गरेका छन् ।

कतिपय पीडित भने घर भत्किएर पनि पुनर्निर्माणको सूचीमा छैनन् । बिहादीकै सरस्वती आचार्यको घर पूर्ण क्षतिमा नपरेपछि अहिलेसम्म पहिलो किस्तासमेत पाएका छैनन् । ‘पहिला घर भत्किएपछि प्राविधिक आएका थिए,’ स्थानीय लीलावती काफ्लेले भनिन्, ‘सरकारले दिन्छ भनेर कागत बनाइयो । सरकारले दिएन । न खाने गाँस छ न बस्ने बास ।’


पर्वतको फलेबास–१ मा भूकम्पको अनुदान लिएर निर्माण गर्दै गरेको घर ।तस्बिर : अगन्धर तिवारी/कान्तिपुर


घर भत्किएपछि बनाउने खर्च अभावले छोरीको घरमा आश्रय लिएको उनले बताइन् । बिहादीमा मात्रै ७ सय ६५ परिवार क्षतिपूर्तिमा छुटेको भन्दै पुनर्निर्माण प्राधिकरणमा पठाइएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालयका अनुसार सबैभन्दा बढी घर निर्माण मोदी गाउँपालिकामा भएको छ । मोदीमा ५२ जनाले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेको कार्यालय प्रमुख रामआशिष शाहले जनाए । ‘कतिपयले घर बनाइसकेर पनि फरफराक भएको छैन,’ उनले भने, ‘बनाइसकेकालाई अन्तिम किस्ता लिन रोकेका छैनौं ।’

पैयुँका ६ सय ५८ जनाको घर पूर्ण क्षतिमा परेका छन् । त्यसमध्ये ६ सय ५१ जनाले पहिलो किस्ता र २ सय ३९ जनाले दोस्रो किस्ताको रकम बुझेको कार्यालयमा रेकर्ड छ । फलेबास नगरपालिकामा १३ जनाले घर निर्माण सकेर तेस्रो किस्ताको रकम बुझेका छन् । कुश्मा नगरपालिकामा ३६, जलजलामा ३१, महाशिलामा १७ र बिहादी गाउँपालिकामा ३५ जनाले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेका छन् ।

फलेबास नगरपालिका– ८ को अर्चलेका २० घरधुरीको बासस्थान नै असुरक्षित भएपछि उनीहरूलाई एकीकृत बस्तीमा स्थानान्तरणको प्रक्रिया सुरु भएको छ । ०७४ मंसिरदेखि माक्रै कार्यत्रम सुरु भएको हुँदा प्रगति ढिलाइ भएको शाहले बताए । ‘भूकम्प गएको दुई वर्षसम्म कार्यक्रम सुरु भएन,’ उनले भने, ‘दोस्रो, तेस्रो किस्ता दिन पीडितहरूकै सक्रियता नहुँदा ढिलाइ भएको हो ।’ छुटेकाहरूको माग सम्बोधन गर्न सबै स्थानीय तहमा प्राविधिक तहमा पठाइएको उनले बताए ।

गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका छन् । फलेबास नगरपालिकाका ६ सय ६७ जनाले गुनासो फाराम भरेका छन् । त्यस्तै कुश्मा नगरपालिकाबाट ६ सय २५, मोदी गाउँपालिकाबाट २ सय ८, जलजला गाउँपालिका ७३, पैयुँ गाउँपालिकाबाट ४ सय १७ र महाशिला गाउँपालिकाका एक सय १९ जनाले गुनासो फाराम भरेको कार्यालयको तथ्यांकमा छ ।

विद्यालय पुनर्निर्माणको काममा ढिलाइ

नवलपुर– पूर्वी र पश्चिम नवलपरासीमा भूकम्पबाट क्षति भएका ५ विद्यालयको मात्र पुनर्निर्माण सकिएको छ । २ सय ८ विद्यालयमा क्षति पुगेकोमा तत्काल ३५ विद्यालयको नयाँ भवन बन्दैछन् ।

सामान्य क्षति पुगेकोमा मर्मत गरेर कक्षा सञ्चालन भइरहेको छ । भूकम्प गएको ४ वर्षमा जम्मा ५ विद्यालयका १२ कक्षा निर्माण भएको हो । कक्षाकोठा अभाव हुँदा विद्यार्थी खुला स्थानमा अध्ययन गर्न बाध्य छन् । साथै विद्यालयलहरूले चर्किएका भवनमा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ ।

नवलपुर हुप्सेकोट गाउँपालिका– १ जुकेपानीको सूर्यज्योति माविको तीनकोठे पक्की भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरले बिहीबार विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । विद्यालयको ट्रस्ट भवन बनेको हो । 

