२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बन्द हुँदै सामुदायिक विद्यालय

भिमाद-५ को गणेशमान स्मृति आधारभूत विद्यालयलाई दीपक माविमा, जनशक्तिलाई जयनेपाल आधारभूत विद्यालयमा र हिमालयलाई भैरव आधारभूत विद्यालयमा गाभियो 
प्रताप रानामगर

दमौली — विद्यार्थी अभाव भएपछि तनहुँका विभिन्न सामुदायिक विद्यालय बन्द हुन थालेका छन । सरकारी भाषामा समायोजन भनिए पनि विद्यार्थी नै नभएपछि विद्यालय बन्द भएका हुन् । चालु आर्थिक वर्षमामात्रै भिमाद नगरपालिकाका- ३ सामुदायिक विद्यालय बन्द भएका छन ।

बन्द हुँदै सामुदायिक विद्यालय

भिमाद- ५ को गणेशमान स्मृति आधारभूत विद्यालयलाई दीपक माविमा गाँभिएको छ । यसैगरी वडा ८ को जनशक्ति आधारभूतलाई जयनेपाल आधारभूत विद्यालयमा र वडा ९ को हिमालय आधारभूतलाई भैरव आधारभूत विद्यालयमा गाभेर बन्द गरिएको नगरपालिकाका उपसचिव नगेन्द्रराज पौडेलले बताए । 'विद्यार्थी संख्या कम भएपछि समायोजन -बन्द) गरेका हौ,' उनले भने, 'बन्द विद्यालयलाई नजिकैको विद्यालयमा सारेका हौ ।'


समायोजन भएका विद्यालयमा ३ कक्षासम्म पढाइ हुन्थ्यो । विद्यालय व्यवस्थापन समिति र स्थानीयवासीको सहमतिमा विद्यालय गाँभिएको उनले बताए । समायोजन भएका विद्यालयमा बालविकास केन्द्र भने यथावत् रहनेछ । नगरपालिकाले पोखरीछाप आधारभूत विद्यालयको कक्षा घटुवा गरेको छ । ५ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा अहिले ३ सम्म झारिएको छ ।

यता व्यास नगरपालिकामा संचालित ५ विद्यालयलाई पनि समायोजन गरिएको छ । नगरका छाब्दीबाराही, देउराली, भवानी, क्यामिनछाप र जनकल्याण आधारभूत विद्यालय बन्द भएका हुन । व्यासका शिक्षा शाखाका अधिकृत रामेश्वर लामिछानेका अनुसार छाब्दी बाराहीलाई केशवटार माविमा, भवानीलाई महेन्द्रज्योति माविमा र अन्य विद्यालयलाई नजिकको बाल नजिकको बाल विकास केन्द्रमा समायोजन गरिएको छ । १० भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको हो । नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको उनले बताए ।


व्यास नगर शिक्षा ऐन, २०७५ को परिच्छेद २ मा तोकिएको पूर्वाधार पूरा नभएको, अधिकांश कक्षामा १० भन्दा कम विद्यार्थी रहेको, २ वा बढी विद्यालयको परिसर एकापसमा जोडिएको, विद्यालयबीचको पैदल दूरी ३० मिनेटभन्दा कम रहेको र विद्यालय व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएमा समायोजन गर्न सक्ने प्रावधान छ ।


बन्दीपुर गाउँपालिकाको दुर्गम क्षेत्रमा रहेको विद्यालयलाई समायोजन गर्ने तयारी थालेको छ । विद्यार्थी संख्या न्यून भएपछि समायोजन गर्ने निर्णय गरेको गापा अध्यक्ष पूर्णसिं थापाले बताए । उनका अनुसार बन्दीपुर- ६ डाडाँछापको जनज्योती प्राविमा जम्मा ४ विद्यार्थी भर्ना भएकाले समायोजन गर्ने निर्णय गरेको हो । कक्षा ३ सम्म अध्यापन हुने विद्यालयमा चार विद्यार्थी भएकाले समायोजन गर्न तयारी भइसकेको छ । नजिकैको जनजागृती प्राविमा समायोजन गर्ने निर्णय भएको उनले बताए ।


