१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

तरकारी गाउँमै बिक्री

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका ७, उस्ताकी मुना गुरुङको घरनजिकै सिस्नो, निहुरो, कुरिलो र कर्कलो छ । उनले काउली, बन्दा फलाएकी छन् । गुन्द्रुक पनि तयार पारेकी छन् ।

तरकारी गाउँमै बिक्री

गाउँघर र पाखोबारीमा पाइने तरकारी तथा सागसब्जी बिक्री हुँदैन कि भन्ने लागेको थियो । खुदीमा तरकारी संकलन केन्द्र तथा हाटबजार सञ्चालनपछि भने बनेलु र खेती गरिएको सागसब्जी बिक्री भयो । 'गुन्द्रुक, सिस्नो, कर्कलो, निहुरो पनि बिक्री हुन्छ र ? जस्तो लागेको थियो । खोसाखोस पो हुनेरहेछ । २/४ पैसा पनि आउँदो रहेछ,' उनले भनिन् । गाउँघरमा खेर गइरहेको बनेलु तरकारी तथा आफैंले उत्पादन गरेको तरकारी बिक्रीले उत्साह थपेको उनले बताइन् ।

मर्स्याङ्दी गाउँपालिका ९ का किसान मीनबहादुर कार्कीले गाउँको तरकारी र सागसब्जी खुदीस्थित तरकारी संकलन केन्द्र र हाटबजारमा बिक्री हुने गरेको बताए । तरकारी संकलन केन्द्रसँगैको हाटबजारले स्थानीय किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ । साथै बजारमा तरकारी ल्याउनुपर्ने बाध्यता हटेको छ । 'हिजोसम्म तराईबाट ल्याएका टमाटर, काउली, बन्दा खान्थ्यौं । अहिले त गाउँमै उत्पादन हुन्छ । यहीं बिक्री हुन्छ,' उनले भनिन् ।

मर्स्याङ्दी बहुउद्देश्यीय कृषि सहकारी संस्थाले खुदीबजारमा कृषि उपज संकलन केन्द्र तथा हाटबजार सञ्च्ाालन गरेको छ । तरकारी दैनिक संकलन हुन्छ । बृहत् हाटबजार भने महिनाको अन्तिम शनिबार लगाइन्छ । महिनाको हरेक शनिबार तरकारी संकलन केन्द्रमा तरकारी लिएर आउने र किन्ने उपभोक्ताको भीड लाग्छ । मर्स्याङ्दी कृषि फार्मका सञ्चालक सुदीप अधिकारीले गाउँघरमै तरकारी संकलन भएपछि किसानलाई फाइदा पुगेको बताए । 'कृषि उत्पादन कहाँ लगेर बेचौं भन्ने थियो । अब सहज भयो,' उनले भने ।

सहकारीका अध्यक्ष वीरेन्द्र भण्डारीका अनुसार कृषि उपजको सबैभन्दा ठूलो समस्या बजार अभाव भएकाले संकलन केन्द्र साथै हाटबजार सञ्चालन गरिएको हो । संकलन केन्द्रमा हरियो तरकारी, वनजंगलमा पाइने निहुरो, कुरिलो, सिस्नो साथै खसीबोका, लोकल कुखुरा बिक्री गरिएका छन् । डोका, नाम्ला, झोला, स्याखु, राडीपाखी, ऊनका कपडा, बख्खुलगायतका हस्तकलाका सामग्री संकलन र बिक्री गरिएको अध्यक्ष भण्डारीले बताए ।

दैनिक तरकारी संकलन तथा बिक्रीका लागि एक कर्मचारी राखिएको छ । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनले बजार नपाउँदा उनीहरू खिन्न थिए । हाटबजार तथा संकलन केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजार पाएको उनले बताए ।

केन्द्रका लागि गाउँपालिकाले भवन निर्माण र फर्निसिङका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उपाध्यक्ष होमबहादुर विकले सहकारीमा गाउँपालिकाभित्रका स्थानीय इच्छुक नागरिकलाई सेयर सदस्य बनाएर अघि बढ्ने योजना रहेको बताए ।

प्रकाशित : वैशाख २०, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?