३५ लाखको लागतमा निर्माण भएको भवन चौथो स्मृति दिवसको अवसर पारेर हस्तान्तरण गरिएको हो । इकाई प्रमुख राजेन्द्र कार्कीका अनुसार राष्ट्रिय मावि पश्चिम नवलपरासी माकरको तीनकोठे भवन, आनन्द आधारभूत विद्यालयको दुई कोठा, नारायणी प्रावि कावासोतीको १७ को दुई कोठा र सुनबल आधारभूत विद्यालय सुनबलको दुई कोठे भवन सम्पन्न भएको छ ।

१ सय ४ वटा कक्षाकोठा निर्माणको काम सुरु भएकोमा १२ सम्पन्न भएको र अन्यमा निर्माणको काम भइरहेको छ । ४ वर्षमा सबै कक्षाकोठा निर्माण भइसक्नुपर्ने भए पनि काम ढिलो हुँदा सुरक्षित भवनमा बसेर शिक्षा लिन विद्यार्थी वञ्चित भएका हुन् ।

पहाडी भेगमा भौगोलिक विकटताका कारण निर्माण सामग्री लैजान समस्या भएकाले पहाड र दुर्गम क्षेत्रका भवन निर्माणमा ढिलाइ भएको हो । पश्चिम नवलपरासीमा १० र पूर्वी नवलपरासीको २५ विद्यालयमा पुनर्निर्माणको काम भइरहेको छ ।

सबैभन्दा कम बौदीकाली गाउँपालिकाको रुचाङमा रहेको महेन्द्रज्योति प्राविको दुईकोठे भवन निर्माणको काम जम्मा १३ प्रतिशत मात्र सम्पन्न भएको छ । अहिलेसम्म निजी आवासतर्फ भने ९५ प्रतिशत पीडितले पहिलो किस्ता, ६० प्रतिशतले दोस्रो र ५३ प्रतिशतले तेस्रो किस्ताको रकम लिएका छन् । पूर्वी र पश्चिम नवलपरासीमा ८ सय ७२ भूकम्पपीडितले निवेदन दिएका छन् ।

भासिएको काउले बस्ती पुनर्निर्माण हुने

बागलुङ– अघिल्लो वर्षायाममा भासिएर जोखिममा परेको बस्ती सारेर पुनर्निर्माण प्राधिकरणले पीडितका घर बनाइदिने भएको छ । भूकम्प दिवसको अवसरमा प्राधिकरणले काठेखोला गाउँपालिका ५ को काउले बस्ती बनाउन लागेको हो । बिहीबार विस्थापित काउलेवासीलाई खरिद गरिएको नयाँ जग्गा हस्तान्तरण गरियो ।

बस्ती भासिएपछि यहाँका १४ घर विस्थापित भएका थिए । उनीहरूलाई वडाध्यक्ष शिवप्रसाद कँडेलको अगुवाइमा जग्गा खोजी र खरिद गरी जग्गाधनी पुर्जासमेत दिइएको हो । मध्यपहाडी लोकमार्गसँगैको ५ रोपनी १२ आना जग्गा ३३ लाख रुपैयाँमा खरिद गरेर पीडितलाई कित्ताकाट गरी हस्तान्तरण गरिएको हो । प्रधिकरणले दिएको २० लाख रुपैयाँमा अरू ऋण थपेर जग्गा किनिएको कँडेलले बताए । पूर्ण विस्थापित भएका १० घरलाई ९ आनाका दरले जग्गा उपलब्ध गराइएको छ ।

पीडित १० महिनासम्म छिमेकीको घरमा आश्रय लिएर बसेका थिए । गत असारमा घर भित्रै, बाहिर र बारीमा समेत ठूलाठूला खाडल परेको, ठाउँठाउँमा चिरा परेपछि उनीहरू विस्थापित भएका थिए । प्रशासनले पनि उनीहरूलाई अन्यत्र जान भनेको थियो ।

हिउँदे खेतीपाती गर्न भए पनि वर्षातमा जुनसुकै खतरा हुने भन्दै प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोलीले बस्ती सार्नुपर्ने सिफारिस गरेको हो । उक्त सिफारिसपछि पुनर्निर्माण प्राधिकरणले बस्ती विकासको जिम्मा लिएको हो ।

