कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हिलाम्य सडक

दिप्ती सिलवाल

पर्वत — स्तरवृद्धिको क्रममा रहेको पोखरा-बागलुङ राजमार्गका अधिकांश भाग यतिबेला दैनिकजसो हिलाम्य छन् । गत फागुनदेखि लगातार दैनिकजसो भएको वषर्ाले मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माणाधीन उक्त खण्ड भएर यात्रा गर्ने सबैलाई सास्ती छ ।

आवागमन सहज हुँदा उक्त सडकमा पोखरा-कुश्माको दूरी डेढ घण्टाको भए पनि हिजोआज ६ घण्टासम्म लाग्ने गरेको छ ।


निर्माणाधीन मध्यपहाडी लोकमार्ग मात्रै होइन जिल्लाका सबैजसो मुख्य सडकमा परेका खाल्टाखुल्टी र हिलोले सवारीसाधनमा यात्रा गरिसाध्य छैन । ग्रामीण क्षेत्रका नयाँ ट्रयाक खुलेका सडक सामान्य वर्षा हुनासाथ बिग्रिने कुरा नयाँ होइन । तर, यो वर्ष लगातारको वर्षाले कुश्मा र फलेबास नगरपालिकाभित्रैका मुख्य सडकहरूको समेत बिजोग छ ।


नगरपालिका बन्न न्यूनतम पूर्वाधारभित्र पर्ने सडक सञ्जाल नै वर्षा नलाग्दै अवरुद्ध भएपछि दुई नगरवासीहरूको सडक यात्रा निकै कष्टकर बनेको छ । लगातारको वर्षापछि कुश्मा र फलेवास नगरभित्रका अघिकांश सडकमा सवारीसाधन अवरुद्ध भएका छन् । फलेवासको शंकरपोखरी-कार्कीनेटा,थापाठाना-खानीगाउँ, पाङ्राङ-कुर्घा लगायतका सडक वर्षाका कारण बिगि्रएका छन् ।


सडक अवरुद्ध भएपछि नियमित सञ्चालनमा ल्याइएका सवारीसाधन ग्यारेजमा थन्क्याउनुपरेको व्यवसायीहरूले बताएका छन् । केही घण्टामै सदरमुकाम र नगरपालिकाको केन्द्रमा पुग्ने सर्वसाधारणहरू घन्टौं पैदल हिंडेर गन्तव्यमा पुग्न बाध्य छन् । ट्रयाक मात्रै खुलेका सडकको दुईतर्फ नाली र ग्राभेल नहुँदा वर्षाको पानी जमेर ठूल्ठूला खाल्टाखुल्टी परेका छन् ।


अधिकांश भिराला सडकमा बाढी पसेर सडकको ढुंगामाटो बगाएपछि ठूल्ठूला ढ्वाङ परेका छन् । 'माघदेखि कुनै दिन वर्षा रोकिएको छैन,गाउँमा कुनै दिन सजिलोसँग जानै सकिन्न,' फलेवास-२ का सवारी व्यवसायी ताराबहादुर थापाले भने, 'लाखौं लगानी गर्‍यो । हिलो र चिप्लोले दिनदिनै गाडी ग्यारेजमा पुर्‍याउनुपर्छ ।'


पर्वतका व्यवसायीले जिल्लाको शंकरपोखरी, बाच्छा, कुर्घा लगायतका सडकमा नियमित गुडाउने सवारी दुई महिनायता सहज रूपमा चलाउनै नसकिएको गुनासो गरेका छन् । विगतमा मनसुन सुरु भएपछि मात्रै अवरुद्ध हुने सडक यो वर्ष हिउँदमै बिगि्रएपछि सवारीमा गरेको लगानी प्रतिफलविहीन भएको हो । त्यति मात्रै होइन । ग्रामीण क्षेत्रका यात्रुको गन्तव्यसमेत बिथोलिएको छ । 'पुराना बाटा सडकले खाइदियो,' खौलाका धनप्रसाद पौडेलले भने, 'सडकमा हिंडिसाध्य छैन ।' पैदल हिंडदा हिलो र चाहिएको बेला सवारी नपाउने समस्याले महत्त्वपूर्ण कामका लागि पनि नगरपालिका र बजारक्षेत्रमा पुग्न नसकिएको उनले बताए ।


०५६ सालयता धमाधम ट्रयाक खुलेका ग्रामीण सडकको स्तरोन्नतिका लागि विगतमा पनि बर्सेनि करोड बढी बजेट विनियोजन हुने गरेको थियो । स्थानीय तह सञ्चालनमा आएपछि त्यहाँ वितरण हुने विकास बजेटको दुई तिहाइ हिस्सा सडकमै खर्चिएको छ । स्थानीय तहले खर्चेको बजेटबाट गुणस्तरीय काम नहुँदा सामान्य वर्षा हुँदा पनि समस्या भोग्नुपरेको फलेवास-१ का चित्रप्रसाद शर्माले बताए ।


'बर्सेनि लाखौं बजेट सडकमा आउँछ,' उनले भने, 'सडक खोलामा, बजेट झोलामा भन्दा अरू केही उपलब्धि छैन ।' फलेबास-१ कार्कीनेटामा स्थानीयले श्रमदान गरी ट्रयाक खोलेको सडक मर्मत नहुँदा विगत ३ महिनादेखि सवारी सञ्चालन नभएको उनले बताए । व्यावसायिक पशु र्फम सञ्चालन गरेका उनले सडककै कारण पशुजन्य उत्पादन बजार पुर्‍याउन र पशुका लागि आवश्यक दाना र्फमसम्म पुर्‍याउन समस्या भएको गुनासो गरे ।


अहिले पनि स्थानीय तहले विकास बजेटको आधाभन्दा बढी हिस्सा सडकमै खर्चेका छन् । तर, मुख्य सडकमै वर्षाका ६ महिना बढी सवारी अवरुद्ध भएपछि सर्वसाधारणले सास्ती भोग्न बाध्य छन् । सडकमा जमेको हिलोले सवारीसाधनका सडकमै डुबुल्की मार्छन् ।

कुश्मा र फलेवास नगरपालिकाका सबै वडामा सडक सञ्जालले छोएको छ ।


गत वर्षदेखि जिल्लाका सबै स्थानीय तहका केन्द्र पुग्ने ७ वटा सडक कालोपत्रेको योजना अघि बढेको छ । तर, सबैजसो योजनाका काम सुस्त हुँदा सर्वसाधारणले समस्या भोग्नुपरेको हो । बजेट बिनियोजित सडक समयमै सक्न स्थानीयबासी, जनप्रतिनिधि र सरोकारवालाले चासो राखे पनि निर्माण व्यवसायीको लापरबाहीले स्तरवृद्धिको क्रममा रहेका सडकको अवस्था सुधार हुन नसकेको हो ।

प्रकाशित : वैशाख २०, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?