तरकारीमा मानव मलमूत्र

आश गुरुङ

लमजुङ — मानिसको पिसाब राखेर पनि तरकारी फलाइन्छ ? मर्स्याङ्दी गाउँपालिका ४, ताघ्रिङकी किसान आशकुमारी गुरुङले अचम्म मान्दै जिज्ञासा राखिन् ।

तरकारीमा मानव मलमूत्र

मानव मलमूत्रको प्रयोग गरेर तरकारी फलाउने तालिम गाउँमा चल्दै थियो । गाईभैंसीको मलमूत्रले तरकारी बाली सप्रिन्छ भने मानव मलमूत्रले के हुन्छ ? भन्ने प्रश्न सहभागीबाट उठ्यो । अन्यले आशकुमारीकै प्रश्नमा थपथाप गरे । सहजकर्ताले बुझाउँदै लगेपछि आशकुमारी मात्रै होइन, गाउँले सबै मानव मलमूत्र प्रयोग गरेर तरकारी फलाउन तयार भए । मूत्र संकलन, बोकेर बारीमा पुग्न र तरकारी बालीमा लगाउन पनि लाज लाग्ने भन्दै सुरुमा गाउँले मलमूत्र प्रयोग गर्नेबारे सकारात्मक हुन सकेनन् ।


सुरुमा असहज मानेकी आशकुमारी अहिले तरकारीमा मानव मलमूत्र प्रयोग गर्न थालेकी छन् । केही दिनमै सागपात सप्रेको देख्दा उनी मख्ख छिन् । ‘डिंगा पाल्न समस्या भयो । मल पाइएन । हाम्रै मलमूत्रले मल हुन्छ, सिक्न आऊ भन्दै तालिममा बोलाइयो,’ उनले भनिन्, ‘तालिममा सिकेको कुरालाई व्यवहारमा उतारें । सागपातमा मलमूत्र हालेपछि १/२ सातामै सागपात हरियो भएर पो आयो ।’ घरपरिवारको पिसाब संकलन गरी बारीमा हाल्ने तरिका सिकेकी उनले पहिले लाज लागे पनि अहिले बानी पर्दै गएको उनले बताइन् ।


ताघ्रिङकै बैंसबहादुर गुरुङले मानव मलमूत्रको प्रयोग गरी सागपात उत्पादन गर्न थालिएको बताए । उनका अनुसार वैशाख दोस्रो साताबाट घरघरमा पिसाब संकलन गरिएको छ । संकलित मूत्र तरकारी बालीमा राखिन्छ । वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा कार्यालयले कृषि बालीमा मानव मलमूत्र प्रयोगसम्बन्धी तालिम दिएपछि किसान उत्साहित भएका छन् ।


यसअघि गाईबस्तुको मल प्रयोग गरेर तरकारी र खाद्यबाली उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गरेको गुरुङले बताए । ‘पशुपालन हराउँदै गएको छ । मानव मलमूत्रलाई किन खेर फाल्ने ?’ उनले भने, ‘मानव मलमूत्र प्रयोग गरी तरकारी फलाउन थालेको जिल्लामा सम्भवतः ताघ्रिङमै पहिलो हो ।’


पशुपालन हराउँदै गएपछि मल अभावमा गाउँसम्म रासायनिक मल पुगेको थियो । बजारमा पाइने रसायनिक मलभन्दा मानव मलमूत्रले तरकारी बाली सप्रिने भएकाले संकलन गरी तरकारी बालीमा लगाउन थालिएको किसानले बताएका छन् । घरमै पिसाब संकलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालिमबाट पाएको उनीहरूले बताएका छन् । ‘गाईभैंसी पाल्न नसकिएपछि मलमूत्र संकलन सहज लाग्यो,’ किसान धनबहादुर गुरुङले भने, ‘मान्छेको मलमूत्र जम्मा गरेर खेतीबालीमा लगाएका छौं ।’


वडाध्यक्ष गुरुङले मानव मलमूत्रबाट तरकारी उत्पादन राम्रो हुने बाहिरी जिल्लाको अनुभवबाट आफ्नो गाउँमा पनि प्रयोग गरिएको बताए । बाहिरी जिल्लाको हेर्दा मानव मलमूत्रबाट तरकारीबाली राम्रो भएको पाइएको र रोग, कीरा पनि नलागेको देखिएको उनले बताए । उनका अनुसार एउटै परिवारका सदस्यले पिसाब संकलन गरी तरकारी बालीमा लगाउँदा जति पनि पुग्ने बताए ।


‘यो जम्मा गरेर तत्काल प्रयोग गर्न पनि सकिने रहेछ । एक महिनासम्म राखेर पनि प्रयोग गर्न सकिने रहेछ,’ उनले भने । उनका अनुसार सुरुवातमा ड्रममा राखेर पिसाब संकलन गर्न थालेको र तरकारी बालीमा लगाउन थालेका छन् । एक लिटर पिसाबमा ३ लिटर पानी हालेर बोटबिरुवा र तरकारी बालीमा राख्ने सकिने तरिका तालिमबाट गाउँले किसानलाई सिकाइएको उनले बताए ।


सुआहारा कार्यक्रममा सरसफाइ अधिकृत एवं प्रशिक्षक रोशन चौलागाईंले मानवमूत्रमा क्याल्सियम, फस्फोरस भएकाले रासायनिक मलभन्दा धेरै गुणा राम्रो हुने बताए । ‘संकलन गर्न सकिए घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मानव मलमूत्र संकलन गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘समूहगत रूपमा लगाइएको तरकारी बाली र विद्यालयमै गरिने करेसाबारीमा मानव मलमूत्र राम्रो हुन्छ ।’


उनले मानव मलमूक्र बित्रीसमेत गर्न सकिने भएकाले यसको प्रभावकारिता बढ्दै गएको बताए । ‘हामीले मानव मलमूत्रलाई खेर जाने वस्तु भनी खासै वास्ता गर्दैनौं । यही खेर गइरहेको पदार्थ राम्रो मल हुन्छ भन्ने बुझेका छैनौं,’ उनले भने, ‘हाम्रो जिल्लाका लागि यो नयाँ प्रयोग हो । कतिपय जिल्लामा प्रयोगमा आइसकेको छ ।’

प्रकाशित : वैशाख २२, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?