१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विद्यालयमा विवाहित किशोरकिशोरी

घनश्याम खड्का

म्याग्दी — कानुनी प्रावधान केलाउँदा दुवैलाई विवाह गर्ने उमेरसम्म छुट्याएर राख्नुपर्ने हो । नौ कक्षामा पढ्ने १७ वर्षीय मिलन विक र १५ वर्षीया भकु विक श्रीमान् श्रीमती हुन् । 

धौलागिरी गाउँपालिका-२ लुलाङको लमसुङ माविमा दुवै पढ्छन् । जुनियर रेडक्रस सर्कलमा पनि आबद्ध छन् । भकु र मिलनले मात्र होइन, उक्त विद्यालयमा ८, ९ र १० कक्षामा ७ जोडी दम्पती अध्ययनरत छन् । पढ्दापढ्दै सहपाठीसँग प्रेम विवाह गरेर गर्भवती भएपछि कतिपय छात्राहरूले विद्यालय छाडेका छन् । जिल्लामा सबैभन्दा बढी बालविवाहको समस्या धौलागिरी गाउँपालिकामा छ । त्यसले गर्दा यहाँको शैक्षिक वातावरण नै प्रभावित छ । यहाँका विद्यालयको कक्षा ८ र एसईई परीक्षाफल पनि तुलनात्मक कमजोर छ ।

'बालविवाह रोक्न अभियान चलाएका छौं । तर, जोडी छुट्याउँदा झुन्डिएर आत्महत्या गर्न खोजेका घटनाले धेरैपल्ट अलमलमा परेका छौं,' धौलागिरी-२ लुलाङकी महिला सदस्य सुवादेवी पुर्जाले भनिन, 'बालविवाह रोक्न नसक्नेलाई पढाइ नछाड्न र कलिलो उमेरमा आमा नबन्न सुझाब दिने गरेका छौं ।' लमसुङ मावि उदाहरण मात्र हो, जिल्लाका क्षेत्रमा बालविवाह समस्याको रुपमा छ ।

धौलागिरी, मालिका र रघुगंगाको माथिल्लो भेगमा बालविवाह अझ धेरै छ । जिल्लाका प्रायः सबै विद्यालयमा बालविवाह समस्याको रुपमा छ । विवाहित अधिकांश छात्र/छात्राहरू मगर र दलित समुदायका छन । सदरमुकाम वरपरका वस्तीमा पनि बालविवाहको उस्तै समस्या छ ।

'मगर समुदायमा तुलनात्मक खुल्ला संस्कार र मेलापर्व मनाउने प्रचलनको नकारात्मक प्रभाव विद्यालय तहको उमेरमै छात्रछात्रामा परेको छ' धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, 'छोराछोरीको मात्र के कुरा गर्नु, आमाबाबु पनि गतिला छैनन् । एउटाको स्वास्नी अर्कोले, अर्काको अर्कोले लग्यो कि लोग्नेले कुट्यो भन्ने मात्र मुद्दा आउँछन् ।'

विद्यालय तहमा अध्ययनरत छात्रछात्राले १६ वर्षअघि नै प्रेमविवाह गर्ने गरेका छन । जिल्लाका ग्रामीण भेगका सबै जातिका अधिकांश छात्राहरूको विद्यालय तहमै विवाह हुने गरेको छ । २० बर्ष अघिको विवाह कानुनी रुपमा मान्य नहुने भने पनि गाउँपालिकाले बालविवाह दर्ता गरिरहेको छ । प्रशासन कार्यालयले १६ वर्षमै विवाहिता नागरिकता दिने गरेको छ ।

'कानुनी रुपमा विवाह गर्ने उमेर नभए पनि किशोरी आमाहरू बच्चा च्यापेर जन्मदर्ता गराउन आउँछन् । लोग्ने कायम गरी नागरिकताको सिफारिस माग्छन् । व्यावहारिक जटिलता छन्,' रघुगंगा गाउँपालिका ७ चिमखोलाका वडाध्यक्ष दुर्गा पुनले भने, 'बालविवाहविरुद्ध अभियान चलाइरहेका छौं तर, मोबाइल र फेसबुकले झन् बढाइरहेको छ ।'

कलिलो उमेरमै हुने विवाहले सम्बन्धविच्छेद र गर्भपतन पनि बढाएको छ । स्वास्थ्य कार्यालय पुगेर अनिच्छुक गर्भपतन गराउने किशोरीको संख्या बढेको छ । गर्भपतन गर्नेमध्ये ५ प्रतिशत १५-१७ वर्षका किशोरी छन । चालु वर्षको पहिलो ६ महिनामा गर्भपतन गर्ने ५ सय ५७ मध्ये २० वर्षमुनिका २५ जना छन् । ८० प्रतिशत २० देखि २५ वर्षका छन् । '१५-१६ वर्षकै उमेरमा गर्भपतन गर्न आउनेको संख्या ५ प्रतिशत छ । गर्भपतन गर्न वैधानिक संस्था रोजेकोले यी किशोरीहरू बालविवाहबाट पीडित हुन्' बेनी नगरपालिका स्वास्थ्य संयोजक लीलादेवी गौतमले भनिन्, 'सुरक्षित गर्भपतनले महिलाको सुरक्षाको उद्देश्य रहे पनि परिवार नियोजनको रुपमा दुरुपयोग हुन थालेको छ ।'

सामाजिक परम्पराअनुसार १६ वर्षकै कलिलो उमेरमा टेकबहादुर हमालसँग विवाह गरेकी बेनी-५ पुलाचौरकी शिलाको वैवाहिक सम्बन्ध तीन वर्ष पनि टिकेन । सम्बन्धविच्छेद भयो । बेनी ४ सिंगाकी इन्दु गुरुङको १६ वर्षकै उमेरमा प्रेमविवाह भएको हो । विवाहको चार वर्षपछि छोरी जन्मिन । परिवारमा अविश्वास बढ्यो, इन्दुले पनि सम्बन्धविच्छेदको बाटो रोजिन् ।

'विवाह गर्ने उमेर पनि नपुगेका किशोरीहरू पनि सम्बन्ध विच्छेद, मानाचामल भराई पाउन अदालत आएको भेट्छु । मिसिल अध्ययन गर्‍यो, १४, १५ वर्षमा प्रेमविवाह गर्‍यो, १८-२० वर्ष नपुग्दै बच्चाकी आमा भएकाको घरबार तोडिएको हुन्छ,' जिल्ला न्यायाधीश राजकुमार कोइरालाले भने, 'जिल्लाका आधा बढी मुद्दा सम्बन्ध विच्छेदका हुन्छन् ।'

प्रकाशित : वैशाख २०, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?