प्राधिकरणले अब पुनर्निर्माणकै प्रक्रियामा अनुदान दिने योजना बनाएको जिल्ला कार्यान्वयन इकाई प्रमुख रामआशिष साहले बताए । ‘जग्गा छनोट भइसकेकाले एकै ठाउँमा सबै घर बन्नेछन्,’ साहले भने, ‘भूकम्प प्रतिरोधी र एउटै डिजाइनबाट घर बनाइनेछ ।’ घर बनाउन पाउने भएपछि पीडित बसी परियारले खुसी प्रकट गरिन् । ‘यत्रो समय अरूको घरमा बसेर बिताइयो, अब आफ्नै घर बनाउने कुरा छ,’ परियारले भनिन्, ‘वर्षातअघि नै घर बनाउन पाए हुन्थ्यो ।’ घर बनाउन्जेल दुई छाक खानका लागि पनि समस्या रहेको भविराम परियारले बताए ।

भने, ‘घर बनुन्जेल खानका लागि अन्न दिने सहयोगी चाहिएको छ ।’ कँडेलले भने यसअघि पनि उनीहरूलाई विभिन्न चरणको राहत दिएको बताए । अझै पनि समस्या परेमा खानेकुराको जोहो गरिदिन सकिने आश्वासन दिएका छन् । प्राधिकरणको अगुवाइमा जिल्ला प्रशासन, जनप्रतिनिधि र सरोकारवालाले भूकम्पको स्मरणसमेत बिहीबार यो बस्तीमा पुगेर गरेका थिए ।

३ हजारले बनाए निजी आवास

दमौली– भूकम्प गएको चार वर्ष पूरा हुँदा तनहुँमा ३ हजार बढी निजी आवास पुनर्निर्माण पूरा भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइका अनुसार ३ हजार ९१ लाभग्राहीले घर बनाएका हुन् ।

तनहुँमा पुनर्निर्माणतर्फ १३ हजार ८ सय ८१ र प्रबलीकरणतर्फ ४ सय ६६ लाभग्राही पहिचान भएका छन् । निमित्त प्रमुख दीपेन्द्रकुमार रोहितका अनुसार अहिलेसम्म २२ प्रतिशत निजी आवास पुनर्निर्माणको काम पूरा भएको छ । उनले पुनर्निर्माण सम्पन्न गरेका सबै लाभग्राहीले तेस्रो किस्ताको रकम लिइसकेको बताए ।

भिमाद एक सय १२, शुक्लागण्डकीमा ३ सय ३४, भानुमा ७ सय २० र व्यास नगरपालिकामा ७ सय ३९ घर पुनर्निर्माण सम्पन्न भएको छ । रिसिङमा एक सय ४, आँबुखैरेनीमा ३ सय ३१, म्याग्देमा २ सय ६०, घिरिङमा ५८, बन्दीपुरमा २ सय ४१ र देवघाट गाउँपालिकामा ४२ घर निर्माण सम्पन्न भइसकेको उनले बताए ।

लाभग्राहीमध्ये १२ हजार ८ सय ६५ घरले पहिलो किस्ताको रकम बुझेका छन् । दोस्रो किस्ता बुझ्नेमा ६ हजार ९ सय ७० घर छन् । प्रबलीकरणअन्तर्गत पहिलो किस्ता रकम बुझ्नेमा शुक्लागण्डकीको जम्मा एक घर छ । सबभन्दा बढी बुझ्नेमा एक सय ४९ सहित व्यास नगरपालिका रहेको छ ।

सात हजार गुनासा

लाभग्राहीमा नपरेका ७ हजार ७ सय ३४ लाभग्राहीले इकाईमा गुनासो दर्ता गरेका छन् । त्यसमध्ये ८ सय ४१ लाभग्राहीको मात्र गुनासो फर्छ्यौट भएको छ । जसमध्ये ६ हजार १ सय ४२ लाभग्राहीको सर्वेक्षण गर्नुपर्ने कार्यालयका नासु रामहरि खनालले बताए । ७ सय ५१ लाभग्राहीलाई गैरलाभग्राही कायम गरिएको उनले बताए । उनका अनुसार सबैभन्दा बढी गुनासो व्यास नगरपालिकाबाट र सबैभन्दा कम घिरिङ गाउँपालिकाबाट आएको छ ।

विद्यालय भवन पुनर्निर्माण

भूकम्पले क्षति पुर्‍याएकामध्ये तनहुँमा एक सय ६८ विद्यालयको भवन पुनर्निर्माण भएको छ । भूकम्पले जिल्लामा २ सय ९७ विद्यालय भत्किएका थिए । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाटले अहिले ४९ विद्यालयको भवन निर्माणको काम भइरहेको बताए ।

पठनपाठनमा कठिन भएका विद्यालयलाई प्राथमिकता दिएर पुनर्निर्माणमा ध्यान दिएको उनले बताए । अहिलेसम्म विद्यालय पुनर्निर्माणमा १२ करोड ७६ लाख ९१ हजार रुपैयाँ निकासा भएको छ ।

प्रकाशित : वैशाख १४, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?