कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिहादीमा कृषिका ब्लक र पकेट

दिप्ती सिलवाल

पर्वत — जिल्लाको दक्षिणी बिहादी फाँटको उर्वरभूमिदेखि वहाकीठाँटी र बेउलीबाससम्मको भिरालो जमिनलाई उपयोग गर्न विभिन्न बालीको ब्लक र पकेटक्षेत्र घोषणा गरिएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतले बिहादीका विभिन्न वडाको भूगोल, सिञ्चित क्षेत्रफल, माटोको उर्वराशक्तिलगायत अध्ययनपछि विभिन्न वडा समेटेर धान र मकैको ब्लक तथा तरकारी र सुन्तलाको छुट्टाछुट्टै पकेट घोषणा गरेको हो ।


ब्लक क्षेत्रमा कम्तीमा एक सय हेक्टर र पकेटमा १० हेक्टरमा तोकिएका बालीको व्यावसायिक खेती हुनुपर्छ । परम्परागत खेती प्रणालीका किसानलाई व्यवसायउन्मुख बनाई उत्पादित उपज निर्यात गर्न सक्षम बनाउने गरी ब्लक र पकेट कार्यक्रम ल्याइएको हो । त्यसका लागि किसानलाई यान्त्रीकरण, मलखाद, बीउ, भण्डारण, निर्यात लगायतमा अनुदानका कार्यक्रम छन् । चालु वर्षदेखि नै सुरु भएको धान र मकैको ब्लकका लागि २५/२५ लाख तथा सुन्तला र तरकारीको पकेट क्ष्ाेत्रका लागि ५/५ लाख रुपैयाँ विनियोजन भएको केन्द्रले जनाएको छ ।


चार वर्षअघि सुरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत साना तथा व्यावसायिक कृषि उत्पादन केन्द्र -पकेट र ब्लक) क्षेत्र विस्तार गरिएको हो । गाउँपालिकाको भूगोल, हावापानी र सम्भावनालाई मध्यनजर गरी मकै, धान र सुन्तलाको अलगअलग पकेट क्षेत्र निर्धारण गरिएको प्राविधिक बताउँछन् ।


गाउँपालिकाको वडा १ देखि ६ सम्म बाच्छा, बर्राचौर, रानीपानी र वहाकीठाँटीदेखि शालिग्रामसम्मको तल्लो तटीय क्षेत्रलाई समेटेर धान ब्लक क्षेत्र बनाइएको छ । हिउँदे पानीको स्रोत कम हुने सबै वडाको मध्यक्षेत्रलाई समेटेर मकै ब्लक क्षेत्र घोषणा गरिएको ज्ञानकेन्द्र प्रमुख वासुदेव रेग्मीले बताए ।


उनका अनुसार वडा ५ उरामलाई सुन्तलाको पकेट र बिहादी- ४ शालिग्राम तरकारीको पकेट घोषणा भएका छन् । धान ब्लकमा कृषि यान्त्रीकरण, सिँचाइ, धानको बीउ, मलखाद व्यवस्थापन, पोस्ट हार्वेस्टमा अनुदान वितरण गरिन्छ । मकै ब्लकमा सिँचाइ, बीउ, मकै छोडाउने मेसिन, यान्त्रिक हलो, त्रिपाल, भण्डारण, मलखादमा अनुदान छ । सुन्तला पकेटमा सिँचाइ, बिरुवा खरिद, सिकेचर, भर्‍याङ, मकैको बीउमा अनुदान छ ।


त्यस्तै तरकारीमा प्लास्टिक टनेल, बीउ, मलखाद, प्राङ्गारिक र रासायनिक मलमा किसानलाई सहुलियत दिने कार्यक्रम छ । पकेट क्षेत्रका किसानलाई रैथाने बालीको प्रवर्द्धनसँगै उन्नत बालीको समेत प्रोत्साहन गरिएको छ । 'कतिपय स्थानीय जातका उत्पादनको पनि महत्त्व छ,' प्रमुख रेग्मीले भने, 'आधुनिकीकरण भन्दैमा पुरानो बाली नास्ने होइन । धेरै उत्पादन दिनेलाई बढावा दिनेमात्रै हो ।' माटो सुहाउँदो उन्नत जातको बीउ पनि सिफारिस गरिने तर लगाउन अनिवार्य भने नहुने उनले बताए ।


पानीको स्रोत अभावले सिँचाइ नभएकै कारण सुक्खा टार हुने क्षेत्रमा गत वर्षदेखि लिफ्ट सिँचाइ पुगेपछि कृषिमा आधुनिकीकरण गर्न किसान तम्सिएका छन् । 'कुनै बेला यहाँ खानेपानीको समेत अभाव थियो,' मकै ब्लक सञ्चालक समितिका अध्यक्ष ऋषिराम भुसालले भने, 'घरघरैका वितरित खानेपानीका धाराले तरकारीमा सिँचाइ हुने भएपछि हौसला बढेको छ ।'


कुनै बेला बिहान बेलुकाको छाक टार्न बाहिरी बजारकै भर पर्नुपर्ने वहाकीठाँटीका बासिन्दा अहिले तरकारी बेच्न स्याङ्जा र पोखरासम्म पुग्ने उनले बताए । धान ब्लक सञ्चालक समितिका अध्यक्ष हरि न्यौपानेले आधुनिकीकरणसँगै किसानलाई वितरण गरिने सहुलियतका कार्यक्रमले उत्पादन बढ्ने मात्रै नभई खेतीमा सहज हुने बताए ।


'ब्लक घोषणा हुँदैमा सबै सरकारले गरिदिने होइन,' उनले भने, 'हामीलाई ऊर्जा दिने काममात्रै हो । यान्त्रीकरणले थोरै जनशक्तिमा धेरै काम गर्ने उत्साह मिल्छ ।' कृषि मजदुरको अभावमा धेरै उर्वरभूमि बाँझै रहने गरेकोमा यो कार्यक्रमले बाँझो जमिन हराभरा हुने उनले बताए ।


पर्वतमा यसअघि पनि मकै र धानका २/२ वटा ब्लक क्षेत्र सञ्चालनमा छन् । सुन्तला पकेट क्षेत्रको संख्या ५ पुगेको छ । जलजलाको केही भाग सुन्तलाको सुपरजोनमा समेटिएको छ । फलेवास नगरपालिकाका ६ वडा समेटेर ४ वर्षअघि नै मकै जोन सञ्चालन भइसकेको छ ।


जलजला, मोदी, महाशिला गाउँपालिका र फलेवास नगरपालिकामा सुन्तलाको पकेट क्षेत्र विगत दुई वर्षदेखि सञ्चालनमा ल्याइएको छ । पर्वतलाई धान, मकै र सुन्तलामा आत्मनिर्भर बनाउने लक्ष्यसाथ आधुनिकीकरणमा जोड दिइएको प्रमुख रेग्मीले बताए ।

प्रकाशित : वैशाख १९, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?