यता भानु नगरपालिकामा संचालित सामुदायिक विद्यालयमा न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजन भइरहेको नगरप्रमुख उदयराज गौलीले बताए । 'विद्यार्थीलाई भर्ना गर्ने क्रम जारी छ, उनले भने, 'विद्यार्थी संख्या कम भएका विद्यालयलाई समायोजन गर्ने हो ।' भानु ११ चिसापानीस्थित सरसस्वती, वडा ५ को मैबल र शिवालय प्राविमा विद्यार्थी भर्ना कम भएको छ । न्युन विद्यार्थी भए विद्यालय व्यवस्थापन समिति, स्थानीय र नगर शिक्षा समिति बैठक बसेर समायोजन गर्ने उनले बताए ।


सामुदायिक विद्यालयमा भर्ना अभियान जारी रहेको आबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए । 'भर्ना अभियान सकिएपछि विद्यालय अनगुमन हुन्छ', उनले भने, 'न्यून विद्यार्थी भएका विद्यालयलाई पायक पर्ने ठाउँमा समायोजन गर्ने हो ।' यता घिरिङ गाउँपालिकाले भर्ना अभियानपछि विद्यालय अनुगमन गर्ने र न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजन गर्ने गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए ।


शिक्षक अभावमा समस्या

शिक्षक अभावमा आँबुखैरेनीका ६ सामुदायिक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । शिक्षककै कारण ती विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । इच्छाकामना, छिम्केश्वरी, रुद्रदेवी, इन्द्रादेवी, मिलन र कृष्ण आधारभूतमा शिक्षक अभाव भएको हो ।


गाउँपालिका शिक्षा शाखा प्रमुख साधुराम पौडेलले अधिकांश अस्थायी शिक्षक रहेका र शिक्षक सोवा आयोगमा अनुत्तीर्ण भएको, कतिपय स्थायी शिक्षकले अवकाश रोजेको कारण शिक्षक अभाव हुन पुगेको हो । 'यसले पठनपाठनमा ठूलो समस्या आएको छ,' उनले भने, 'ती विद्यालयमा शिक्षक व्यवस्थापनका लागि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । छिटै केही टुंगो लाग्ला ।' यस्ता विद्यालयमा केही बन्द गर्नुपर्ने अवस्थाका छन् ।


'केही विद्यालयमा विद्यार्थी सङ्ख्या ज्यादै न्यून छ, त्यस्ता विद्यालय समायोजनको प्रक्रिया पनि अघि बढाएका छौ,' उनले भने, 'कम विद्यार्थी भएको विद्यालयमा सहजकर्ताले पढाइरहनुभएको छ ।' वडा नं ३ स्थित परोपकार आधारभूतमा विहीबारदेखि शिक्षक अभाव हुने गाउँपालिकाले जनाएको छ । आँबुखैरेनी गाउँपालिकाभित्रका ३८ विद्यालयमा एकसय ७८ शिक्षक कार्यरत थिए । ३० अस्थायी शिक्षकमध्ये केहीले अवकाश रोजे भने केहीले परीक्षामा सहभागी भएर नाम निकाल्न सकेनन् ।


विद्यालय नमुना बनाइने

शुक्लागण्डकी नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि ८ सामुदायिक विद्यालयलाई नमूना बनाउन अनुदानको व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा गाउँफर्कोदय मावि, खैरेनीटार मावि, सरस्वती मावि, जनकल्याण मावि, कुश्मावती आधारभूत, जनशिशु कल्याण आधारभूत, शहीदकृष्ण मावि र सूर्य आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाइने नगरप्रमुख किसान गुरुङले बताए ।


विद्यालयमा भवन, खेलमैदान, शौचालय, खानेपानी, प्रयोगशाला, बाह्य वातावरण लगायत भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र शैक्षिक सामग्री व्यवस्थापन सुधार गरिने उनले बताए । नगरपालिकाले चालु आवमा नमूना विद्यालय बनाउन ३८ लाख रुपैयाा विनियोजन गरेको छ । नगरपालिका क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् ।

प्रकाशित : वैशाख २६, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?