रातो स्टिकर लगाइएको भवनमा अदालत

बागलुङ — चार वर्षअघिको भूकम्पले उच्च अदालत पोखराको बागलुङ इजलासको भवनमा क्षति पुग्यो । उपल्लो तलामा राखिएका २ इजलास बस्नै नमिल्ने भयो । प्राविधिकहरूले भवन प्रयोग गर्न जोखिमपूर्ण भएको भन्दै रातो स्टिकर टाँसिदिएका छन् ।

रातो स्टिकर टाँसेको निजी आवासमा प्रशासनले बस्न दिँदैन । धेरै निजी आवास भत्काएर बनाउने क्रममा छन् । तर, अदालतको नयाँ भवन बनाउने योजना अगाडि बढ्न सकेको छैन । अहिले टहरोमा इजलास नम्बर १ र २ बनाइएको छ । न्यायाधीशका च्याम्बर पनि छाप्रोमै छन् । मूल भवनको तल्लो तलामा रजिस्ट्रार, शाखा अधिकृतहरू, प्रशासन, लेखालगायत छन् ।


'जुनसुकै बेला भवनमा खतरा हुन सक्छ भनिएको छ तर हामी यही बसेर काम गर्न बाध्य छौं,' रजिस्ट्रार धु्रवकुमार ढकालले भने, 'सर्वोच्च अदालतमा भवनको समस्याबारे पुगे पनि बनाउने गरी बजेट विनियोजन भएर आएको छैन ।' पटकपटकको पहलपछि आगामी आवको बजेट पाउने आश्वासन पाएको उनले बताए । बजेट आएपछि मात्र भवन बनाउन सकिने भएकाले नआएसम्म आस गर्ने मात्र काम भएको उनले टिप्पणी गरे ।


अदालत तत्कालीन धौलागिरी अञ्चलका ४ जिल्लाको अभिलेखालय पनि हो । चारवटै जिल्लाका अदालतको रेकर्ड, लगत र अन्य महत्त्वपूर्ण विवरण छन् । कर्मचारी, न्यायाधीशसमेत गरी धेरै दरबन्दी हुने भएकाले भवन अत्याधुनिक हुनैपर्ने ढकालको भनाइ छ । 'सबै जिल्ला अदालत अत्याधुनिक, बालमैत्री, सूचनामैत्री र र्‍यामसहितका बनेका छन्,' मुख्य न्यायाधीश हरिप्रसाद पौडेलले भने, 'अभिलेखालयसमेत भएकाले अब ढिला नगरी भवन बनाउनैपर्छ ।'


अदालतको हाल ७ रोपनी मात्र रहेकाले आवश्यकताअनुसार भवन बनाउन जमिन अभाव नहुने उनले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्लाका भौतिक संरचनाको निर्माण गरिरहेको छ । जिल्लाभरका विद्यालय, निजी आवास र सडक निर्माणमा प्राधिकरणले काम गरे पनि अदालत भवनमा सरकारी बजेट र स्टिमेट चाहिएकाले सर्वोच्चकै कार्यक्रममा सूचीकृत हुनुपर्ने प्रावधान छ । 'अदालत निर्माणका लागि तोकिएको बजेट आवश्यक पर्ने भएकाले ढिला भएको हो,' ढकालले भने, 'अर्को वर्ष भवन बन्ने आशा छ ।'

प्रकाशित : वैशाख २७, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?